समुदाय स्तरमा भएको प्राकृतिक श्रोत (जल, जंगल र जमिन) सँग सम्बन्धित द्वन्द्वहरुलाई निश्चित मापदण्डको आधारमा रुपान्तरण गर्नको लागि छनौट गरिन्छ । जस्तै : समुदायले रुपान्तरण गर्नको लागि अनुरोध गरेको, लामो समयदेखिको द्वन्द्व, विगट क्षेत्रमा भएको द्वन्द्व, बहुसरोकारवालाहरुको संलग्नता, रुपान्तरण गर्न सम्भव भएको र बढ्दै गइरहेको द्वन्द्व । यसरी छनौट भएका द्वन्द्वहरुलाई श्रोत व्यक्तिहरुको सहजिकरणमा द्वन्द्व रुपान्तरण प्रक्रिया मार्फत रुपान्तरण गरिन्छ । द्वन्द्व रुपान्तरण प्रक्रियाको विभिन्न चरणहरुमा द्वन्द्वसँग सबन्धित विभिन्न पक्षहरु तथा सरोकारवाला निकायहरुसँग बैठक र छलफल गर्ने गरिन्छ । यो प्रक्रियामा जसले द्वन्द्वलाई असर गर्छ र जसलाई द्वन्द्वले असर गर्छ उनीहरु सबै निर्णय प्रक्रियामा सहभागि हुन्छन् भने श्रोत व्यक्तिहरुले मात्र जीत जीतको अवस्था सृजना गर्नको लागि सहायकको भूमिका निर्वाह गर्दछन् । संस्थाको स्थापनाकाल देखि आजको दिनसम्ममा ४०४ भन्दा बढी बहुसरोकारवाला द्वन्द्वहरु रुपान्तरण भइसकेका छन् जसले गर्दा दिगो शान्ति तथा द्वन्द्वरत पक्षहरु बीच सुमधुर सम्बन्धको स्थापना गर्नको लागि अतुलनिय योगदान पुर्याएको छ ।