म बल्लु चौधरी । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं २ मा मेरो घर। कुनै समय मेरो हातमा हतियार थियो। आँखामा रिस र मनमा बदलाको भावना। अधिकार प्राप्तिका लागी हिंसा नै अन्तिम सत्य हो भन्ने मेरो ठम्याई। तर आज, त्यही हातमा मेलमिलापको माला छ भने मनमा शान्तिको दियो। सुन्दा कुनै फिलिमको कथा जस्तो लाग्न सक्छ । तर यो मेरो जीवनको यथार्थ हो—जसले मलाई ‘लडाकु’ बाट ‘शान्ति अभियन्ता’ मा रूपान्तरण गर्यो।
मेरो विगत सम्झिँदा अहिले पनि मन भारी भएर आउँछ। कमैया जीवन आफैँमा पीडाको अर्काे नाम थियो। मालिकको खेतमा पसिना बगाउँदा पनि आफ्नो भन्न लायक केही थिएन। २०५७ सालमा सरकारले कमैया मुक्ति घोषणा गर्यो। कागजमा हामी मुक्त भयौँ, तर टाउको लुकाउने छानो भएन। बस्ने जमिन थिएन। मुक्ति पछि पनि दुःखका बादल हटेनन्।
हामी आफ्नो बसोबासको खोजीमा विभिन्न ठाउँमा गई झुपडी बनाएर बस्न थाल्यौ। तर, जहाँ गए पनि हामी असफल भयौं।
वनको छेउछाउमा बस्दा सामुदायिक वनका उपभोक्ताले घर टहरामा आगो लगाई कुटपिट गर्थे। ऐलानी पर्ति जमिनमा बस्यो भने स्थानीयले घर टहरा जलाएर लखेट्थे।
हामीलाई गाईगोरु खेदेझैँ जसले पनि खेद्न थाल्यो। न सरकारको नजर पर्यो। न त समाजले नै स्वीकार्यो। त्यही अन्यायको जगमा जन्मियो— विद्रोह।
मुक्त कमैया समाजको बैठकमा एउटा निष्कर्ष निकालियो— “आफ्नो अधिकार अब मागेर होइन, खोसेर लिनुपर्छ। राज्यले ब्यवस्थापन गर्न नसकेको बेला अब सरकारी जग्गा कब्जा गर्नुपर्छ।”
मेरो नेतृत्वमा ३० जनाको ‘लडाकु दस्ता’ तयार भयो। म कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङका मुक्त कमैयाहरूको साझा संगठन मुक्त कमैया युवा जागारण समाजको केन्द्रीय अध्यक्ष छानिएँ। 
पाँचै जिल्लामा सरकारी जग्गा कब्जा गर्ने अभियान तीब्र रूपमा सुरु भयो । झडप, कुटपिट, चोट—सबै सह्य गर्दै हामी अघि बढ्यौं। हाम्रो दिमागमा एउटै कुरा थियो—आफ्नो अधिकारको लागि ज्यान लिन र दिन पछि हट्नु हुँदैन।
कब्जा अभियान २०६४ सालसम्म चल्यो। त्यसबेला कैलालीमा फेकोफन (सामुदायिक वन उपभोक्ता महासंघ) सँग हाम्रो ठूलो टकराव थियो।
फेकोफनका सचिव नेत्रप्रसाद खनाल हामी मुक्त कमैयाहरुलाई जहिले पनि ‘वन फाडुवा’, ‘तस्कर’ जस्ता शब्दले गाली गर्थे। त्यतिबेला हाम्रो मनमा क्रोध र प्रतिशोधको भावना थियो।
हाम्रो एउटै लक्ष्य थियो— नेत्र जीलाई कतिखेर भेट्ने र उनका हात–खुट्टा भाँच्ने। हामी उहाँमाथि भौतिक आक्रमण गर्ने दाउ कुरेर बसेका थियौँ।
तर नियतिले अर्कै खेल खेलिरहेको थियो। त्यही शत्रु भनिएको संस्थाबाट प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण तालिमका लागि दुई जनाको नाम मागियो। यसले मुक्त कमैया समाजमा तरङ्ग ल्याइदियो।
मुक्त कमैया समाजको बैठक बस्यो। संगठनले शंका गर्यो– “यो पक्कै जाल हो, हामीलाई फसाउने षडयन्त्र हो” भन्ने सबैको बुझाई भयो। साथै शत्रुको रणनीति पनि बुझ्नुपर्छ भन्ने भयो ।
यसका लागी अलि पढे लेखेको, रणनीति बुझ्न सक्ने, परेको खण्डमा लड्नपनि सक्ने त्यस्तो व्यक्तिलाई पठाउनु पर्छ भन्ने सवैको निष्कर्ष निस्क्यो। सवै कुराहरु हेर्दा सुराकीको रूपमा म काठमाडौँ तालिमका लागी छानिएँ।
उद्देश्य तालिम भन्दा पनि फेकोफनले मुक्त कमैयाको बिरुद्ध के योजना बनाइरहेको छ भनेर थाहा पाउनु थियो।
काठमाडौँमा तालिम सुरु भयो। पहिलो चरणको तालिम सात दिनसम्म चल्यो।
काठमाडौँ आएपछि पनि मेरो घमण्ड घटेको थिएन। म सोच्थेँ– “यिनीहरूले मलाई के नै सिकाउलान् र?” अमेरिकी प्रोफेसर जोनपल लेडेराक प्रशिक्षक हुनुहुन्थ्यो। म दिनभरि कान ठाडा पारेर सुन्थेँ– “यिनीहरूले कहिले हाम्रो विरुद्ध बोल्लान् र म जासुसी गरुँला?”
तर सात दिन बित्यो, हाम्रो विरुद्ध एक शब्द उच्चारण भएन। बरु त्यहाँ ‘शान्ति’ र ‘सह–अस्तित्व’ का कुरा भए।
तालिम पछि म जिल्ला फर्के। म आउनासाथ मुक्त कमैया समाजको वैठक वस्यो। मैले तालिममा हाम्रो बिरुद्धमा कुनै पनि कुरा नभएको भनी जानकारी गराएँ। तर फेकोफन माथिको शंका भने कायम नै रह्यो।
म दोस्रो चरणको तालिममा पनि सहभागी भएँ। यस चरणमा पनि मुक्त कमैयाहरुको बिरुद्धमा कुनै पनि कुरा भएन। बरु समुदाय स्तरमा कसरी शान्ति कायम गर्न सकिन्छ भन्ने कुरा सिकेँ। तब मैले बुझें—मेरो उद्देश्य अब केवल प्रतिशोध होइन, मेलमिलाप र समझदारी हो।
म दोस्रो चरणको तालिमबाट फर्केपछि जमिन कब्जा गर्ने अभियान पनि रोकियो।
मुक्त कमैया समाजका मान्छेहरुले मलाई फेरी त्यही प्रश्न गरे “फेकोफनले हाम्रो बिरुद्धमा कस्तो रणनीति बनाईरहेको छ?” मैले उही जवाफ दिएँ, केहि पनि गरेनन् ।
यता मेरा साथीहरू ममाथि शंका गर्न थाले– “बल्लु त उतातिरै मिल्यो कि क्या हो? पहिलेको जस्तो आक्रामक किन छैन?”
यता फेकोफनले पनि भन्न थाल्यो “बल्लु तिमी त हाम्रो मान्छे। मुक्त कमैया समाजका मान्छेहरु के–के भन्छन् हामीलाई जानकारी गराउनु पर्छ है।”
म दोधारमा परेँ। म को हुँ? म कस्को मान्छे हुँ? मुक्त कमैयाको मान्छे कि फेकोफनको?
तेस्रो चरणको तालिममा मैले गुरु जोनपललाई सोधेँ, “गुरु, सबैले मलाई आफ्नो भन्छन्, म वास्तवमा कसको मान्छे हुँ?”
गुरुले मुस्कुराउँदै भन्नुभयो, “तिमी मेलमिलापकर्ता हौ। तिमी शान्ति निर्माणकर्ता हौ । तिमी सबैको साझा मान्छे हौ।”
त्यो उत्तरले मेरो मस्तिष्कमा बिजुली चम्किए झैँ भयो। मैले बुझेँ– मैले अहिलेसम्म गरेका हिंसा र घृणाले मलाई मात्र होइन, अरूलाई पनि दु:ख दिएको रहेछ। यदि मलाई शान्ति चाहिन्छ भने मैले अरूलाई पनि सम्मान गर्नुपर्छ। मैले हिंसाबाट शान्तितिरको यात्रा सुरु गरें।
हाम्रो लडाइँ त सरकारसँग थियो। तर हामीले व्यर्थमा वन र छिमेकीलाई शत्रु बनायौँ ।
जुन नेत्रप्रसाद खनालको हात भाँच्ने सपना देख्थेँ, उहाँसँगै हात मिलाएर सहकार्य गर्ने अठोट गरेँ।
आफूसँगै आफ्नो समुदायलाई पनि तालिमबाट सिकेका कुराहरु बताउँदै गए। संवाद र सहकार्यताको महत्वबारे बुझाए। तालिमको चौँथो, पाँचौ, छैठौँ, र सातौँ चरणसम्म आइपुग्दा म धेरै परिवर्तन भइसकेको थिएँ।
२०६५ देखि आज २०८२ सालसम्म आइपुग्दा मेरो जीवन पूर्णतः बदलिएको छ। एउटा ‘लडाकु’ आज प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको ‘क्षेत्रीय संयोजक’ बनेर जल, जमिन र जंगल सम्बन्धीका बहुसरोकारवाला विवादहरु रुपान्तरणका लागी सहजीकरण गर्दै हिडेको छु।
हिजो वन फाँड्न हिँड्ने म, आज वन जोगाउन र समुदायको झगडा मिलाउन हिँड्छु। कुनै बेला एउटा समुदायको मात्र स्वार्थ हेर्ने म, आज सिंगो समाजको साझा मान्छे बनेको छु। विवाद रुपान्तरण पछि मानिसका अनुहारमा फर्किएको खुसी र सम्बन्ध सुधार भएको देख्दा मन हर्षित हुन्छ। आफूले गरिरहेको काममा सन्तुष्टि मिलेको छ।
कहिलेकाहीँ एक्लै हुँदा विगत सम्झन्छु र आफैँलाई सोध्छु– “किन मैले हिंसा रोजेँ होला? किन कसैलाई चोट पुर्याउन खोजेँ होला?” सायद मलाई सही बाटो देखाउने कोही नभएर हो की?
आज मलाई सही बाटो देखाउनुहुने गुरु जोनपल लेडेराक, अमित ढकाल र एनआरसिटीसि नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाप्रति म नतमस्तक छु । उहाँहरूप्रति मेरो गहिरो श्रद्धा र नमन छ। उहाँको उत्प्रेरणा र मार्गदर्शनलेनै मलाई शान्ति निर्माणकर्ता बनाएको छ । नत्र भने सायद, आज म कि जेलमा हुन्थेँ, कि मेरो लास कतै बेवारिसे हुन्थ्यो होला ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल र यसले संचालन गरेको अभियान मेरो जीवनकथाको अभिन्न हिस्सा बनेको छ। स्थानीय सहजकर्ताका रूपमा सुरु भएको यात्राले आज क्षेत्रीय संयोजकको जिम्मेवारीसम्म पुर्याएको छ। यो अवसर एउटा गरिब परिवारको छोरा र कमैया समुदायको प्रतिनिधिका लागि सम्मान र विश्वासको प्रतीक समेत हो भन्ने मलाई लाग्छ।
आज म एउटा समुदायको मात्र होइन, सबैको साझा मान्छे हुन पाउँदा गर्व गर्छु । हिंसाले विनाश मात्र ल्याउँछ, तर संवाद र मेलमिलापले संसार जोड्छ भन्नेमा मान्यता राख्छु।
मैले सिकेको एउटै कुरा भनेको “आफ्नो स्वार्थका लागि अरूको खुसी खोस्नु अशान्ति हो, र सबैको अस्तित्व स्वीकार गर्नु नै वास्तविक शान्ति हो ।” हिजोको त्यो ‘लडाकु बल्लु’ आज मरेको छ, र एउटा ‘शान्ति अभियन्ता बल्लु’ जीवित छ । मेरो जीवनको यो रूपान्तरण नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो । यो हुनुको पछाडी प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको महत्वपूर्ण भूमिका छ ।