नेपालमा मेलमिलाप सम्बन्धी ऐन, २०६८ र मेलमिलाप सम्बन्धी नियमावली, २०७० ले मेलमिलापको प्रकृया र कार्यविधि सम्बन्धमा व्यवस्था गरेको छ, जुन अदालत तथा अर्धन्यायीक निकायहरूले सम्पन्न गर्ने मेलमिलाप कार्यमा लागु हुन्छ । मेलमिलाप सम्बन्धी ऐन, २०६८ को दफा २(ज) मा मेलमिलापकर्ताको परिभाषा गर्दै “मेलमिलापकर्ता भन्नाले पक्षहरू बीचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्न यस ऐन बमोजिम नियुक्त मेलमिलापकर्ता सम्झनुपर्छ” भनी परिभाषा गरिएको छ । मेलमिलापकर्ता हुनको लागि मेलमिलाप ऐनले निर्दिष्ट गरेको विषयवस्तुमा रही ४८ घण्टाको आधारभुत तालिममा पूर्ण रुपमा सहभागि भएको हुनुपर्छ । मेलमिलाप प्रक्रियामा मेलमिलापकर्ताले विवाद समाधानका लागि निष्पक्ष रूपमा तेस्रो व्यक्तिले भूमिका खेल्ने गर्दछ र यसरी भूमिका खेल्ने तेस्रो व्यक्ति एक वा तीन जनासम्म हुन्छन् । सामुदायिक मेलमिलाप कार्यक्रमको मेरुदण्डको रुपमा तालिम प्राप्त मेलमिलापकर्ताहरु रहेका छन् । यी मेलमिलापकर्ताहरुले प्रत्येक मेलमिलाप केन्द्रबाट लाभ लाभ को सिद्धान्त अनुरुप विवादका पक्षहरु बिच सम्बन्ध सुधार सहित मेलमिलाप प्रक्रियाका माध्यमबाट विवादमा सहजीकरणका साथै केन्द्रमा अभिलेखिकरणको कार्य पनि गर्दै आइरहेका छन् । हालसम्म आधारभूत मेलमिलाप मार्फत ४९२० जना जना मेलमिलापकर्ताहरु उत्पादन भइसकेका छन् । यसरी उत्पादन भएका मेलमिलापकर्ताहरु अहिले समुदाय स्तरमा भएका विवादहरुको समाधान गर्दै शान्तिपूर्ण समाजको विकासमा योगदान पुर्याइरहेका छन् ।