सुनसरीको धरानमा एउटा बस्ती छ— एक्लेटार ।
यो बस्तीको विशेषता यसको नाममै छ ।
धरान नगरपालिका वडा नम्बर ४ मा पर्ने एक्लेटारमा कुनै बेला किशोर राईको परिवार मात्र बस्थ्यो । एउटा परिवार मात्र बस्ने भएकैले यो ठाउँको नाउँ एक्लेटार रहेको हो । पछि यहाँ किशोरकै दाजुभाइका चार–पाँच घर थपिए ।
किशोरका बुवाले एक्लेटारको आफ्नोे ३० कट्ठा जग्गामध्ये १५ कट्ठा स्थानीय समाजसेवी जनसेवक भण्डारीलाई बेचेका थिए । जनसेवक धरान–१३ का बासिन्दा हुन् । त्यसैले त्यो जग्गामा खेती गरेर बाली बुझाउने काम किशोरकै परिवारले गर्दै आएको छ ।
किशोरको आर्थिक अवस्था बलियो छैन । उनी जनसेवककै सहयोगमा ठेक्कापट्टाको काम गर्छन्, बाँकी खेतीकै भर हो ।
एक्लेटार आफैंमा भने यहाँका बासिन्दाजस्तोे गरिब छैन । प्राकृतिक स्रोतका मामिलामा यो ४ नम्बर वडाकै धनी बस्ती हो ।
धरान–४ मा एक्लेटारसहित वसन्तटार, झाँक्रीबार, डाँडाटोल, किराँत बस्ती, खाकरडाँडा र छबोटे गाउँ छन् । सबैमा जनजातिकै बाहुल्य छ । भौगोलिक रूपमा अलि विकट भएकाले पक्की बाटो छैन । वनजंगल भने प्रशस्त छ । स–साना खोलानाला पनि छन् । तर एक्लेटार नै यो वडाको एक्लो यस्तो बस्ती हो, जसलाई प्रकृतिले खानेपानीको मुहान दिएको छ ।
धरान बजारले जमानादेखि खानेपानी समस्या झेल्दै आएका बेला एक्लेटारमा भने मुहान नजिकै भएकाले पानी अभाव कहिल्यै भएन । यही वडाका अरू गाउँलेहरू पानी जोहो गर्न कुवा र टाढाटाढाका खोला धाउनुपथ्र्यो, जबकि एक्लेटार पानीको मामिलामा सधैं भाग्यमानी रह्यो ।
२०६३ सालदेखि एक्लेटार नजिकैको मारखोला मुहानले लगभग पूरै वडाको तिर्खा मेटाउन थाल्यो ।
भयो के भने, २०५९ सालमा खाकरडाँडामा खानेपानी योजना लागू भयो । यो बस्तीका लागि मारखोला मुहान टाढा पथ्र्यो । मारखोलादेखि खाकरडाँडासम्म पानी पुर्याउन निकै मुश्किल थियो । त्यही मौकामा बाँकी गाउँहरूले वर्षौंदेखिको पानीको समस्या सल्टाउने जुक्ति निकाले । उनीहरूले खाकरडाँडालाई अरू नै मुहानबाट पानी उपलब्ध गराउने सहमतिमा त्यो खानेपानी योजना आफूकहाँ ल्याए र एक्लेटारसँग मौखिक सहमति गरी उक्त योजनालाई मारखोला मुहानसँग जोडे ।
यसरी २०६३ सालदेखि मारखोला मुहानको पानी पूरै गाउँमा पुग्यो ।
खाकरडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नामबाट सञ्चालन भएको उक्त योजना दस वर्ष राम्ररी नै चल्यो ।
२०७३ सालमा आएर यहाँ एउटा समस्या उत्पन्न भयो ।
मौखिक सहमति भए पनि मुहान बाँड्ने कुरा एक्लेटारलाई खासै चित्त बुझेको थिएन । त्यसैले २०७३ सालमा एक्लेटारका किशोर राईले आफ्नो गाउँमा पानी अभाव भएको भन्दै मारखोलाभन्दा करिब ८ सय मिटरमाथि पर्ने सौरेनी मुहानमा दुइटा पाइप जोडे । त्यसैबाट किशोर र जनसेवक भण्डारीको जग्गामा पानी जान थाल्यो ।
‘सिँचाइका लागि पानी अभाव भएपछि किशोरलाई पाइप किन्न मैले नै सहयोग गरेको थिएँ,’ जनसेवकले भने, ‘म त्यहाँ बस्दिनँ तर मेरो जग्गा त्यहाँ छ, जुन किशोरकै परिवारले हेरचाह गर्दै आएको छ ।’
उनले अगाडि भने, ‘एक्लेटारमा मान्छे कम छन् तर उनीहरूलाई पनि पानी त चाहियो नै । नजिकैको मारखोला मुहानको पानी बाँडेपछि एक्लेटारमा सिँचाइ गर्न पुगेन ।’
पानी नपुगेपछि किशोर राईले माथि सौरेनीबाटै ठूलो पाइप राखेर ताने, जसले तल मारखोला मुहानमा पानी सुक्दै गयो । यसले अरू गाउँमा जाने पानी घट्न थालेपछि खाकरडाँडा समितिका उपभोक्ताले सौरेनीको पाइप निकाल्न र मारखोलाकै पानी चलाउन किशोरलाई अनुरोध गरे ।
किशोर मानेनन् ।
मुहानको सबभन्दा नजिकको बासिन्दा भएर पनि पर्याप्त पानी नपाएकोमा उनको असन्तुष्टि थियो । मुहानबाट सिधै पानी चलाउन सक्ने हुँदाहुँदै आफूलाई पाइप जोडाएर मिटरको पैसा तिराएको पनि उनलाई चित्त बुझेको थिएन ।
‘मारखोला मुहान मेरो घरबाट पाँच सय मिटर दुरीमा छ । अरूलाई तीन हजार मिटर पर पर्छ । नजिकको भएपछि प्राथमिकता हुनुप¥यो भन्ने मेरो भनाइ हो,’ किशोरले भने, ‘पानी नभएपछि बारीमा सागसब्जी लगाउन पाइँदैन, कमाइ हुँदैन । फेरि मुहान नजिक हुँदाहुँदै हामीले किन पाइपबाट पानी ल्याएर मिटरको पैसा तिर्ने? हाम्रो बस्तीमा भएको प्राकृतिक स्रोतको संरक्षण चाहिँ हामीले गर्नुपर्ने, अनि प्रयोग गर्न चाहिँ नपाउने?’
किशोरले २०५९ सालमै पनि प्राकृतिक स्रोतमा पहिलो अधिकार नजिकको बस्तीको हुने भन्दै मारखोला मुहानको पानी अन्त नलैजान साविक पाँचकन्या गाविसमा निवेदन हालेका थिए । त्यो काममा उनलाई तीनवटा सामुदायिक वनका अध्यक्षको पनि सहयोग थियो ।
उनले सुरूदेखि नै मारखोलाको पानी एक्लेटारको मात्र हुनुपर्छ भन्ने दाबी गर्दै आए पनि पछि पानी बाँडियो । त्यही रन्कोमा सौरेनीमा पाइप हालेर आफ्नोे खेतबारीमा पानी तानेका थिए । तर सात घर नभएको एक्लेटारमा सत्तरी घरधुरीलाई पुग्ने गरी पानी तानेको र यसले अरू गाउँमा पानी कम भएको गाउँलेहरूले गुनासो गरे । उनीहरूले ठूलो पाइप निकालेर सानो राख्न किशोरलाई आग्रह गरेका थिए ।
‘हामीले उहाँहरूलाई पानीबाट वञ्चित गरेका होइनौं । सिँचाइका लागि भए समितिको प्रक्रियामा आउनुहोस्, रकममा अरूलाई भन्दा अलिकति भए पनि सहुलियत गराउन सक्छौं भनेर बारम्बार भन्यौं,’ खाकरडाँडा उपभोक्ता समितिका सचिव कृष्ण राईले भने, ‘उहाँहरूले जिद्दी गरेर ७० घरधुरीलाई पुग्ने पानी ल्याउनुभयो, जुन आवश्यकै थिएन । सानो पाइपबाट ल्याएको भए हामी केही भन्दैन थियौं । उहाँहरूले खानेपानी र सिँचाइ दुवै पाउनुपर्छ भन्नेमा हाम्रो असहमति छैन तर उहाँहरूलाई पानी चाहिएको हो कि मुहान भन्ने नै हामीले बुझेनौं ।’
यो असहमतिले बिस्तारै विवादको रूप लिँदै गयो । किशोरले सौरेनी मुहानमा जोडेको पाइप अरू गाउँका बासिन्दा आफैंले निकालिदिए र उनकै घरमा लगेर राखिदिए ।
किशोर पनि के कम!
उनले तीनवटा सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा फेरि पाइप बिछ्याए ।
अरू गाउँ पनि कहाँ पछि हट्थे र!
उनीहरूले त्यो पाइप पनि निकाले र यसपटक उनको घरमा नछाडी वसन्तटारमा ल्याएर राखे ।
वसन्तटार र एक्लेटार साँध जोडिएका छिमेकी गाउँ हुन् । एक्लेटारमा चार–पाँच घर छन् भने वसन्तटारमा १५० घर छन् । दुई गाउँका सबैजसो बासिन्दा नातागोतामै पर्छन् । दाजुभाइ र काका–बडाबाको सम्बन्ध भएकाले आउजाउ र मिल्ती एउटै आँगनमा बस्नेजस्तो थियो । मलामीदेखि जन्तीसम्मका सहयात्री थिए । पानीको पाइप ओछ्याउने र निकाल्ने प्रतिस्पर्धापछि भने उनीहरू दुश्मनझैं बने ।
विवाद चर्किँदै गएपछि एक्लेटार र वसन्तटारका गाउँलेहरूबीच बोलचाल बन्द भयो । बाटोमा जम्काभेट हुँदा पनि उनीहरू रिसले मुर्मुरिँदै मुन्टो बटार्थे । बोलिहाले भने झगडामा ओर्लिहाल्थे र पाखुरा सुर्किँदै एकअर्कालाई मुक्का हान्न कस्सिन्थे ।
एक्लेटार झन् झन् एक्लो हुँदै गयो ।
खाकरडाँडा समितिका अध्यक्ष चन्द्रबहादुर राई एक्लेटारले ठूलो पाइप निकालेर सानो हालेको भए विवादै नहुने बताउँछन् ।
‘हामीले यो खानेपानी समिति धेरै दुःख गरेर ल्यायौं । अन्तै आएको बजेट मागेर, सारेर, अनेक गरेर पानी जोहो ग¥यौं,’ उनले भने, ‘सुरूमा एक्लेटारमा एउटा परिवार मात्र थियो । पछि चार–पाँच घर थपिँदा पानी पक्कै पुगेन होला । तर सल्लाह गरेको भए हुन्थ्यो । एकैपटक ७० घरलाई पुग्ने पानी ल्याउन त भएन नि!’
उनले यसमै थपे, ‘उहाँहरू कुरै नसुन्ने । अरूले जस्तै शुल्क तिरेर मिटरमा पानी चलाउनु भन्दा पनि नमान्ने । आफ्नै ढिपी गर्ने । मनलाग्दी पारामा हाम्रो मुहान सुकाउने । अनि हामीले के गर्नु? पहिल्यै हामीसँग समन्वय गरेर आवश्यकताअनुसार पानी ल्याएको भए विवादै हुन्थेन । हामीले पानी दिन्नौं त भनेकै होइनौं ।’
यसर एकातिर गाउँलेहरूबीच सामाजिक सद्भावको पर्खाल भत्किँदै गयो भने अर्कातिर पानी कम भएपछि गाउँलेहरू आत्तिन थाले । विवाद समाधानका लागि सरोकारवाला तथा राजनीतिक दलको समन्वय र सहयोगमा धेरैपटक छलफल भयो । तर एक्लेटारवासीले अड्डी छाडेनन् । अरू गाउँले पनि पछि हटेनन् ।
त्यो बेला मानबहादुर राई वडा नम्बर ४ का अध्यक्ष थिए । आफू वडाध्यक्ष भएर आउनुभन्दा धेरै अघिदेखिको यो विवाद समाधानका लागि थुप्रै छलफल गरे पनि कुनै निचोड निकाल्न नसकेको उनी बताउँछन् ।
गाउँलेहरूलाई यो झगडा आफूभित्रैबाट मिलाउनुपर्छ भन्ने लाग्थ्यो । विवादमा मुछिएकाहरू नातागोतामै पर्ने र एकै समुदायको भएकाले उनीहरू एकअर्कासँग आरपारको सम्बन्ध राख्न चाहन्थेनन् । तर कोही पछि नहट्दा समस्या सल्टिने छाँट पनि देखिएन ।.jpg)
त्यसपछि वडा नम्बर ४ को कार्यालयले विवाद समाधानमा सहजीकरण गरिदिन प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाललाई अनुरोध गर्यो । यो संस्थाले प्राकृतिक स्रोतका कारण गाउँ–समाजमा हुने विवादहरू समाधान निम्ति सहजीकरण गर्दै आएको छ ।
केन्द्रले २०७५ मंसिरदेखि काम सुरू गर्यो । वडाकै केही मान्छे समेटेर ‘माकुरा’ समूह बनायो । जसरी माकुराले लचिला रेसाहरू हरेक विन्दुमा जोड्दै जालो बनाउँछ, यो समूहले पनि समाजलाई त्यसैगरी समेट्ने अवधारणाअनुरूप माकुरा नाम राखिएको हो । संस्थाले वडाकै सदस्यहरूलाई तालिम दिएर विवाद सहजीकरणको बाटो तयार पार्छ ।
‘माकुरा समूहको सदस्य छनौट हुँदा मलाई एक खालको कौतूहल थियो । तालिम सकिँदा आफैंमा पनि परिवर्तन आयो,’ माकुरा समूहका सदस्य रोशन राई आफ्नोे अनुभव सुनाउँछन्, ‘म झनक्कै रिसाउने स्वभावको थिएँ । माकुरा समूहको सदस्य भएपछि स–साना कुरामा रिसाउनु हुँदैन, बरू समस्याको कारण खोतल्यो भने अरूको कुरा बुझ्न सकिन्छ र विवाद उत्पन्न नहुने अवस्था आउँदो रहेछ भन्ने थाहा भएको छ ।’
हुन त गाउँलेहरूबाटै छानिएका भए पनि माकुरा समूहलाई काम गर्न सधैं सहज हुँदैन । उनीहरूलाई पक्षपात गरेकोदेखि पैसा खाएकोसम्म आरोप लाग्यो । बैठक र छलफल हुँदा पनि विवादित पक्षहरू रिसले फन्किन्थे । त्यस्तो बेला माकुरा सदस्यहरूले संयम राखेर सम्झाए । दुवै पक्षको कुरा सुन्ने प्रयास गरे र वादविवाद नगराई द्वन्द्व सुल्झाउन निरन्तर लागि परे ।
उनीहरूको प्रयासले एक वर्षपछि बल्ल सफलता पायो ।
लामो समयदेखि विवादमा फस्दा सबैलाई तनाव भइसकेको थियो । सहमतिपछि दुवै पक्षले एकअर्कालाई माला लगाइदिएर खुसी साटे ।
अचेल एक्लेटार र वसन्तटारका मान्छे एकअर्कासँग मुस्कान साट्न थालेका छन् । घरमा आउजाउ बढेको छ । छिमेकी सम्बन्धमा न्यानोपन महसुस हुँदैछ । गाउँलेहरूको अनुहारमा पनि छुट्टै सन्तोक देखिन्छ । लाग्छ, कुनै ठूलो बोझ बिसाएर उनीहरू ढुक्क भएका छन् ।
यहाँ दुई पक्षबीच सातबुँदे सहमति भएको छ । खाकरडाँडा उपभोक्ता समितिले आफ्नै खर्चमा पाइप बिछ्याएर एक्लेटारमा खानेपानी उपलब्ध गराउने, मारखोला र सौरेनीलाई एकै मुहानका रूपमा सबैले चलाउने, एउटै खानेपानी ट्यांकी बनाउने, मुहान संरक्षणमा सबैले काम गर्ने लगायत सहमति भएका छन् ।
यो अनुभवबाट कुनै समस्या जतिसुकै पेचिलो भए पनि निरन्तर लागिपरे समाधान निस्कँदो रहेछ भन्ने सिकेको माकुरा समूह सदस्य चन्द्रकुमारी राई र शुभकुमारी राई बताउँछन् । दुवै समुदाय खुसी भएको देख्दा उनीहरूले आफू पनि सफल भएको महसुस गरेका छन् ।
प्रक्रिया पुर्याएर चरणबद्ध काम गर्यो भने जतिसुकै जटिल विवाद पनि किनारा लगाउन सकिनेमा उनीहरूको विश्वास बढेको छ । यो अनुभव आवश्यक परे भावी दिनहरूमा पनि उपयोग गर्ने उनीहरू बताउँछन् ।
वर्षौंदेखि झगडाको माहोलमा दिन बिताएका एक्लेटारका रंगलाल राई पनि अहिले खुसी छन् । संस्थाको सहजीकरणबाट सबैले मिलेर पानी खान पाएपछि आफूहरूको ठूलो बोझ उत्रिएको उनको भनाइ छ ।
‘हामीले पानी पनि पाएका छौं, विवाद समाधानपछि दुई गाउँको सम्बन्ध झनै प्रगाढ बनेको छ,’ उनले भने ।
उनका अनुसार हिजो समुदायमा पानी बाँडीचुँडी खाऊँ भन्ने मनसाय कसैको थिएन । माकुरा समूहले सबैको मनमा खानेपानीजस्तो कुरामा कसैलाई वञ्चित गराउन हुँदैन, सबैले मिलीजुली खानुपर्छ भन्ने सोच विकास गराइदिएको छ । यो समूह नभइदिएको भए विवाद टुंगोमा पुग्न मुश्किल हुने उनको भनाइ छ ।
संस्थाले कसैलाई नराम्रो नगरी सहज रूपमा झगडा सुल्झाइदिएकाले यहाँको सामाजिक सम्बन्ध विवाद सुरू हुनुअघि जस्तो थियो, फेरि त्यस्तै भएको गाउँलेहरू बताउँछन् ।
‘संस्था नभएको भए यो विवाद अझै दसौं वर्ष तन्किन्थ्यो होला । हामीले धेरै छलफल गर्यौं, पाखुरा सुर्केर झगडा गर्न पनि कस्सियौं । बाझाबाझमा उत्रियौं,’ वसन्तटारकी स्थानीय धनमाया राईले भनिन्, ‘यति सजिलै समाधान हुने रहेछ । यसले दुवै पक्षलाई राम्रो भएको छ । हामी खुसी छौं ।’
खाकरडाँडा खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर राई पनि माकुरा समूहले दुवैतर्फको धारणा सुनेर, कुरा बुझेर, कसैलाई काखापाखा नगरी चरणबद्ध रूपमा छलफल गर्दै काम गरेकाले लामो समयदेखिको विवाद समाधान हुन सकेको बताउँछन् ।
‘कानुनी रूपमा गएको भए अड्डाअदालत धाउँदा झन्झट हुन्थ्यो । पैसा, समय र इज्जत सकिन्थ्यो । हारजितको कुरा हुन्थ्यो । माकुरा समूहको काम गर्ने तरिका र प्रक्रियाले सबैको जित हुने अवस्था ल्याउने रहेछ,’ उनले भने, ‘यो वडामा माकुरा समूहले शान्ति स्थापना गरायो । हाम्रो त खुसीको सीमै छैन ।’
उनका अनुसार सहमति गरिएका बुँदाहरू शतप्रतिशत कार्यान्वयन भइसकेका छन् । सहमतिपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय इनरूवा, सुनसरीबाट विनियोजन भएको ५३ लाख रूपैयाँ बजेटको खानेपानी मुहान विस्तार तथा ट्यांकी निर्माण योजनाको ८० प्रतिशत काम सकिएको छ । बाँकी काम छिट्टै सकिनेमा दुवै गाउँका उपभोक्ता विश्वस्त छन् ।
पहिला पहिला समुदायमा हुने झैझगडा मिलाउन गाउँभित्र र बाहिरका केही ठूलाठालु र टाठाबाठा मान्छे बोलाइन्थ्यो । अचेल गाउँलेहरूले प्रक्रिया मिलाएर सबैको सहभागितामा समाधान गर्ने प्रयास गर्छन् । मनोमानी ढंगले काम गर्न हुँदैन भन्ने चेतना विकास भएको छ । कुनै पनि समूह बनाउँदा समावेशिताका आधारमा प्रतिनिधित्व गराउँछन् । जातीय, लैंगिक, आर्थिक अवस्थाजस्ता विभेदका लागि ठाउँ छैन । त्यस्तै निष्पक्ष, पारदर्शी र सहभागितामूलक प्रक्रियामा रहेर सबैको स्वीकृतिका साथ काम गरिएको पाइन्छ ।
त्यो बेलाका वडाध्यक्ष मानबहादुर राईलाई आफ्नोे वडाको ठूलो विवाद सल्टेकोमा ढुक्क भएको छ । उनका अनुसार दुवै समुदायले खुसी साथ खानेपानी चलाइरहेका छन् । संस्थाको विवाद मिलाउने विधिलाई समुदायले सहजै स्वीकार र विश्वास गरेका छन् ।
‘पहिले पहिले मानिसहरू बुझेर वा नबुझेर एकअर्कासँग विवाद गर्थे । अचेल विवादभन्दा संवाद गरौं भन्न थालेका छन्,’ मानबहादुरले भने, ‘यो संस्थाको सहजीकरणबाट प्राकृतिक स्रोत कसैको निजी सम्पत्ति होइन, यसमा सबैको पहुँच हुन्छ भन्ने धारणा विकास भएको छ ।’
उनले अगाडि थपे, ‘कुनै खर्च, तनाव, भनाभनबिनै सबैको राजीखुसी र सहमतिमा विवाद समाधान भयो । यो वडाकै लागि ऐतिहासिक सफलता हो ।’