बर्दिया जिल्ला पुर्व पश्चिम लोकमार्ग रम्मापुर चोक देखि दक्षिणमा अवस्थित मगारागाडी गाउँ विकास समिति वडा नं.६ सिउनिया गाउँ कतै बाक्लो र कतै पातलो बस्ती प्रायः सबैजसो घरहरु सडक छेउमा रहेका छन् । इतिहासका बिभिन्न कालखण्डमा पहाडबाट बसाई सरी आएका बाहुन, क्षेत्रि, जनजातिहरु र रैथाने थारुहरुको मिश्रित वस्ती रहेको यहाँको समाज बाहिरबाट हेर्दा जति सुन्दर, शान्त देखिन्छ त्यति सुन्दर शान्त थिएन प्रत्यक्ष भिडन्त नभए पनि एक अर्कोमा अविश्वास, शंका, उपशंका जालोमा अल्झी रह्यो घटना परिघटना बल्झीरह्यो । कसैको कसैलाई केही दिनु पनि थिएन लिनु पनि थिएन । व्यक्तिगत रुपमा कुनै विवाद पनि थिएन तर सम्बन्ध राम्रो पनि थिएन विशेष गरी सिउनियाका अगुवाहरुका बिचमा । मनमुटाव हुनु, सम्बन्ध बिग्रिनुको कारण थियो भानुभक्त माध्यामिक विद्यालय र रिजाल परिवार बिच जग्गा हकभोग सम्बन्धी विवाद ।
विवादले धेरैको मन मात्र भाँचेन केहीको शरिरमा लौरो पनि भाँच्यो दुवै तर्फको हकदाविको श्रृखला अविरल चलिरह्यो । पंञ्चायतको शैसवकालमा शुरु भएको द्वन्द्व प्रजातन्त्र, प्र्रजातन्त्र पार गरी गणतन्त्र आउँदा पनि जहाँको त्यही जस्ताको त्यस्तै थियो । त्यही विद्यालयको बाटो हुदै जनमत संग्रह हिड्यो, पंञ्चायत विरोधी आन्दोलनमा जुट्यो, जनयुद्धको मूल पनि त्यही वस्तीमा फूट्यो त्यही विद्यालयमा अध्ययन गरेका र नगरेका त्यही बस्तीमा बसोवास गर्नेहरु पार्टीहरुका नेता कार्यकर्ता भए विद्यालयमा आश्वासन दिन धेरै गए तर पनि २०२४ सालमा स्थापना भएको मगरागाडी गा.वि.स.कै सवैभन्दा जेठो विद्यालय सवैथोक भएर पनि केही पनी नभएको आफ्नो गौरवशाली इतिहास पिडादायी वर्तमान र अन्यौलपूर्ण भविश्यको चौबाटोमा थियो । कुहिरोको काग झै हराइरहेको थियो । विद्यालय एक समय मगरागाडी गा.वि.स.मा मात्र होइन वर्दिया जिल्लामा नै चर्चित थियो त्यही विद्यालय लामो समय देखि अनिर्णयको बन्दि हुदाँ मगरागाडीवासीहरु चिन्तित थिए तर अहिले त्यस्तो छैन फाटेका मनहरु जुटेका छन तोडिएका नाताहरु जोडिएका छन । सवैले नयाँ जोश र जाँगरका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
२०२४ सालमा स्थापना भएको भानुभक्त माध्यामिक विद्यालय स्थापना कालमा कहिले ठूलो रुखको शितलमा त कहिले कसैको खाली घरमा घुम्ती पाठशालाको रुपमा संचालन हुदै आएको थियो । विद्यालय संचालनको लागि उपयुक्त ठाउँको खोजिमा सिउनियावासीहरु रहेका भए पनी उपयुक्त जमिन पाउन सकेका थिएनन् । तत्कालिन जमिन्दार खड्गविक्रम मल्लको मौजासंग जोडिएको ऐलानी पर्ति जमिन उपयोगविहिन अबस्थामा रहेको भए पनि कसैको ध्यान पुग्न सकेको थिएन । जव बहादुर रानाले उक्त जमिन जोतभोग गर्न लागे तव वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर थापाका हजुरबुवा समाजसेवी व्यक्तित्व स्व. तिर्थ बहादुर थापालाई सार्वजनिक जमिन व्यक्तिले हड्पेको चित्त बुझेन । सार्वजनिक जमिन व्यक्तिले कब्जा गरेपछि सार्वजनिक संघ, संस्था विद्यालय निर्माण गर्ने थलो नरहने भएकोले त्यतिबेलाका अगुवा शिबलाल शर्मा (रिजाल) लाई सार्वजनिक जमिन संरक्षण गरी उक्त स्थानमा विद्यालय निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । त्यसपछि शिवलाल शर्माको अगुवाईमा बहादुर रानालाई सार्वजनिक जमिन र विद्यालयको महत्वको विषयमा संझाई बुझाई गरेपछि बहादुर रानाले जोतभोग गर्न छोडेपछि शिवलाल शर्माको अगुवाईमा विद्यालय भवन निर्माण भएको स्थानीयवासीहरु एकै स्वरमा बताउँछन् । समयक्रम वित्दै गयो जमिन्दार खड्ग विक्रम मल्लले विद्यालय परिसरसंग जोडिएको आफ्नो जमिनबाट ४ विगाहा जमिन रुद्रनिधि खनाललाई विक्रि गरे । रुद्रनिधि खनालले केही समय भोग चलन गरे पछि त्यो जमिन २०३२ सालमा शिवलाल शर्मालाई विक्रि गरे पछि शिवलाल शर्माले भोगचलन गर्दे आएका थिए । शिवलाल शर्माले खरिद गरेको जमिनसगै जोडिएको पर्ति जमिन पनि शिवलाल शर्माले नै भोगचलन गर्दै आएका थिए, पर्ति जमिन विद्यालयको हुनुपर्छ भनेर त्यतिवेला नै भित्र भित्रै कुरा उठेको थियो तर शिवलालको अगाडी कसैले केही भन्न सकेका थिएनन् । वि.सं.२०५१ सालमा आएको सर्भे नापीले शिवलाल शर्माले खरिद गरेको चार विगाहा जमिन छुट्टाई करिव दश कठ्ठा जति बाटो छेउको जमिन ऐलानी पर्तिको रुपमा देखाई विद्यालयको जग्गाकै कित्ता लगापात ऐलानी पर्ति रहेको थाहा पाए पछि स्थानियबासीहरु केहिले उक्त जमिन विद्यालयको हुनुपर्ने कुरा भित्र भित्रै उठाउथे । तर शिवलालको व्यक्तित्व र विद्यालयको भोगचलन नभएकोले कोही कसैले भन्ने आँट नगरिरहेको परिवेशमा २०५७ सालमा शिवलाल शर्माले उक्त जग्गा आफ्ना छोराहरु बुद्धि रिजाल र अजय रिजालको नाममा दर्ता गर्न दर्ता प्रकृया अगाडी बढाईरहेकामा कोही कसैले विरोध गरेका थिएनन् । जग्गा दर्ता प्रकृया अगाडी बढाउने क्रममा शिवलालका माहिला छोरा दयालाल रिजालले उक्त जग्गा दाई र भाईको नाममा मात्र नभएर आफ्नो नाममा दर्ता हुनुपर्ने भनि बुवा शिबलालसंग माग राखे पछि शिबलालले दर्ता प्रकृया दुई जनाको नाममा अघि बढिसकेकोले दर्ता भई सकेपछि केही भाग दिने कुरा गरे । बुवा शिवलालको कुराबाट दयालाल रिजाल असन्तुष्ट रहे । पहिलै अंशबण्डा भईसकेकोले दाई भाईको नाममा दर्ता भएको जमिनमा हक दावि गर्ने आधार नदेखे पछि दर्ता प्रकृया रोक्न आफ्ना बुवा शिवलालले बुद्धि रिजाल र अजय रिजालको नाममा दर्ता गर्न लागेको जमिन विद्यालयको भएकोले जमिन दर्ताको लागि सिफारिश नगर्न गा.वि.स. कार्यालयमा निवेदन दर्ता गराएपछि दर्ता प्रकया रोकिएर विवादको शुरुवात भएको हो ।
२०५८ सालमा विद्यालयले जग्गा दर्ताको लागि प्रकृया अगाडी बढाउने क्रममा नापी नक्शाको लागि जिल्ला नापी कार्यालयबाट आएका अमिन लगायत कर्मचारीहरु माथि हातपात गरेपछि द्वन्द्व उत्कर्षमा पुग्यो । स्थानीयहरु दुई भागमा विभाजित भए । द्वन्द्व समाधानका लागि धेरै पटक छलफल भए सट्टा भर्ना दिने सहमति पनि भयो तर स्थानीयवासीहरुको विरोधका कारण सफल हुन सकेन । त्यस पछि द्वन्द्वरत पक्षहरु विच संवादहिनताको अबस्था सिर्जना भयो । विद्यालय प्रति अभिभावकहरुको चासो पनि कम हुन थाल्यो विद्यालय शिक्षक कर्मचारीको नेतृत्वमा मात्र संचालन हुन थाल्यो विद्यालयको दरवन्दी सहित नै शिक्षकहरु सरुवा हुने प्रचलनको विकास भयो । आर्थिक अनियमितता, शैक्षिक गुणस्तरमा कमी जस्ता विविध खालका समस्याहरु, विद्यार्र्थी संख्याको आधारमा दरबन्दि संख्याको कमी माध्यामिक तहको दरवन्दी नहुनु जस्ता अनगिन्ति समस्याहरुका कारण भानुभक्त मा.वि. संम्भावना र गंम्भीर चुनौतिहरुको संघारमा रहेको थियो ।
प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले अबलम्बन गर्दै आइरहेको प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण प्रक्रिया अनुरूप सम्बन्ध सुधार सहितको द्वन्द्व रूपान्तरण गर्नु सजिलो कुरो होइन । वर्षो वर्ष देखि हार जितको निरर्थक लडाईको श्रृृृृखलाबाट गुज्रदै आएको हाम्रो समाज अझ भनौ जित्नै पर्ने हाम्रो प्रवृति र संस्कृति, प्रक्रियामा ध्यान नदिने, परिणाम मात्र केन्द्रित हुने मनोवृति हामी मानिसहरुको आम प्रबृति नै हो भन्दा फरक नपर्ला । मगरागाडी वडा नं. ६ सिउनीयाको समाज पनी त्यो प्रबृति भन्दा पृथक होइन र हुने कुरा पनि भएन । द्वन्द्वको प्रारम्भीक सुचना संकलन गरी द्वन्द्वरत पक्षहरु र सरोकारवालाहरुलाई द्वन्द्व रूपान्तरण प्रक्रिया, रूपान्तरण प्रक्रियामा सरोकारवालाको भूमिका, संस्था र राष्ट्रिय श्रोत व्यक्तिको भूमिकाको बारेमा जानकारी दिन एवं द्वन्द्वको ऐतिहासिक पृष्ठभूमि, समाधानका लागि विगतमा गरिएका प्रयासहरु र हालको अबस्थाको बारेमा जानकारी लिन २०७२ फाल्गुण १२ गते भानुभक्त माध्यामिक विद्यालयको सभाहलमा पुर्व तयारी वैठक सम्पन्न भयो । द्वन्द्वरत पक्षहरु, सरोकारवाला व्यक्ति, निकायका प्रतिनिधिहरुसंगको निरन्तर भेटघाट गरी धारणा संकलन, द्वन्द्व नक्शांङ्कन, माकुरा समूह गठन, माकुरा समूह क्षमता विकास गोष्ठी जस्ता रूपान्तरण प्रक्रियाका प्रारम्भीक चरणहरु सफलतापूर्वक पार गर्दै गर्दा द्वन्द्वरत पक्षहरु र सरोकारवालाहरुसंग पनी घुलमिल हुदै गएको पत्तै भएन । द्वन्द्वरत पक्ष मध्येका प्रमुख व्यक्ति अजय रिजाल रोजगारीको सिलसिलामा भारतमा रहेको तथा शिवलाल शर्मा रिजालको बसोवास काठमाण्डौंमा रहेकोले रूपान्तरण प्रक्रियाले गति नलिने हो की वा गतिरोध आउने हो कि भन्ने आशंकाका बावजुद माकुरा समूहको वैठक वसी रूपान्तरण प्रक्रिया अगाडी बढाउनको लागि तर्जूमा गरेको योजना मुताविक प्रक्रिया प्रस्ताव तयारीका लागि द्वन्द्वरत पक्षहरु र सरोकारवालाहरुको धाराणा संकलन प्रक्रिया अगाडी बढाईयो । काठमाण्डौमा रहेका शिवलाल शर्मा (रिजाल) लाई फोन सम्पर्क गरी बोलाइयो शिवलाल शर्माले आफू गाउँमा आउन लागेको र भेटेर कुरा गर्ने बताए पछि केही राहत महशुस भयो भने भारतमा रहेका अजय रिजालसंग सम्पर्क गर्दा सकारात्मक पाए पछि उत्साह थपियो । लामो प्रकृया छोटो समयमा रुपान्तरण गर्नु पर्ने चुनौति थियो । शिवलाल शर्मा पहिलो भेटमा धेरै खुल्न चाहेनन् आफूले छोराहरुलाई अंशवण्डा गरि दिइसकेकोले छोराहरुसंगै कुरा गर्नुपर्ने धाराणा राखे । माकुरा समूह सदस्य तथा रिजाल परिवारकी प्रतिनिधि रिता रिजाल उनका कान्छा देवर अजय रिजाल संग निरन्तर सम्पर्कमा थिइन् । अजय रिजाल सकारात्मक रहेको र जसरी भए पनि द्वन्द्व समाधान गर्नुपर्ने पक्षमा रहेको खवरका आधारमा प्रक्रिया अगाडी बढाइएको थियो । न कसैको उक्साहटमा परि प्रक्रियालाइ स्विकार नगर्ने हो कि ? भन्ने आशंकाका बावजुद फोन सम्पर्कबाट अजय रिजालसंग प्रक्रिया प्रस्तावको धारणा संकलन गरी प्रक्रिया प्रस्ताव पारितका लागि सयुक्त वैठकको तिथि, मिति तय गरिएको थियो । प्रक्रिया प्रस्ताव पारित गर्ने मिति भन्दा २ दिन अगाडी भारतबाट अजय रिजाल आईपुगे ।
अजय रिजालसंग द्वन्द्वको ऐतिहासीक पृष्ठभूमि, विगतमा भएका प्रयासहरु, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले अबलम्बन गर्दैै आइरहेको प्रकृया, हालसम्म द्वन्द्वमा गरिएका प्रक्रियागत क्रियाकलापहरुको बारेमा अन्तरंग कुराकानी गरे पछि सोचे भन्दा फरक अजय रिजाल द्वन्द्व रुपान्तरण प्रति अत्यन्तै आतुर रहेको पाइयो । रोजगारीको कारण पटक पटक समय दिन नसक्ने भएकोले प्रक्रिया केही छोट्याउन भन्दै भानुभक्त मा.वि.को विकासको लागि आफुले जोतभोग गर्दै आएको जमिन छोडीदिने । आफ्नो जमिनमा जानको लागि उपयुक्त निकास (आफूले भने बमोजिमको आफ्नो जमिनमा जाने बाटो पाए) आफ्ना छोरा छोरी इन्जीनियरिङ्ग गरिरहेकाले यहाँका विद्यार्थीले उच्च शिक्षा अध्ययान गर्न पाउनुपर्छ त्यसमा आफूले पनि सकेको योगदान पुरयाउने विचार व्यक्त गरे । साथै भानुभक्त मा.वि.दुवैको भएकोले प्रक्रिया प्रस्ताव र साझा सवाल एकैपटक पारित गरे हुने सुझाव समेत आएकोले पुनः विद्यालय व्यवस्थापन समितिसंग छलफल गरी प्रक्रिया प्रस्ताव र साझा सवाल पारितका लागि सयुक्त वैठक एकैपटक गर्ने समझदारी भयो । समझदारी अनुरुप २०७२ चैत्र २० गते भानुभक्त माध्यामिक विद्यालयको प्राङ्गणमा करिव १ सय ५० जना भन्दा बढिको सहभागितमा भव्य र सभ्य रुपमा मगरागाडीका राजनीतिक दलहरुका प्रतिनिधिहरु गा.वि.स.का कार्यबाहक अध्यक्ष/सचिव, सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा प्रक्रिया प्रस्ताव तथा साझा सवाल पारित सयुक्त वैठक संम्पन्न भयो ।
प्रक्रिया प्रस्ताव र साझा सवाल पारित कार्यक्रम पश्चात द्वन्द्व रूपान्तरण सहयोगि माकुरा समूहको वैठक वसी विकल्प पहिचानको लागि द्वन्द्वरत पक्षहरु तथा सरोकारवालाहरुको धारणा संकलन भयो । संकलित धारणाहरुको विश्लेषण गरी साझा विकल्प पहिचानको लागि पुनः धाराणा संकलन भयो । साझा विकल्पमा प्रारम्भीक समझदारी निर्माण साझा विकल्प पारितका लागि सयुक्त वैठकको मिति तय गरी संयुक्त वैठकको तयारी भयो । बैसाख २० गते माकुरा समूहको आयोजनामा द्वन्द्वरत पक्षहरुका प्रतिनिधिहरु, सरोकारवालाहरुको सहभागितामा विकल्पको खेस्रालाई अन्तिम रुप दिईएको थियो । २०७३ वैसाख २१ गते जिल्ला शिक्षा कार्यालय बर्दियाका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको प्रमुख आतिथ्यतामा भव्य समारोहको बिचमा सहमति पत्रमा हस्ताक्षर गरी विगत लामो समयदेखिको द्वन्द्वलाई बिधिवत रुपमा अन्त्य भयो । सहमति पत्रमा उल्लेख भए बमोजिमको सहमति कार्यान्वयन समिति गठन भई सहमति कार्यान्वयनको प्रक्रिया अघी बढिसकेको छ । अहिले सिउनीया गाउँ शान्त छ, सहमति कार्यान्वयनको लागि प्रतिबद्ध छ, समझदारी, सहमति, सहकार्य र संस्कृति विकासको लागि प्रयत्नशिल रहेको छ ।