सर्लाही जिल्लाको हरिवन नगरपालिका–९, दनुवारी गाउँ ।
आज यहाँ पक्की र फराकिलो सडक छ । गाडी सहजै गुड्छन् । विद्यालय जाने बालबालिकाको जुत्तामा हिलो टाँसिँदैन । न त बजार जान धुलोले आँखै पोल्छ । बिरामी बोकेर हिँड्ने एम्बुलेन्स अब बाटोमै अड्किदैन ।
यो परिवर्तन केवल सडकको मात्रको होइन । पाँच दशकदेखि गाँठो परेर अड्किएको विवाद रूपान्तरण भएपछि गाउँको समग्र जीवनशैली नै फेरिएको हो । जसले बाटोसँगै मनहरूको दूरी पनि मेटाइदिएको छ ।
केही वर्षअघिसम्म दनुवारीदेखि डुम्रिघारी जाने बाटो वर्षायाम लाग्नासाथ दलदल बन्थ्यो । एम्बुलेन्स त परै जाओस्, सामान्य सवारी साधनसमेत छिर्न सक्दैनथे । तर समस्याको जरो हिलोभन्दा गहिरो थियो ।
यस ठाउँमा आजभन्दा करिब ५० वर्षअघि, केही स्थानीयले घरअगाडिको नक्सामा देखिएको बाटो बन्द गरी आफ्नै जग्गाबाट वैकल्पिक बाटो दिएका थिए । समय बित्दै गयो । मानिसहरूले त्यही वैकल्पिक बाटो प्रयोग गर्न थाले । घरहरू त्यतै फर्किए । बस्ती विस्तार हुँदै गयो ।
२०३० सालदेखि प्रयोग हुँदै आएको यो चलनचल्तीको बाटो सरकारी नक्सामा भने कहिल्यै समेटिएन । व्यवहारमा एउटा बाटो चलिरह्यो भने कागजमा अर्कै । यही विरोधाभासले दनुवारीलाई लामो समयसम्म थिचिरह्यो ।
२०६५ सालमा हरिवन गा.वि.स. ले चलनचल्तीको बाटोमा ग्राभेल हाल्न खोज्दा जग्गाधनीले विरोध गरे । “नक्सामा नपरेको बाटोमा किन काम?” भन्ने प्रश्न उठ्यो । त्यसपछि विवादले सामाजिक रूप लिन थाल्यो ।
चलनचल्तीको बाटो बन्द हुँदा धेरै परिवारको निकास बन्द हुने अवस्था थियो । नक्साको बाटो खोल्दा पनि जग्गाधनीको घर–आँगन प्रभावित हुन्थ्यो । विवाद वर्षौंसम्म बल्झिँदै गयो । सम्बन्धहरू चिसिँदै गए ।
२०७४ सालको प्रदेशसभा निर्वाचनपछि विवाद झन् उग्र बन्यो । प्रदेश सरकारले सडक स्तरोन्नति र ढलानका लागि बजेट पठायो । तर प्रश्न एउटै थियो ‘कुन बाटो बनाउने?’
कानुनी रूपमा नक्साको बाटोलाई आधार मान्नुपर्ने बाध्यता थियो । तर गाउँलेहरू वर्षौंदेखि प्रयोग गर्दै आएको बाटोमै सडक चाहन्थे । यही विषयले सिंगो बस्ती दुई धारमा विभाजित भयो—‘बाटोको उत्तर र दक्षिण ।’
छिमेकीबीच बोलचाल बन्द भयो । एउटै परिवारका सदस्यसमेत बाटोको कारण अलग–अलग भए । उत्तरका मानिसहरू दक्षिणतिरबाट आउने नयाँ मान्छेलाई “हाम्रो विरुद्ध षड्यन्त्र गर्न आएको” ठान्थे । दक्षिणका मानिसहरूको शंका पनि उस्तै थियो । आपसी विश्वास पूर्ण रूपमा भत्किएको थियो । विवाद यति बढ्यो कि मारकाटको स्थिति आउन सक्ने माहोल बन्यो ।
विवाद समाधानका लागि नगरपालिका, वडा कार्यालय, पूर्व–वर्तमान जनप्रतिनिधि सबैले पटक–पटक प्रयास गरे । बैठक बसे, सहमति भए तर कार्यान्वयन कहिल्यै भएन । वर्तमान वडा अध्यक्ष कोकिलानन्द उप्रेती जेसिबी लिएर जबर्जस्ती बाटो खोल्न पुगे । तर स्थानीयहरूले कडा प्रतिरोध गरे । हातपातको अवस्थासमेत आयो । अन्ततः करिब २ किलोमिटर सडक स्तरोन्नतिको विकास बजेट नै फ्रिज भयो । विकास रोकियो । मनहरू झन् टाढा भए ।
विवाद झन् चर्कँदै गएपछि हरिवन नगरपालिकाले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी–नेपाल) लाई औपचारिक रूपमा सहजिकरणका लागि आग्रह गर्याे ।
यहीँबाट दनुवारीको कथाले नयाँ दिशा लियो ।
२०८० साल पुस १२ गतेदेखि एनआरसिटीसीले वैज्ञानिक र चरणबद्ध ‘माकुरा जालो’ पद्धतिमा आधारित बहुसरोकारवाला द्वन्द्व रूपान्तरण प्रक्रियाको सुरुवात गर्याे ।
विवादमा संलग्न पक्षहरूले विश्वास गर्ने, समय दिन सक्ने १० जना स्थानीय व्यक्तिलाई समेटेर ‘माकुरा समूह’ गठन गरियो । यो समूहलाई क्षमता विकास, संवाद र नेतृत्व हस्तान्तरणसम्बन्धी तालिम दिइयो । बाहिरबाट समाधान थोपार्ने होइन, समुदाय आफैँलाई समाधानको सूत्रधार बनाउने यसको मूख्य उद्देश्य थियो ।
माकुरा समूहकै नेतृत्वमा पक्षहरूको सहमतिमा प्रक्रिया प्रस्ताव पारित गरियो । त्यसपछि अलग–अलग र सामूहिक छलफलमार्फत विवादको वास्तविक जरा र समाधान गर्नुपर्ने विषयहरू पहिचान गरिए ।
पचास वर्ष पुरानो घाउ निको पार्नु सजिलो थिएन । तर बाह्य दबाबभन्दा समुदायको सक्रिय सहभागितामै समाधान खोजियो । स्थानीय सरस्वती महत भन्छिन्, “एनआरसीटीसीका सहजकर्ता नआएको भए यहाँ काटाकाट पक्कै हुन्थ्यो । मर्ने मार्ने अवस्था समेत आउन सक्थ्यो । माकुरा आएपछि वातावरण नै फेरियो ।”
निरन्तरको संवादले सम्भावनाको ढोका खोल्न थाल्यो । लामो संवादपछि समुदाय आफैँले विकल्प खोज्यो । विकल्पमाथि खुला छलफल भयो । सवै पक्ष लचिलो भएपछि जित–जितको समाधान सम्भव भयो ।
२०८१ असार ६ गते द्वन्द्वमा संलग्न सवै पक्ष र सरोकारवालाको उपस्थितिमा ५ बुँदे सहमति भयो ।
नक्साको बाटो र चलनचल्तीको बाटो दुवै १४–१४ फिट कायम गर्ने, आवश्यक जग्गा दुवै पक्षले छाड्ने र नगरपालिका तथा प्रदेश सरकारको सहकार्यमा दुवै बाटो स्तरोन्नति गर्ने सहमति भयो ।
समुदाय सहमत भएपछि सरकारले पनि ढिलाइ गरेन । आज दुवै बाटो पक्की र फराकिलो बनेका छन् ।
हिजो स्थानिय सरकारले गाडेको सिमानाको किलो उखेलेर फाल्ने स्थानीय चुणामणी दाहाल आज भावुक हुँदै आफ्ना अनुभूति यसरी बाँड्छन्, “मेयर–उपमेयरदेखि पञ्चभलाद्मी सबै आए, तर सकेका थिएनन् । माकुरा समूहले भने हामी सबैको चित्त बुझाइदियो–हाम्रो पनि, समाजको पनि, र स्थानिय सरकारको पनि । आज दुवै पट्टि बाटो खुलेको छ । यो काम माकुराले गरिदियो ।”
आज पक्की सडकले दनुवारीको रूप मात्र फेरिएको छैन । जीवनशैली सहज भएको छ ।
विद्यालयका गाडी दैलोसम्म आइपुग्छन् । बजार आवतजावत सजिलो भएको छ । सबैभन्दा ठूलो परिवर्तन त ‘मनहरूको मिलन’ भएको छ । वर्षौँसम्म नबोलेका छिमेकीहरू आज एउटै चौतारीमा बसेर चिया पिउँछन्, हाँस्छन् । सामाजिक सद्भाव पुनः स्थापित भएको छ ।
निवर्तमान वडा अध्यक्ष सिताराम पोखरेल भन्छन्, “मैले पनि धेरै प्रयास गरेको थिएँ, तर सकेको थिइनँ । यो द्वन्द्व रूपान्तरण प्रक्रियाले सबैलाई साथमा लिएर काम गर्याे । मारकाटको संघारमा पुगेको विवाद आज ढलान सडकमा परिणत भएको छ । बाटो मात्र होइन, मन पनि जोडिएको छ ।”
दनुवारीको यो अनुभव हरिवन नगरपालिकाका लागि महत्वपूर्ण सिकाइ बनेको छ । नगरभित्र यस्ता धेरै बहुसरोकारवाला विवाद छन्, जसले विकास रोकेको छ । तर बल प्रयोग वा अदालतभन्दा ‘माकुरा जालो विधि’ दिगो समाधानको बाटो हो भन्ने कुरा यहाँ प्रमाणित भएको छ । नगरपालिकाले अब अन्य विवादमा पनि यही विधि अपनाउने नीति लिएको छ । 
उपप्रमुख हरिमाया घलान भन्छिन्, “यो द्वन्द्व रूपान्तरण प्रक्रिया भनेको फाटेको मन सिलाउने कला रहेछ । निरन्तर संवादले जति अप्ठ्यारो विवाद पनि मिल्न सक्छ भन्ने कुरा यसले देखायो ।”
‘माकुरा समूह’ ले बुनेको संवादको जालोले वर्षौँदेखिको मनमुटाव हटाएको छ । सामाजिक विवाद कागज वा जग्गामा सीमित हुँदैन—यो भावना, सम्बन्ध र सहअस्तित्वसँग गाँसिएको हुन्छ । जब समुदाय आफैं सुन्छ, बुझ्छ र सही मार्गदर्शन पाउँछ, पुराना गाँठा पनि फुक्छन् । प्रशासनिक आदेश भन्दा सामुदायिक नेतृत्व र सहभागिताबाट भएको निर्णय दिगो हुन्छ भन्नेकुरा दनुवारीले प्रमाणित गरेको छ ।
अन्ततः पाँच दशक पुरानो विवाद रूपान्तरणले विकासको नयाँ भाष्य रचेको छ । दनुवारीमा बिछ्याइएको ढलान केवल सिमेन्ट र गिट्टीको तह होइन, यो एकता, समझदारी र मेलमिलापको आधारशिला हो । समस्याको समाधान अदालत वा कार्यालयमा मात्र होइन, गाउँकै चौतारीबाट पनि समाधान सम्भव हुन्छ भन्ने उदाहरण दनुवारीले दिएको छ ।