बर्दियाको बढैयाताल गाउँपालिका–३ सोरहवामा वनको क्षेत्रफल र दर्तालाई लिएर गहिरो विवाद थियो । विवाद वनमा मात्र सिमित थिएन, गाउँलेका मन मनमा थियो । गाउँमा सामाजिक एकता र धार्मिक सद्भाव पनि खल्बलिएको थियो । तर आज त्यही गाउँमा २६ वर्षदेखिको सामुदायिक वनको सपना र १५ वर्षदेखिको संरक्षण प्रयासले मूर्त रूप लिएको छ । माकुरा समूहको सहजीकरणमा द्वन्द्व रुपान्तरण हुँदै कमलाधाम महिला सामुदायिक वन दर्ता हुन सफल भएको छ ।
बालुवाको वगर देखि घना वन सम्म
यो कथाको सुरुआत मानखोलासँग जोडिएको छ । मानखोलाले पश्चिमतिर बहाव फेर्दा सोरहवा गाउँको पूर्वतर्फ ठूलो बगर बन्यो । आजभन्दा करिब चार दशकअघि त्यो ठाउँ उराठलाग्दो बालुवाको बगर मात्र थियो । न हरियाली थियो, न छायाँ ।
बढैयाताल–३ पिपलपुरका ७२ वर्षीय अम्मर थारु त्यो समय सम्झिँदै भन्छन्, ‘पहिले खाली बालु रहे । खुब मुंगफली लगाइ (पहिले बालुवा मात्र थियो । हामी धेरै मुंगफली लगाउँथ्यौं)’ । सेताम्य कपाल, दाह्री र जुँगाबीच उनको आँखामा आजको वनको चमक देखिन्छ । उनी थप्छन् ‘अब तो घमासान बनुवा हुइगिल । बह्रा बह्रिया हुइल । छोट्की बघुवा, बँदेल व चित्तल आइठै । (अब त घना वन भएको छ । धेरै राम्रो भयो । चितुवा, बँदेल र चित्तल आउँछन्) ।’
अहिले वनमा सिसौं, सगुन, सिमल, बुबुर, बाँस, आँप, अमला, अम्बालगायत ३० हजारभन्दा बढी बिरुवा हुर्किरहेका छन् । बगरको बालुवामा उम्रिएको यो वन केवल रूखहरूको जमघट होइन । यो सामूहिक त्याग, धैर्य र विश्वासको परिणाम हो ।
वन दर्ता भएपछि संरक्षणका लागि डिभिजन वन कार्यालय बर्दियाले झन्डै १३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । गत वर्ष मात्र १२ लाख ५० हजार रुपैयाँको लागतमा वनको पूर्व, पश्चिम र उत्तरतर्फ तारबार गरिएको छ । उत्तरतर्फ झन्डै ६० मिटर र दक्षिणतर्फ केही भागमा मात्र तारबार बाँकी छ । दक्षिणतिर अर्काे मानझुण्डी सामुदायिक वन जोडिएको छ । दुई बिघा क्षेत्रफलमा बागबानी क्षेत्र विकास गरिएको छ । फलफूलका बिरुवा, मलखाद र वृक्षारोपणमा पनि डिभिजन वनकै सहयोग रह्यो । अब फलफूल खेती वनको दिगो आम्दानीको स्रोत बन्ने आशा गरिएको छ । यस वर्ष पनि वृक्षारोपण र गोडमेलका लागि थप ७० हजार रुपैयाँ डिभिजन वनबाट प्राप्त भएको छ ।
यो वन मानखोला किनारको त्यो बगरमै बनेको हो, जहाँ स्थानीयले वर्षौँदेखि जोतभोग गर्दै आएका थिए । व्यक्तिगत प्रयोगमा रहेको जग्गा सामूहिक हितका लागि वनमा मिसाइयो । अम्मर थारुले पनि आफूले जोतभोग गरेको जग्गा वनलाई दिए । धार्मिक पृष्ठभूमि भएका थारु समुदायमा उनी अम्मरदास उदासी महन्तजीका नामले चिनिन्छन् । हक्की स्वभाव, स्पष्ट बोली र राजनीतिक तथा प्रशासकीय पहुँच भएका व्यक्ति । तर उनले सबैभन्दा माथि गाउँको भलो देखे । ‘सबैले दिन थाले । गाउँको भलो हुन्छ भनेर मैले पनि दिए । राम्रो वन बनेको छ । म धेरै खुसी छु,’ उनी सन्तोषका साथ भन्छन् ।
तर यो यात्रामा सबै कुरा सहज थिएन । २०५५ सालदेखि मानको बगरलाई वन बनाउने प्रयास सुरु भएको थियो । २०६६ सालमा समिति बनाएर संरक्षण थालियो । सामुदायिक वनको सपना देखेको २६ वर्ष बितिसकेको थियो । संरक्षण थालेको १५ वर्ष भइसकेको थियो । तर वनको क्षेत्रफल र दर्तालाई लिएर विवाद यथावत् थियो । बडघर, वडा कार्यालय र पालिकाको न्यायिक समितिसम्म पुगेका प्रयासहरू पनि सफल हुन सकेका थिएनन् ।
विवाद वनमा मात्र सिमित थिएन, गाउँलेका मन मनमा थियो । विवाद यति गहिरो थियो कि छलफलका बैठकमा गाउँले बस्नै चाहँदैनथे । बसे पनि अडान छोड्दैनथे । कटुता बढ्दै गयो । सामाजिक सम्बन्ध चिसिँदै गयो । यही अवस्थामा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सहजीकरणमा गठन भएको माकुरा समूहले १४ महिना लगाएर गाउँकोे बहुसरोकारवाला द्वन्द्व रुपान्तरण गर्न सफल भएको समूूहका संयोजक सरला थारुले अनुभव सुनाइन् । विगतको बगर अब कमलाधाम महिला सामुदायिक वन उपभोक्ता समूह बनेको छ । यो सजिलो थिएन, तर सम्भव भयो ।
अहिले सोरहवा गाउँको पूर्वतर्फ मानखोलाको किनारैकिनार हुँदै दक्षिणमा हुलाकी राजमार्गसम्म जोडिएको अंग्रेजी ‘यू’ आकारको कमलाधाम महिला सामुदायिक वन फैलिएको छ । हिजोको सुख्खा बगर आज हराभरा र घना जंगल भएको छ । वनभित्रै कमलाधाम नामको शिव मन्दिर पनि छ त्यो ठाउँ अब शान्त, रमणीय र आकर्षक बनेको छ । विस्तारै पर्यापर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ ।
बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी कमलाधामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँछन् । ‘कमलाधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन र मन्दिर निर्माणमा गाउँपालिकाले सहयोग गर्नेछ,’ उनी भन्छन् ।
आज उजाड बगर हरियाली वनमा बदलिएको छ । तर यो परिवर्तन आकस्मिक होइन । यसका पछाडि दशकौँको संघर्ष, त्याग, संवाद र सहकार्यको लामो कथा छ ।
गहिरो विवाद र पुरानो प्रयास
बर्दियाको मानखोला किनारको बालुवाको बगरमा २०३९/०४० सालतिर भारतको लखिमपुरबाट कमलापति मिश्रा (कमल शर्मा) दम्पत्तिले बसाइँ सरे । उनले यहाँ घर बनाएर केही वृक्षारोपण गरे । त्यसपछि स्थानीय थारु समुदायका केही व्यक्तिहरूले पनि बगरमा बसाइँ सुरु गरे र बस्तीलाई कमलापुर नाम दिइयो । २०४५ सालपछि बगरमा झन्डै एक दर्जन थारु किसानले जोतभोग थाले । त्यही समय स्थानिय दीपज्योति क्लबले बगरमा मुंगफली खेती गरेको शारदा माध्यमिक विद्यालयका शिक्षक घनश्याम चौधरी बताउँछन् । क्लबको फुटबल मैदान पनि यहाँ थियो ।
२०५५/०५६ मा दीपज्योति युवा क्लबका तत्कालीन अध्यक्ष रामप्रसाद थारुले सामुदायिक वन बनाउने प्रस्ताव राखे । तर बालुवाको बगर भएकाले बिरुवा नउम्रिने डरले बैठक स्थगित भयो । त्यसबेला सरकारले २०४५ सालमा ‘वन विकास गुरुयोजना’ ल्याइसकेको थियो र २०५२ सालदेखि सामुदायिक वन हस्तान्तरणको प्रक्रिया सुरु भइसकेको थियो । २०५४ सालतिर सदरमुकाम गुलरिया लगायत जिल्लाका विभिन्न गाउँ विकास समितिमा सामुदायिक वन दर्ता र हस्तान्तरण भइरहेका थिए । थारुले बगरलाई सामुदायिक वन बनाउन वृक्षारोपण गर्ने योजना बनाए । गाउँलेको भेला डाके । बालुवाको वगर भएकाले विरुवा नउम्रिने भन्दै वृृक्षारोपणको योजना विफल भयो ।
दैवले तँ चिता म पुर्याउँछु भने झैं खोलाले बगाएका, चराले बिस्ट्याएका र हावाले उडाएर ल्याएका बिउबाट बगरमा बोटविरुवा उम्रे । आफै वन बन्यो । वनको किनारको जग्गा भने झन्डै स्थानीयले जोतभोग गरि नै रहे ।
२०६६ सालमा क्लबकै पहलमा दीपक थारुको नेतृत्वमा मानको बगर सामुदायिक वन उपभोक्ता समूह गठन भयो । तर जोताहा किसानले जग्गा छोड्न नमान्दा समितिले काम गर्न सकेन ।
१० माघ २०७१ मा सोरहवाका अन्दाजी १२ वर्षका बालक सन्जिवकुमार थारुले कमलापुरमा खेल्ने क्रममा पिपलको जरामा सानो शंख आकारको बस्तु देखे । जसलाई भगवान विष्णुको स्वरुप देखा परेको भनेर प्रचार गरियो । टाढा टाढाबाट दर्शनार्थी आए । गाउँका अम्बरदास थारुको नेतृत्वमा एउटा समिति बनाई तत्काल अस्थायी मन्दिर बनाइयो । मन्दिरमा सोही वर्ष शिवरात्री पर्व बडो धुमधाम साथ मनाइयो । २०७२ जेठ ५ गतेदेखि ७ दिने श्रीमद्भागवत कथा सप्ताह कमलापुरमा सञ्चालन गरियो र कमलापुरको नाम फेरेर कमलाधाम राखियो ।
एक दशक वन समिति विहीन थियो । ३ असार २०७६ मा रमेश थारुको नेतृत्वमा कमलाधाम सामुदायिक वन समिति गठन भयो । वन समितिको आर्थिक भार बडघर समितिले बहन गर्यो । वनमा वृक्षारोपण गर्ने निर्णय भयो । उक्त भेलाले वगर फडानी गरी भोगचलन गरी आएका किसानहरुलाई वृक्षारोपण कार्यलाई सफल बनाउन र भोग चलन गरी आएको बगर क्षेत्रको जग्गा वनलाई दिन अनुरोध गर्यो । केही जोताहा किसानले सहज रुपमा जग्गा वनलाई दिए । श्रमदानमा वनमा वृक्षारोपण भयो ।
बढैयाताल गाउँपालिकाबाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत झाडी सफा पनि गरियो । जिल्ला वन कार्यालय बर्दियाबाट प्राविधिक निरीक्षण गरी वनको नापनक्सा भयो । गाउँपालिकाको अमिनबाट दर्तावाला आवादी जग्गा र बगर क्षेत्रको जग्गा छुट्टयाई सिमाङ्कन गरियो । २०७६ सालमै जिल्ला वन कार्यालय बर्दियाबाट कमलाधाम वन क्षेत्रको पूर्व, उत्तर र दक्षिणमा काँडे तारबार लगाउन सहयोग भयो । २०७९ साल कार्तिकमा वन उपभोक्ताको आमभेला बोलाइयो । योजना प्रस्तुत हुन नपाउँदै विवाद उत्पन्न भएपछि भेलाले कुनै निर्णय गर्न सकेन । वन समूहका अध्यक्ष कौशलप्रसाद थारु सामुदायिक वन दर्ता र हस्तान्तरणका विषयमा उपभोक्ताहरु विभाजित भएको बताउँछन् । जोताहा किसान जग्गा छोड्न तयार भएनन् । गाउँ नै तीन गुटमा विभाजित भयो ।
बढैयाताल–३ को बर्कागाउँ, दौलतपुर, पिपलपुर र मास्टरटोलका २३५ घरधुरी धार्मिक र सामाजिक पहिचानका आधारमा विभाजित भए । संसारी थारु, कविरपन्थी, सीतारामवाला र जयगुरुदेव अनुयायीबीच अविश्वास बढ्यो । कमलाधाममा मन्दिर भएकाले सीतारामवालाले सुरुमा वन जोगाए । उनीहरुलाई मठ मन्दिर चाहिन्थ्योे । पछि स्थानीयले जोतभोग गरेको जग्गा दिनुपर्छ भनेपछि उनीहरु विरोधमा उत्रिए । जय गुरुदेव र वैरागवाला वन दर्ताको पक्षमा उभिए । गाउँलेका थरीथरी मत भए ।
वन समूहका अध्यक्ष थारु विगतको अनुभव सुनाउँछन्, ‘सामुदायिक वनका कारण गाउँ विखण्डित थियो । हाम्रै दाजुभाइबीच बोलचाल थिएन । घरपरिवारमा पनि एकता थिएन । गाउँमा कुलो, सडक, मर्नीकर्नीमा बेगारी जान मान्दैनथे । गाउँका तीन धार्मिक समूहबीच द्वन्द्व थियो ।’ यिनै विवादका कारण सामुदायिक वन दर्ता हुन सकेको थिएन ।
माकुरा समुहको प्रबेश
१२ कार्तिक २०८० मा बढैयाताल गाउँपालिका वडा नं. ३ कार्यालयले विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाललाई पत्राचार गर्याे । संस्थाका राष्ट्रिय स्रोत व्यक्ति मजिउल्ला खाँ गाउँ आइपुगे । ‘दाजुभाइबीच बोलचाल बन्द थियो । एक अर्कालाई सांंघातिक आक्रमण गर्र्ने धम्की दिइरहेका थिए ।’ खाँ सम्झन्छन् । ‘भगवान आए पनि मिल्दैन भन्थे ।’
तर उनले हार मानेनन् । द्वन्द्वको नक्साङ्कन भयो । जसको समस्या, उसैबाट समाधान खोज्ने सोचमा ‘माकुरा समूह’ गठन गरियो । सरला थारुको संयोजकत्वमा बनेको यो समूहलाई तीन दिने क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम दिइयो ।
माकुरा समूह बिहान, दिउँसो, साँझ छलफलमा जुट्यो । माकुरा समूहका संयोजक सरला थारु विवाद समाधान गर्न १४ महिना लागेको बताउँछिन् । निरन्तरको छलफलले एकले अर्कोलाई सुन्ने सुनाउनुका साथै बुझ्ने बुझाउने प्रयास गरियो । धेरै प्रयासपछि सहमतिमा ल्याउन सफल भयौं ।’
माकुरा समूहको दर्जनौं पटकको छलफलपछि एउटै निष्कर्षमा सबै आइपुगे । वन भावी पुस्ताको वरदान हो । मानखोलाको कटान रोकिन्छ । आफ्नै नम्बरी जग्गा जोगिन्छ ।
अन्ततः २९ माघ २०८० मा विवादमा संलग्न पक्षहरुमाझ सात बुँदे सहमति भयो । सहमति अनुसार कमलाधाम मन्दिरका लागि दुई विघा जग्गा छुट्ट्याइयो । शव गाड्ने क्षेत्र र जलाउने ठाउँको व्यवस्था भयो । वनको पश्चिमी सिमाना तारबार गर्ने, फारलाइन निकाल्ने, वनको नाम ‘कमलाधाम महिला सामुदायिक वन उपभोक्ता समूह’ राखी २०८० फागुन ३० सम्ममा दर्ता हस्तान्तरण गरिसक्ने निर्णय भयो । सहमति कार्यान्वयनको लागी ५ सदस्यीय कार्यान्वयन समिति तथा ३ सदस्यीय अनुगमन समिति पनि बन्यो ।
सहमति कार्यान्वयन र नयाँ अध्याय
१ वैशाख २०८१ सम्म विधान र कार्ययोजना तयार भयो । २२ जेठ २०८१ मा डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजय सुवदी आफै आएर वन हस्तान्तरण गरे । वन हस्तान्तरण हुँदा गाउँ उत्सवमय भयो । माघी नै आएको जस्तो थियो । वर्षौ पछि सिंगोगाउँ सँगसँगै नाँच्यो । यो क्षण सबैका लागि अविस्मरणीय बन्यो । वन क्षेत्र ११ हेक्टबाट बढेर १४।७३ हेक्टर पुग्यो ।
लामो समयदेखिको गाउँको द्वन्द्व रुपान्तरण भएको छ । गाउँका सबै जना वनका उपभोक्ता भएका छन् । महिलाको नाममा वन दर्ता भएर हस्तान्तरण भइसकेको छ । सहमति अनुुसार कार्य समितिमा महिलाको बाहुल्यता भए पनि पुरुषले नेतृत्व गरेका छन् । एक कार्यकाल सिकेर आगामी नेतृत्व लिन महिला तयार भइसकेका छन् । गाडीको महिला सिटमा बसेको ठानिरहेका पुरुषले पनि नेतृत्व हस्तान्तरण गर्न इच्छुक देखिन्छन् ।
वनमा वृक्षारोपण र तारबार भएको छ । दुई बिघा जमिनमा आँप, अमला, अम्बालगायतका फलफूल रोपेर बागबानी बनाइएको छ । अमला फल्न थालेको छ ।
कमलाधाम सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनामा विपन्न अति विपन्न वर्गको आयआर्जनलाई सीप तथा क्षमता विकास गरी व्यवसाय सन्चालन गर्न १० प्रतिशत भन्दा कम ब्याजदरमा घुम्तीकोषको व्यवस्था गर्ने उल्लेख छ । त्यसैगरी स्थानीय तहसँग सहकार्य गरेर लघुउद्यम विकास गर्न सालको टपरी उत्पादन, ढकिया निर्माण र बेतबाँसका बस्तु उत्पादन गर्ने लक्ष्य राखिएको छ । जग्गा दाता किसानलाई सम्मान गर्ने योजना बनाएको छ । भविष्यमा वन उपयोगी हुनेमा स्थानीय आशावादी छन् ।
वन समूहका कोषाध्यक्ष निशा थारु सामुदायिक वनले आम्दानी लिन थालिसकेको जानकारी दिन्छिन् । गत वर्ष वनले सेठाका लागि गाउँलेलाई १०० रुपैयाँ र बाहिरकालाई २०० रुपैयाँमा पूर्जा काटेको थियो । वनमा अर्गानिक खेती गर्ने योजना पनि सुनाउँछिन् ।
बडघर राजकुमार थारु भन्छन्, ‘पहिले बेगारीमा १५–२० जना पनि आउँदैनथे । अहिले गाउँका सबै जना बेगारी जंगल, कुलो, सडकमा सक्रिय छन् ।’
थारु बस्तीमा हरेक वर्ष माघमा नयाँ बडघर चुनिन्छ । गाउँमा वडघर हुन कोही मान्दैनथे । दशौं वर्षदेखि एकै जना बडघर थिए । विवाद समाधान भएपछि अहिले नयाँ बडघर चुनिएका छन् । पूजापाठ, भोज भण्डारा र अन्य सामूहिक कार्यमा सबैको सहभागिता देखिन्छ । मनीकर्नीमा त गाउँ एक भएको छ । सामूहिक कार्य पहिलेकै अवस्थामा फर्र्किएको छ । वढ बढैयाताल–३ का वडा सदस्य बिसानी थारुले भन्छिन्, ‘भण्डारा वा चन्दा उठाउँदा सबै धर्म सम्प्रदायका मानिसहरू सहयोग गरिरहेका छन् । गाउँमा सामूहिक कार्य फेरि सक्रिय भएको छ ।’
माकुरा समूहमा रहेर विवाद रुपान्तरणमा लागेकाहरु नै कमलाधाम महिला सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा पुगेका छन् । कार्यसमितिमा ७ जना माकुरा समूहका सदस्यहरु छन् । यहाँ सुरुमा वन समूह बनाउँदा कार्यसमितिमा सबै पुरुष मात्र थिए । तर हाल ५४.५४ प्रतिशत महिला छन् ।
कमलाधामको विवाद जित–जितको अवस्थामा समाधान भएको छ । छिमेकी सामुदायिक वन मानझुन्डीका अगुवा हरिबहादुर घर्ती भन्छन्, ‘अहिलेसम्म कसैले विरोध गरेको छैन । पहिले विरोध गर्नेहरू पनि वनबाट लाभान्वित भएका छन् । सबैको हित सुनिश्चित भएको छ । सोरहवाको द्वन्द्व रुपान्तरण देशका अन्य ठाउँका लागि पनि प्रेरणा हुनेछ ।’
सोरहवाको यो यात्रा वनबाट सुरु भएर मनसम्म पुगेको छ । उजाड बगर हरियो जंगल बनेको छ । छुट्टिएका मन फेरि जोडिएका छन् । यही हो कमलाधामको सफलता । यही हो माकुरा जालोले बुनेको सामूहिक जितको कथा ।