नाममा 'जल', नसिबमा 'जलन'
संखुवासभाको पाँचखपन नगरपालिका। त्यहाँ एउटा गाउँ छ, जसको नाम हो 'जलजला'।
नाम सुन्दा लाग्छ, त्यहाँ पानीको कुनै कमी छैन । तर विडम्बना 'जलजला' बासीको नियतिमा भने 'जल' होइन, पुस्तौंदेखि केवल 'जलन' थियो। तिर्खाको जलन। पानीको अभावको जलन।
कल्पना गर्नुहोस्, तपाईंको घरमा कोही पाहुना आए। तपाईं उनीहरूलाई मिठो मसिनो खुवाउन सक्नुहुन्छ, तर एक गिलास पानी माग्दा निधार खुम्च्याउनुपर्ने बाध्यता छ। जलजलाको यथार्थ यही थियो। एक गाग्री पानीका लागि मध्यरातमा निद्रा मारेर, अँध्यारो बाटो छिचोल्दै एक घण्टा परको 'तीरतीरे धारा' पुग्नुपर्थ्यो। त्यहाँ पनि पालो कहिले आउने, टुंगो हुँदैनथ्यो। थोपा–थोपा जम्मा गरेर गाग्री भर्दा आधा घण्टालाग्थ्यो।
अझ विदारक दृश्य त विवाह र काजक्रियामा देखिन्थ्यो। शुभकार्य होस् वा शोक, मानिसहरूले तिरतिरे धाराको छेउमा जम्मा भएको फोहोर 'आहाल' को पानीले काम चलाउनुपर्थ्यो। सरसफाइ र नुहाउनका लागि हप्ताको एक दिन याखोला वा चिंखुवा खोला धाउनुपर्ने बाध्यताले जलजलाबासीको जीवन नै सुख्खा बनाएको थियो। "पानीको दुःख छ" भन्दै कुटुम्बले छोरी दिन समेत आनाकानी गर्ने त्यो समाजमा, पानी केवल आवश्यकता होइन, प्रतिष्ठाको लडाइँ बनिसकेको थियो।
पानीको लडाइँ र खुकुरीको धार
यही अभाव टार्न सात वर्षअघि एउटा सपना देखियो 'नुनथले मुहान' (पाँचखपन वडानम्बर १कुसुवा) बाट जलजला (पाँचखपन वडानम्बर ८ आहाले चुङखुरुङ) सम्म पानी ल्याउने। ७५ एम.एम. को मोटो पाइप बिछ्याइयो, २० हजार लिटरको ट्याङ्की बन्यो। तर, यो विकास निर्माणमा एउटा ठूलो गल्ती भयो - जसको मुहान हो (कुसुवाबासी), उनीहरूलाई नै थाहा दिइएन।
आफ्नो अधिकार खोसिएको महसुस गरेपछि कुसुवाबासी जागे। उनीहरूले पानी होइन, आक्रोश बगाए। रातारात बिछ्याइएका पाइपहरू काटिए। विकासको सपना टुक्रा–टुक्रा भयो।
त्यसपछि सुरु भयो एउटा अघोषित युद्ध।
छिमेकीहरू शत्रु बने। पानी माग्ने र पानी रोक्नेहरू बीच हात हालाहाल मात्र भएन, खुकुरी नै निस्कियो। जलजलाका बासिन्दाले धम्की दिए "हामीलाई पानी नदिने? तिम्रो गाउँ जाने बाटो रोकिदिन्छौं।" उता मुहानवालाहरू टसमस भएनन्। २०७४ को चुनावपछि यो झगडामा राजनीति मिसियो, जसले आगोमा घ्यू थप्ने काम गर्यो। दुई गाउँबीचको आउजाउ बन्द भयो। सम्बन्धको सेतु टुट्यो, विश्वासको मुहान सुक्यो।
माकुरा समूहको उदय र 'जुत्ता साट्ने' कला
दर्जनौं पटकका सरकारी र स्थानीय प्रयासहरू बालुवामा पानी हालेझैं भए। मेलमिलाप गर्न जानेहरूलाई नै 'ठिक पार्ने' धम्की आउन थाल्यो। स्थिति यस्तो थियो कि कसैले पनि यो गाँठो फुकाउने आँट गरेनन्।
ठीक यसै समयमा, अँध्यारो सुरुङमा आशाको किरण बनेर प्रवेश गर्यो प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल। मिति थियो २०७६ पौष २ गते।
केन्द्रले एउटा अनौठो जुक्ति निकाल्यो। उनीहरूले झगडा गरिरहेका सवै पक्षबाट ३–३ जना प्रभावशाली व्यक्तिहरू छाने र एउटा समूह बनाए 'माकुरा समूह'। जसरी माकुराले टुटेका धागोहरू जोडेर बलियो जालो बनाउँछ, यिनीहरूको काम थियो टुटेका मनहरू जोड्नु।
यो समूहलाई ३ दिनसम्म द्वन्द्व रुपान्तरण प्रकृया सम्बन्धी क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम दिइयो । त्यहाँ उनीहरूलाई सम्झौतापत्रमा हस्ताक्षर गर्न सिकाइएन, बरु 'जीवन जिउने कला' सिकाइयो। तालिम भइरहदा बाहिर भने के मा हस्ताक्षर गराँउलान भनेर टोलवासी धर्नामा बसेका देखिन्थे ।
माकुरा समूहका सदस्य होम बहादुर खत्री सम्झनुहुन्छ, "हामीलाई सिकाइयो कि द्वन्द्वमा कोही हार्नु पर्दैन। 'जीत–जीत' (Win-Win) को सिद्धान्त पनि हुन्छ। हामीले अर्काको जुत्तामा खुट्टा हालेर हेर्न सिक्यौं (Empathy)।"
माकुरा समूहले सिके कि प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रले गर्ने छलफल पारदर्शीता र सामुहिकता मा आधारित रहेछ ।
“कोही हार्न मान्दैन रहेछ तर 'जीत–जीत' हुन्छ भनेर छलफल चलायो भने वातावरण नै राम्रौ भएर जादो रहेछ र मिल्ने विन्दु तर्फ लाग्दो रहेछ। यो हाम्रो लागि ठुलो सिकाई भएको छ” माकुरा समुहका अर्का सदस्य जनक न्यौपानेले बताउनुभयो ।
यो प्रक्रिया कसैको पनि चित्त नदुख्ने गरी समस्या समाधान गर्ने खालको हुन्छ भन्ने विश्वास माकुरा समूहमा जागृत भयो। उनीहरूले द्वन्द्वमा को कति उफ्रिन्छ त्यसको नाप पत्ता लगाउन सिके र त्यसै व्यक्तिसँग कुरा गरेर समस्याको जड पत्ता लगाउन सहज भयो। आफ्नै मात्र स्वार्थ हेरेर हैन अरुका ठाँउमा पनि बसेर आफूलाई हेर्न सक्नुपर्दो रहेछ,आफना कुरा मात्र भन्ने होइन अरुका कुरा पनि सुन्न सक्नुपर्ने रहेछ माकुरा समूहका सदस्यहरुले तालिम बाट जीवनज्ञान प्राप्त गरे ।
उनीहरूले बुझे मुहानवालाहरू पानी दिन विरोधी थिएनन्, उनीहरू त आफ्नो स्वाभिमान र अधिकार खोजिरहेका थिए। यता जलजलावासी उनीहरुको स्वाभिमानमाथि धावा बोल्न चाहदैन थिए । खानेपानीको पीडा हटाउन चाहन्थे । माकुरा समूहले 'को कति उफ्रिन्छ' भन्दा पनि 'किन दुख्दैछ' भन्ने जड पत्ता लगायो।
सहमति र सद्भावको मूल फुट्दा
अन्ततः २०७७ मंसिर २७ गते, त्यो ऐतिहासिक दिन आयो। वर्षौंदेखि खुकुरी उचाल्ने हातहरूले एक अर्कालाई नमस्कार गरे। ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो, जुन कागजको टुक्रा मात्र थिएन, दुई गाउँको भविष्यको नक्सा थियो।
के थियो त्यो जादुयी समाधान?
- संयमता: ७५ एम.एम. को मोटो पाइपले मुहान सुक्छ भन्ने डर हटाउन ३२ एम.एम. को पाइप मात्र प्रयोग गर्ने।
- न्याय: 'एक घर एक धारा' र मिटर सिस्टम लागू गर्ने, ताकि कसैले पानीको दुरुपयोग नगरोस्।
- कृतज्ञता: पालिकाले पानी दिने वडामा १० प्रतिशत बढि बजेट छुट्याउने।
- पर्यटन: बाँकी रहेको पानीलाई 'घोर्ले झरना' मा मिसाएर पर्या–पर्यटनको विकास गर्ने।
यो सहमतिले देखायो कि प्राकृतिक स्रोत झगडाको बीउ होइन, समृद्धिको आधार बन्न सक्छ।
उपसंहार: आँगनमा पानी, मनमा बहार
आज जलजला गाउँ फेरिएको छ।
कुनै समय पानीको लागि मध्यरातमा उठ्ने मन्जु न्यौपानेजस्ता गृहिणीहरूको मुहारमा आज मुस्कान छ। घरका आँगनमा ९० वटा धाराहरू जडान भएका छन्। चौबिसै घण्टा धररर... पानी खस्दाको संगीत कुनै मधुर धूनभन्दा कम छैन।
"पहिले पानीको दुःखले धेरै रोयौं, अहिले धारामा पानी मात्र आएको छैन, हाम्रो खुसी पनि फर्किएको छ," मन्जु भन्छिन्।
सबैभन्दा ठूलो जित त 'सम्बन्धको पुनर्स्थापना' हो। जुन बाटोमा तगारो हालिएको थियो, आज त्यही बाटो भएर जन्ती र मलामी आउजाउ गर्छन्। विकासका बजेटहरू अब झगडा मिलाउन होइन, मुहान संरक्षण गर्न खर्च भइरहेका छन्। शंकाका बादलहरू अझै कतै कतै होलान्, तर माकुरा समूहको जालोले त्यसलाई च्यात्न सधैं पहरा दिइरहेको छ।
यो कथा केवल संखुवासभाको जलजलाको मात्र होइन। यो कथा हो 'रूपान्तरणको'। यसले सिकाउँछ कि जब हामी 'म' बाट माथि उठेर 'हामी' भन्न सिक्छौं, तब खुकुरीको धार पनि पानीको शितल धारमा परिणत हुन सक्छ।
माकुरा समूहले केवल पाइप जोडेनन्, उनीहरूले वर्षौंदेखि फाटेका मनहरू सिइदिए। साँच्चै, यो 'फाटेका मनहरू जोड्ने' पानीको कथा हो।