झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का कञ्चन सापकोटा वैदेशिक रोजगारीमा थिए। घरखर्च धान्न उनले साउदी अरब गएर कमाउन थालेको निकै समय भइसकेको थियो।
उनका बुवा भगिरथको मृत्यु भएको धेरै भयो। दुई दाजुहरू अंशबण्डा गरेर अलग भइसकेका थिए। वृद्ध आमा विष्णुमाया कञ्चनकी श्रीमती क्रान्तिसँग बस्थिन्। उनको हेरचाह र सबै जिम्मेवारी कञ्चन र क्रान्तिकै थियो।
२०७६ सालमा विष्णुमायाको निधन भयो। कञ्चन साउदीबाट आए र आमाको काजकिरिया सकेर फेरि उतै फर्के।
आमाबुवा दुवै नरहे पनि कञ्चन उनीहरूको सम्झना रहिरहोस् भन्ने चाहन्थे। त्यसैले उनले केही जमिन आमाबुवाका नाममा दान गर्ने निर्णय गरे।
अंशबण्डा गर्दा विष्णुमायाका नाममा एघार कट्ठा पाँच धुर जिउनी जग्गा थियो। यो जग्गा विष्णुमाया जीवित हुञ्जेल उनैले खाईखर्च गर्ने र बच्यो भने उनको निधनपछि तीन जना छोराले बाँड्ने भनेर लेखापढी भएको थियो।
निधन हुनुभन्दा दुई वर्षअघि विष्णुमायाले कञ्चनलाई भनेकी थिइन्, ‘कान्छा, तैंले मेरो धेरै हेरविचार गरिस्। मेरो उपचारमा धेरै दुःख र खर्च गरिस्। अरूले मलाई हेरेनन्, अब पनि मेरो देखभाल गर्ने तैं होस्। अब मलाई यो सम्पत्ति चाहिएन। मेरो जिउनी अंश तँलाई नै भयो।’
यति भनेर उनले कञ्चनलाई आफ्नो जग्गाको दृष्टि–बन्धकी पास गरिदिएकी थिइन्।
त्यही जमिन कञ्चनले आमाबुवाको स्मृतिमा पुण्यकाममा लगाउने सोचेका थिए।
उनी केही समयपछि बिदामा नेपाल आए। त्यति बेला अर्जुनधारा नगरपालिकाले वडा नम्बर ५ को कार्यालय भवन बनाउन जग्गा खोजिरहेको थियो। यही मौकामा कञ्चनले आमाबुवाको स्मृतिमा वडा भवन बनाउन पाँच कट्ठा जग्गा दान दिने निर्णय गरे।
वडा भवन बन्ने ठाउँसम्म बाटो बनाउन कञ्चनले आफ्नो थप जग्गा पनि दिए। बीस फिट चौडा बाटोसमेतका लागि उनले करिब दस कट्ठा दान दिने भए।
कञ्चनको यो निर्णयमा उनका जेठा दाजु हेमराजले असन्तुष्टि जनाए। उनले आमाको जिउनी आफूले पनि पाउनुपर्ने भन्दै विरोध गरे। माइला श्यामराज भने कञ्चनकै कुरामा सहमत थिए।
हेमराजले आफूलाई भाग नदिई जग्गा दान गर्न नपाइने भन्दै वडा कार्यालयमै निवेदन दिए।
वडाले सबैलाई बोलाएर पटकपटक छलफल चलायो। हेमराज आफ्नो अडानबाट पछि हटेनन्। जेठा दाजु एकातिर, माइला र कान्छा अर्कातिर भए। आपसी विवाद बढ्दै गयो। स्थानीय समाजसेवी, बुद्धिजीवी र अगुवाहरूले हेमराजलाई सम्झाएर झगडा मिलाउने कोशिस गरे। सकेनन्।
खटपटकै बीच कञ्चनले २०७६ चैतमा लेखापढी, नापनक्सा गराइवरी त्यो जग्गा अर्जुनधारा नगरपालिकाको नाममा गरिदिए। वडा कार्यालयसँगै कञ्चनका आमाबुवाको अर्धकदको शालिक राख्ने र बाटोको नाम उषामार्ग राख्ने सहमति पनि भयो। उषा कञ्चनकी पहिली श्रीमती थिइन्, जसको निधन भइसकेको थियो।
भवन निर्माणसँगै यी सबै काम नगरपालिकाले गर्ने समझदारी भयो।
त्यसपछि कञ्चन फेरि साउदी अरब गए। यता नगरपालिकाले भवन बनाउन ६५ लाख रूपैयाँ बजेट छुट्यायो। हेमराज असन्तुष्ट नै थिए। तर यतिञ्जेल उनले खासै केही समस्या खडा गरेका थिएनन्।
जब अर्जनुधाराका तत्कालीन मेयर हरिकुमार रानाले भवन शिलान्यास गरे, तब उनको असन्तोष चुलीमा पुग्यो।
‘मेरो जानकारी र सल्लाहबिनै वडा कार्यालय, कान्छो र माइलो भाइ मिलेर जालसाजी गरे। एकलौटि रूपमा आमाको जिउनी जग्गा खाए। त्यो जमिनमा मेरो पनि हकदाबी हुन्छ। तर मलाई जानकारी नदिई उनीहरूले आफ्नो बनाए,’ हेमराजको भनाइ थियो।
वडाबाट समाधान नभएपछि यही कुरा राखेर उनले २०७७ मंसिरमा कञ्चन र श्यामराजका साथै वडा कार्यालयविरूद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी दिए।
उनको माग थियो– आमाको जिउनी एघार कट्ठा पाँच धुर जमिनबाट मैले पनि तीन कट्ठा १५ धुर पाउनुपर्छ, मेरो भागको जग्गा नदिई दान गर्न पाइँदैन। पुर्ख्यौली सम्पत्तिमा मेरो पनि हक लाग्छ। त्यसैले त्यो जमिन कञ्चनको मात्र हुने र उसले दान दिने भनेर गरेको निर्णय बदर होस्।
हेमराज जंगिएपछि विवाद चर्किँदै गयो।
न्यायिक समितले विवाद समाधान गर्न सबैको सहभागितामा पटकपटक छलफल चलायो। हेमराज टसमस भएनन्। उनी सहमत हुनुको साटो बरू अदालत पुगे।
त्यसै वर्ष पुस महिनामा उनले कान्छा भाइ कञ्चन र वडा कार्यालयलाई प्रतिवादी बनाएर जिल्ला अदालत झापामा मुद्दा हाले।
दाजुभाइको आँगनको झगडा अदालत पुग्यो।
हेमराजले मुद्दा हालेपछि कञ्चनलाई के गर्ने कसो गर्ने भयो। दुई महिनापछि, फागुनमा कञ्चनकी श्रीमती क्रान्तिले हेमराजको माग दाबीविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिन्। कञ्चन विदेशमै भएकाले यहाँका सबै काम उनैले सम्हालेकी थिइन्।
मुद्दा हालहालपछि दाजुभाइ र परिवारको सम्बन्ध झनै तीतो भयो। बोलचालै हुन छाड्यो। जेठा हेमराज र माइला श्यामराज त एकअर्कालाई गालीगलौज गर्न थाले। देखभेटमा पनि जग्गाकै कुरामा बाझिहाल्थे। एकअर्कामाथि जाई पनि लाग्थे।
एकातिर परिवार र सामाजिक सम्बन्ध भताभुंग भयो, अर्कातिर वडाको भवन बनाउने काम लथालिंग थियो।
अदालतमा मुद्दा परेपछि वडा कार्यालय भवन बनाउने काम रोकियो। नगरपालिकाले छुट्याएको बजेट फ्रिज भयो। दाजुभाइका कारण दुई वर्षसम्म सार्वजनिक काम रोकिँदा वडावासीहरूलाई झर्को लागिसकेको थियो।
वडाका सरोकारवालाहरू जतिपटक संवाद र प्रयास गर्दा पनि कुरा नमिलेपछि हार खाए। बरू सापकोटा परिवारलाई सामाजिक बहिष्कारै गर्ने अवस्थामा पुगे।
‘यो विवाद कुराकानी गरेर समाधान होला कि भनेर धेरै प्रयास गर्यौं। मानिहाल्छन् कि भनेर वडा भवन बनाउन बजेट पनि छुट्याइरह्यौं। तर केही गरी भएन,’ तत्कालीन मेयर हरिकुमारले भने, ‘न दाजुभाइ मिले, न वडाको भवन बन्न सक्यो। छुट्याएको बजेट फ्रिज भएर गयो।’
वडादेखि नगरपालिकासम्मको टाउको दुखाइ बनेपछि समस्या सुल्झाउने जिम्मा न्यायिक समितिमार्फत् प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रलाई दिइयो। संस्थाले प्राकृतिक स्रोतका कारण हुँदै आएका यस्ता विवाद समाधानको काम गर्छ भन्ने उनीहरूलाई जानकारी थियो।
संस्थाले २०७८ वैशाखदेखि काम थाल्यो। यस्ता विवाद समाधानमा स्थानीय समुदायका मान्छेलाई नै सहभागी गराउने संस्थाको प्रक्रिया हुन्छ। यही अवधारणामा रहेर संस्थाले ‘माकुरा समूह’ बनायो। माकुराले लचिला रेसाहरू एकएक विन्दुमा जोड्दै पूरा जालो बनाएजस्तै समूहका सदस्यहरूले नै विवादमा संलग्न सबै पक्ष समेट्न सक्छन् भन्ने अवधारणामा नाम माकुरा राखिएको हो।
माकुरा सदस्य र सहजकर्ताहरूले यो विवादबारे बुझे।
दाजुभाइको सम्बन्ध केही कट्ठा जमिनका कारण नराम्रोसँग बिग्रेको सहजकर्ता छत्र पौडेल बताउँछन्।
‘सापकोटा परिवारका जेठा हेमराज र माइला श्यामराजबीच सम्बन्ध साह्रै नराम्ररी बिग्रिएको थियो, देखादेख नै हुन नसक्ने,’ काम सुरू गर्दाको अवस्थाबारे छत्र भन्छन्, ‘विवादको अर्का पक्ष कान्छा भाइ कञ्चन फेरि विदेशमा। त्यसैले अगाडि राखेर कुराकानी गराउन मुश्किल थियो।’
उनीहरूले सुरूमा हेमराज र श्यामराजबीच छलफल चलाए। कयौंपटक उनीहरूले छलफलमै झगडा गरे। संस्थालाई सम्हाल्नै हम्मे पर्थ्यो।
संस्थाले साउदी अरबमा रहेका कञ्चनसँग भने फेसबुक मेसेन्जरमार्फत् कुराकानी गर्यो। उनको पक्षबाट यता उनकी श्रीमती क्रान्तिले कुरा गरिन्।
‘दिउँसो जेठा–माइला र यहाँका सरोकारवालासँग छलफल र बेलुका कान्छा भाइसँग मेसेन्जरमा हामीले हरेक दिनजसो कुरा गर्यौं,’ छत्रले भने, ‘उहाँहरूलाई मिलेर जान धेरै आग्रह गर्यौं। कोही मान्नेवाला नै थिएनन्।’
बारम्बार कुराकानी गर्दा पनि समस्याको निकास निस्किएको थिएन। त्यही बेला अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमारले उनीहरूलाई झस्काउने घोषणा गरिदिए। उनले अब यो जमिन नै नलिने भने।
खासमा उनी यो विवादबाट आजित भइसकेका थिए। स्थानीय चुनाव आउँदै गरेकाले उनको कार्यकाल सकिँदै थियो। उनले आफ्नो कार्यकालमा सबै वडाका भवन बनाइसकेका थिए। यही वडा नम्बर ५ को मात्र बाँकी थियो। चुनावअघि नै उनी यो काम सक्न चाहन्थे।
त्यसैले उनले भने, ‘लु भइहाल्यो, तिमीहरूको जग्गाको विवाद तिमीहरू मिलाउँदै गर। हामी अब वडा भवन बनाउन चाहिँ अन्तै जग्गा खोज्छौं।’
उनले सार्वजनिक रूपमा त्यसो भनेपछि वडाका लागि पाँच कट्ठा जमिन दिनेहरू पनि निस्किए।
त्यसपछि कञ्चनलाई समस्या पर्यो। आमाबुवाको सम्झनामा सामाजिक काम गर्न खोजेको, उल्टो बदनामी भयो भन्ने लाग्यो।
कञ्चनले मेयरलाई भने, ‘त्यसो भए यो जग्गा होस्, छाडिदिनू, म अर्को ठाउँको मेरै नामको जग्गा दिन्छु।’
तर मेयर मानेनन्।
सरकारको नाममा गइसकेको जमिन फर्काउन नमिल्ने र मुद्दा चलिरहँदा काम पनि गर्न नपाइने भएकाले यहाँ वडा भवन बन्न नसक्ने उनले बताए।
त्यसपछि संस्थाले दाजुभाइ र अरूहरूसँग लामो संवाद र छलफल गर्यो। कुराकानी हुँदै गर्दा जेठा दाजु हेमराज अलि मत्थर हुँदै गए।
उनले आफूलाई तीन कट्ठा १५ धुर होइन, दुई कट्ठा जमिन दिए मान्ने कुरा राखे।
कञ्चनलाई पनि यो विवाद कति तन्काउने, बरू दाजु हेमराजको कुरा मानेरै अगाडि जाँदा ठीक होला भन्ने लाग्यो।
आमाको जिउनीमध्येको दुई कट्ठा जग्गा दिन उनी सहमत भए।
सहमति भएसँगै संस्थाले उनलाई नेपाल आउन आग्रह गर्यो। उनी आएपछि तीनै दाजुभाइ, उनीहरूका परिवार, वडा र पालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालाको उपस्थितिमा सहमति भयो।
कुरा मिलेपछि उनीहरूले अदालतमा एकअर्काविरूद्ध हालेको मुद्दा फिर्ता लिए। नगरपालिका मेयर हरिकुमारको अगुवाइमा दुवै पक्षका वकिलहरूसँग कुरा गरी मेलमिलाप भएको थियो।
हेमराजले पहिले अंशबण्डा हुँदा पनि धेरै सम्पत्ति आफ्नो भागमा लिएका रहेछन्। अब आगामी दिनमा उनले भाइहरूसँग सम्पत्तिमा कुनै हकदाबी नगर्ने सर्तसहितका सहमतिअनुसार जग्गाको स्वामित्व हस्तान्तरण भयो।
कञ्चनले आमाको जिउनीका रूपमा रहेको एघार कट्ठा पाँच धुर जमिनमध्ये दुई कट्ठा जेठा दाजु हेमराजका नाममा गरिदिए। पाँच कट्ठा वडा भवनका लागि दान भइसकेको थियो। माइला दाजु श्यामराजले कुनै हकदाबी गरेका थिएनन्। तैपनि कञ्चनले उनलाई समेत एक कट्ठा जग्गा लैजानू भने। बाँकी रहेको केही जग्गा आफ्ना दिदीबहिनीहरूलाई दिए।
‘आमाको त्यो जग्गा कञ्चनले आफूसँग कत्ति पनि राखेनन्। मलाई केही चाहिँदैन, म राख्दिनँ भनेर सबै दिए,’ संस्थाका सहजकर्ता छत्रले भने, ‘यसरी सहमति हुनासाथ रोकिएका सबै काम अगाडि बढिहाल्यो।’
वडा कार्यालय भवन बनाउन उपभोक्ता समिति गठन भयो। नगरपालिकाले तुरून्तै बजेट विनियोजन गरिदियो। त्यसपछि धमाधम काम सुरू भयो र वडा भवन तयार भयो। वडा कार्यालयले यही भवनबाट नागरिकहरूलाई सेवा दिन थालिसकेको छ।
‘कहिल्यै नसुल्झिनेजस्तो लागेको थियो यो विवाद। मैले त यो जग्गामा भवन नबनाउने भनेर छाडिसकेको पनि थिएँ। तर प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले समाधान गरिदियो,’ तत्कालीन मेयर हरिकुमारले भने।
यता सापकोटा दाजुभाइको सम्बन्ध पनि राम्रो हुँदै गएको छ। अचेल बोलचाल र आउजाउ हुन्छ।
‘हाम्रो यो झगडा संवादले मिल्छ भन्ने कहिल्यै सोचेकै थिएनौं। तर संस्थाको यो प्रक्रियाले हाम्रो झगडासँगै मन पनि मिलायो। नजानिँदो पारामा कुरा गर्दै संस्थाले यति लामो विवाद समाधान गरिदियो,’ हेमराजले भने।
उनका भाइ कञ्चनलाई त आफ्नो मनमष्तिष्कमा बिझेको ठूलो काँडो नै झिकेर फ्याँकेजस्तो भएको छ। विदेशमा कमाउन जाँदा पनि यही जग्गाको किचलोले चिन्ता थपेको थियो। राम्रो काम गरेर सम्मान कमाऊँ भन्दा उल्टो बदनामी खेपेका थिए।
‘यो विवाद समाधान होस् भन्ने मेरो कामना थियो। तर पूरा होला जस्तो लागेको थिएन। यो संस्था आएर पूरा गरिदियो,’ कञ्चनले भने, ‘मलाई साह्रै सन्तोक भएको छ।’
वडाको काम अगाडि बढेपछि उनीहरूको सामाजिक सम्बन्ध पनि सुधारिँदै गयो। यो परिवारलाई नै बहिष्कार गर्ने अवस्थामा पुगेको समाजले अहिले उनीहरूलाई हेर्ने दृष्टिकोण बदलेर सकारात्मक बनाएको छ।