मानिसको शरीरका टुटेका अङ्गहरु सिलाएर जीवन बचाउने अस्पताल त थुप्रै बनेका छन् तर फाटेको मन सिलाएर जीवन बचाउने अस्पतालमा भने हाम्रो ध्यान पुग्न सकेको छैन । स्रोत साधन माथिको पहुँच र नियन्त्रण तथा आपसी चाहनाहरु फरक हुन गै मन फाटेकै कारण घरपरिवार देखि सिङ्गो समाज विभाजित छ । फाटेका मनको दरार बढ्न गै धेरैको जीवन समेत गै रहेको घटनाहरु प्रशस्त छन् । एउटा विषयलाई लिएर हुने सानो विवाद झाङ्गिदै गई अन्ततः हिंसात्मक रुप लिनुको साथै ठूलो धनजनको क्षति भएको छ । गाउँ घरमा हुने यस्ता विवादहरु समाधान गर्नको लागि परम्परादेखि नै विभिन्न तरिकाहरु प्रयोगमा आएका छन् । विवाद समाधानका लागि गरिएका ती प्रयासहरूबाट बाहिर देखिएको विषमा समाधान खोजिएतापनि भित्री रुपमा टुटेको मन र सम्वन्ध जोडिन नसक्दा पुनः झगडा हुने र मनको घाउहरु झन गहिरिदै जाने गरेको पाइन्छ । जब मन फाट्ने क्रम बढ्दै जान्छ अनि मानिसहरु मर्ने र मार्ने तहसम्म पुग्दछन् । यस्ता विवादहरु व्यक्तिगत तहमा मात्र नभएर समुदाय स्तरमा पनि हुने गरेका छन् । अधिकांश बहुसरोकारवाला विवादहरु त प्राकृतिक स्रोत जल, जमिन र जङ्गल माथिको पहुँच र नियन्त्रणको विषयलाई लिएर हुने गरेको पाइन्छ । यस्ता विवादहरूले समुदाय स्तरमा आपसी ध्रुवीकरणको साथै विकास निर्माणका कामहरु समेत ठप्प भएका अवस्थाहरु छन् ।
यस्ता सबै खाले विवादहरु जसलाई कानुनले मेलमिलाप गराउन मिल्ने भनी उल्लेख गरेकोे छ, ती सबैलाई आपसी संवादको माध्यमबाट निश्चित प्रक्रियाको अवलम्बन गरी मेलमिलाप गराउनको लागि स्थापना भएको संस्था हो, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल । दिगो शान्तिको लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ मानिसहरु बिच गुमेको खुुसी र हाँसो फिर्ता गर्दै आपसी सम्बन्ध सुधारसहित विवाद समाधान गर्नका लागि यो संस्थाको २०७० साल जेष्ठ २७ गते स्थापना भएको हो । यो संस्थाले २०७० असार १३ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई औपचारिक कानुनी मान्यता प्राप्त गरेको हो । समाज कल्याण परिषदमा १६ असार २०७० मा (आबद्धता नं ३७४३०) आबद्ध भएको छ । शान्ति निर्माणको क्षेत्रमा काम गर्ने भएकोले यस संस्थालाई मेलमिलाप परिषदबाट मेलमिलाप सम्बन्धी ऐन २०६८ को दफा २७ (ग) बमोजिम मेलमिलाप सम्बन्धी तालिम सञ्चालन गर्ने संस्थाको रुपमा र उक्त ऐनको दफा २३ बमोजिम मेलमिलाप सम्बन्धी कार्य गर्नको लागि स्वीकृति प्राप्त भएको छ । देशभरीबाट जम्मा ५ वटा संस्थाले मात्र दफा २३ बमोजिमको अनुमति पाएकोमा त्यस भित्र पर्नु यो संस्थाको गौरवको विषय हो । नेपालमा दिगो शान्ति स्थापनाको माध्यमबाट समुन्नत र सम्बृद्ध समाज निर्माण कार्यमा सरकारको सहयोगी रुपमा कार्यरत यस संस्थालाई आ.व. २०७४/०७५ मा मेलमिलापको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत मेलमिलाप परिषद्, नेपालले मेलमिलाप दिवस २०७५ को उपलक्ष्यमा सम्मानित समेत गरेको छ । शान्ति निर्माण अभियानको प्रभावकारिताको लागि संस्थाले सञ्चालन गर्ने हरेक क्रियाकलापहरु स्थानीय सरकार, जिल्ला समन्वय समिति, मेलमिलाप परिषद् र जिल्लास्थित अनुगमन समितिका साथै प्रशासनिक निकायहरुमा समेत समन्वय गर्ने गरिएको छ । संस्थाले सुशासनको पाटोलाई महत्वपूर्ण स्थान दिई कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जिल्लामा कार्यक्रम कार्यान्वयन गर्नुभन्दा पहिला जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठीबाट सम्पन्न हुने क्रियाकलापहरु तथा तिनीहरुको बजेट प्रावधान सम्पूर्ण सरोकारवालालाई जानकारी गराउने गरिएको छ । संस्थाले गर्ने कार्यक्रमहरुको जिल्ला अनुगमन समिति र समाज कल्याण परिषदबाट समेत नियमित रुपमा अनुगमन र मूल्यांकन गरी पृष्ठपोषण प्राप्त हुने गरेको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले आफ्नो विधान अनुसार आपसी संवादको माध्यमबाट समुदायमा शान्ति स्थापनाको खातिर हाल प्रमुख रूपमा दुई वटा अभियानहरू सञ्चालन गरेको छ । जल, जङ्गल र जमिनसँग सम्बन्धित बहुसरोकारवाला विवादहरू रूपान्तरणका लागि नेपालका १७ जिल्लाहरूमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण अभियान सञ्चालन गरेको छ भने १० वटा जिल्लाहरूमा अन्तर व्यक्ति विवादसमेत मेलमिलाप गराउने उद्देश्यका साथ सामुदायिक मेलमिलाप अभियान सञ्चालन गरेको छ ।