दुई दिने राष्ट्रिय स्तरको प्रमाणीकरण, आपसी सिकाइ तथा सहकार्य कार्यशाला गोष्ठि यहि मिति २०८२ साल मंसिर १० र ११ गते प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल (NRCTC-N) र आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (CIPRED) को संयुक्त आयोजनामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नगरपालिका, गाउँपालिका, आदिवासी जनजाति संघ संस्थाहरु, सामुदायिक network, नागरिक समाज र स्थानीय सरकारका ४० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मधुवन नगरपालिकाका मेयर श्री तेजबहादुर भाट, लालझाडी गाउँपालिकाका अध्यक्ष श्री निर्मल राना, थारू समुदायका भल्मंसा र बरघर, मुक्त कमैया समाज, कञ्चनपुर र बर्दियाका जिल्ला network को प्रतिनिधीहरुको गरिमामय उपस्थिति रहेको थियो । त्यसैगरी ग्रीन फाउन्डेशन, CSRC, HIMAWANTI, DANAR, COFSUN Nepal, FECOFUN, Dura Sewa Samaj, Focus on Indigenous Girls (FIG), Nepal Maini Sheng, INOWLAG, Gohink Foundation, थारू कल्याणकारी सभा लगायत थुप्रै संस्थाहरूको सहभागिता रहेको थियो ।

गहन प्रस्तुति, जीवन्त समूह छलफल र सामूहिक अभ्यासहरूका माध्यमले सहभागीहरूले नेपालको प्राकृतिक स्रोत व्यवस्थापनको भविष्यलाई आकार दिने महत्त्वपूर्ण सवालहरूको खोजी गरिएको थियो । साझा लक्ष्य र व्यावहारिक रणनीतिहरू पहिचान पश्चात सहकार्य तथा राष्ट्रिय स्तरमा संवादलाई निरन्तरता दिन ७–सदस्यीय समितिको गठन भएको छ । यो समितिले विविध क्षेत्रहरू विशेष गरी सामुदायिक तथा आदिवासी जनजातिका ज्ञान र शासन प्रणालीहरूलाई एकीकृत गराउने, प्राकृतिक स्रोतसम्बन्धी द्वन्द्वको रूपान्तरण गर्ने र सीमान्तकृत समुदायहरूको स्रोत अधिकार सुनिश्चित गर्ने जस्ता महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यो कार्यशाला गोष्ठि परम्परागत रुपमा सञ्चालन गरिने top-down विधीभन्दा माथि उठेर समावेशी तथा bottom-up विधीको साझेदारीको बलियो कदम बनेको छ । यसले आदिवासी जनजाति र स्थानीय समुदायहरूको अर्थपूर्ण सहभागितासहित प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ ढोका खोलेको छ ।