प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालले काठमाडौँमा आफ्नो वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम २०८२ चैत ४ गते काठमाण्डौमा सम्पन्न गरेको छ। संस्थागत पारदर्शिता, जवाफदेहिता र सुशासनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न तहका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष नारायण बहादुर खपाङ्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य भारती पाठक विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका संयोजक ईश्वर बहादुर थापा, धुलिखेल नगरपालिकाका प्रमुख निराजन जंगम, हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलान, पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्य माया दनुवार, कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरी तथा भीमेश्वर नगरपालिकाका न्यायिक समिति सदस्य बालकृष्ण रायसहित स्थानीय तहका जनप्रतिनिधि, माकुरा सदस्य तथा विभिन्न सरोकारवालाहरू गरी ६४ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यकारी निर्देशक चुप बहादुर थापाले सामाजिक लेखा परीक्षण संस्थाभित्र पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्नुभयो। सहभागीमूलक समीक्षा र सार्वजनिक जानकारीमार्फत विश्वास सुदृढ गर्ने, कमजोरी र सुधारका क्षेत्र पहिचान गर्ने तथा संस्थागत सिकाइलाई अघि बढाउने यस प्रक्रियालाई संस्थाले निरन्तर अभ्यास गर्दै आएको उहाँले जानकारी दिनुभयो। उहाँले संस्थाले विगत १३ वर्षमा हासिल गरेका उपलब्धिहरूलाई स्मरण गर्दै संवादमार्फत सम्बन्ध सुधार र विश्वास पुनःस्थापनामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
सामाजिक लेखा परीक्षणको क्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेले संस्थाको कार्यसम्पादनबारे स्वतन्त्र मूल्याङ्कन प्रस्तुत गर्नुभयो। उहाँले प्रत्यक्ष अवलोकन, सेवाग्राहीसँगको परामर्श तथा संस्थागत अभिलेखहरूको विश्लेषणका आधारमा संस्थाको प्रभावकारिता र सुधारका सम्भावित क्षेत्रहरूबारे “तेस्रो आँखाको दृष्टिकोण” प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, आरएसजी एसोसिएट्सका लेखापरीक्षक रामशरण गिरीले संस्थाको वित्तीय अवस्थाबारे विस्तृत प्रस्तुति दिँदै आर्थिक पारदर्शितालाई थप सुदृढ बनाउने पहलहरूको जानकारी गराउनुभयो।
कार्यक्रमका सहभागीहरूले संस्थाले प्राकृतिक स्रोतसँग सम्बन्धित बहुसरोकारवाला द्वन्द्व रूपान्तरण, शान्ति निर्माण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे। स्थानीय तहका प्रतिनिधिहरूले समुदायस्तरमा देखिने विवाद समाधानमा संस्थाको सहकार्य प्रभावकारी रहेको र सरकारी निकायहरूसँगको समन्वय सुदृढ भएको अनुभव साझा गरेका थिए।
प्रमुख अतिथि अप्सरा चापागाईँले संस्था द्वन्द्व रूपान्तरण क्षेत्रमा काम गर्नेहरूका लागि सिकाइ केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो। विशेष अतिथि भारती पाठकले संस्थाको सफलताको आधार पारदर्शिता र संस्थाको टीमको प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो।कार्यक्रमको अन्त्यमा संस्था, स्थानीय सरकार तथा अन्य सरोकारवालाबीच आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
वि.सं. २०७० सालमा “दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मूल नारासहित स्थापना भएको संस्थाले द मेकानल फाउन्डेसनको सहयोगमा जल, जमिन र जंगलसँग सम्बन्धित बहुसरोकारवाला द्वन्द्वहरूलाई माकुरा (Spider Web) विधिमार्फत रूपान्तरण गर्दै आएको छ। साथै, अन्तरव्यक्तिगत विवाद समाधानका लागि स्थानीय सरकार र दातृ नियकायको सहयोगमा मेलमिलाप अभियानसमेत सञ्चालन गर्दै आएको छ।