प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रक्रियामा माकुरा समूह भनेको द्वन्द्व रुपान्तरणका लागि बनाइएको सहयोगी समूह हो । सहयोगी समूहलाई माकुरा समूह र त्यो समूहका सदस्यहरूलाई माकुरा भनिन्छ । माकुराले हरेक anchor points मा पुग्दै धागोहरूलाई जोडेर जालो बनाउने काम गरेजस्तै द्वन्द्वमा संलग्न र द्वन्द्वलाई प्रभाव पार्ने हरेक पक्षहरूका बिच पुगेर काम गर्न सक्ने व्यक्तिलाई माकुराको रूपमा लिइन्छ । द्वन्द्व रूपान्तरण प्रक्रियामा काम गर्दा द्वन्द्वमा प्रभाव पार्ने पक्षहरूमा माकुरा जस्तै गुण भएका व्यक्तिहरूको छनौट गरिन्छ र माकुरा समूहको निर्माण हुन्छ । यस्ता माकुरा समूहले प्रत्येक द्वन्द्वरत पक्षहरूलाई जोडेर सम्बन्धलाई नै माकुराको जालो जस्तै बलियो बनाउने काम गर्दछ । माकुरा समूहले आफ्नो पक्षको हितको साथ साथै सामुहिक हितलाई समेत ध्यानमा राखी द्वन्द्व रूपान्तरणमा सहयोगीको भूमिका निर्वाह गर्दछ । माकुरा समूहमा रहेका ब्यक्तिहरूले फरक फरक पक्षको प्रतिनिधित्व गरेका हुन्छन् । उनीहरूले आफ्नो वा आफू निकट समूहको भलो पनि हेर्दछन् तर समग्र समुदायको भलो हुने कुरा पनि त्यतिकै ध्यानमा राखेर सँगै काम गर्दछन् ।
माकुरा समूहको भूमिका द्वन्द्व रुपान्तरण प्रक्रियामा ज्यादै महत्वपूर्ण हुन्छ । द्वन्द्व रुपान्तरण हुनु वा नहुनुमा माकुरा समूहको लगनशिलता तथा प्रतिवद्धताको अत्यावश्क हुने भएको हुनाले माकुरा समूहका व्यक्तिहरू छनौट गर्दा निश्चित गुणहरूमा ध्यान दिनु पर्ने जरुरी हुन्छ । माकुरा समूहको सदस्यमा सबैको विश्वास जित्न सक्ने, समय दिने सक्ने, पारदर्शी व्यवहार भएको, निष्पक्षता, सम्पर्क समन्वय तथा सञ्चार सीप, विश्लेषण तथा अनुसन्धान गर्न सक्ने क्षमता भएको हुनुपर्दछ । माकुरा समूहका सदस्यहरुले परम्परागत रुपमा चलिआएका विवाद समाधानका उपायहरुको बारेमा जानकार भएता पनि प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रक्रियाको बारेमा जानकार नभएको हुन सक्ने भएको हुनाले सम्पूर्ण प्रक्रियाको अभिमूखिकरण गर्नको लागि ३ दिने माकुरा समूह क्षमता विकास गोष्ठिको आयोजना गरिन्छ । यसरी सञ्चालन गरेको गोष्ठि मार्फत हालसम्म ३९२४ जना माकुराहरु उत्पादन भइसकेका छन् । यदि विवाद रुपान्तरणमा यस प्रकारका जनशक्ति समुदायमा भइराखे भने यिनीहरूले समाजमा हुने कुनैपनि प्रकारका विवादहरू समाधान गरी शान्ति अभियन्ताको रुपमा काम गर्न सक्षम हुनेछन् भन्ने अवधारणा संस्थाको रहेको छ । संस्थाबाट परिचालित सहजकर्ताहरू भन्दा पनि यस प्रकारका जनशक्तिले समाजमा दीर्घकालीन प्रभाव पार्न सक्दछन् ।