मान्छेले भोगचलन गर्दै आएको जग्गालाई लिएर झगडा परेका किस्सा त हामी रोजै सुन्छौं, तर कहिलेकाहीँ मान्छे मरेपछि सदगद् गर्न छुट्याइएको जमिनका लागि पनि ठूलै झगडा पर्छ ।
यो यस्तै एउटा झगडाको कथा हो ।
आजभन्दा चार वर्षअघि सिन्धुपाल्चोकको पाखर गाउँमा एक जना व्यक्तिले जंगलको एउटा रूख काटे । ‘राते’ नामले चिनिने ती व्यक्ति बोल्न सक्थेनन् । शारीरिक अपांगता भएका उनले आफ्नै सुरमा रूख काटे र हिँडे । तर पाखर गाउँ त्यही ढलेको रूखको हाँगोमा लामो समय अड्किएर बस्यो ।
त्यो रूख कसको जमिनमा पर्छ भन्ने गलफत्तीले गाउँलेहरू एकअर्कासँग भिड्न तयार भए । रूख काट्दा तेरो कि मेरोबाट सुरू विवाद बढ्दै बढ्दै मान्छे काटमारको कुरासम्म पुग्यो ।
विवादमा दुई पक्ष थिए — एउटा विद्यालय समूह, अर्को सामुदायिक वन र स्थानीय बासिन्दाको समूह ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ मा पर्ने पाखर गाउँमा तामाङ समुदायको बाहुल्य छ । रातेले रूख काटेपछि सुरूमा संसारीमाई माध्यमिक विद्यालय त्यो रूख आफ्नो जग्गामा पर्छ कि भनेर नाप्न अघि सर्यो । उसले अमिन बोलाएर जमिन नाप्न लगायो ।
यो विद्यालयको जमिनसँगै जोडिएको छ, लामाचौर सामुदायिक वन । यही वनभित्र स्थानीय समुदायले आफ्ना आफन्त र प्रियजनको अन्तिम संस्कार गर्दै आएको चिहान छ ।
संसारीमाई विद्यालयले जमिन नाप्दै जाँदा उक्त चिहान भएको ठाउँ पनि आफ्नै क्षेत्रमा पर्ने देखायो । मृत्युजस्तो संवेदनशील भावना जोडिएको ठाउँलाई अरूले आफ्नो स्वामित्वमा लिन खोजेपछि पाखर गाउँका स्थानीय आक्रोशित भए ।
लामाचौर सामुदायिक वनले पनि स्थानीयको कुरामा सहमति जनायो र आफ्नो जग्गासमेत विद्यालयले हडप्न खोजेको आरोप लगायो ।
आरोपै आरोपले विवादको आगो सल्कायो । छँदाखाँदाको सुमधुर सम्बन्धमा डढेलो लाग्यो । एकअर्काप्रतिको सम्मान, सद्भाव र सहयोग सबै खरानी भए । चिहानको निहुँमा बिस्तारै स्थानीय बासिन्दाको मन पनि चिहानजस्तै चिसो भयो ।
दुई पक्षका व्यक्तिहरू एकअर्कालाई देखी सहन्नथे । नाम सुन्दासमेत झोँकिन्थे । आफ्ना र आफन्तहरू वैरी बने । उनीहरू गाउँको कुनै मोडमा भेट नहोस् भनेझैं गरी तर्की तर्की हिँड्न थाले । देखभेट भइहाले रिसले रगत उम्लिन्थ्यो र उनीहरू रगतको नातासमेत बिर्सिन्थे । तथानाम गालीगलौज हुन्थ्यो । यसरी–उसरी मार्छु भन्नधरि कसैले बाँकी राखेनन् ।
आफ्नो समुदायको चिहानमाथि विद्यालयले खेलबाड गरेको स्थानीयको भनाइ थियो । उनीहरू यतिसम्म भन्थे, ‘यो स्कुलले हाम्रा पितृहरूको अपमान गर्यो । परापूर्वकालदेखि हामीले चिहान बनाउँदै आएको ठाउँ हडप्न खोज्यो । त्यसैले यो स्कुलमा हामी हाम्रा बालबच्चा पढाउँदैनौं । बरू पर्यो भने स्कुल नै बन्द गरिदिन्छौं । अनि हाम्रा समुदायका मान्छेको शव लगेर स्कुलको आँगनमै जलाउँछौं । चिहानजस्तो ठाउँको जग्गा खान खोज्ने?’
पाखर गाउँमा अविश्वासले घेरा हालिसकेको थियो । कसैले कसैमाथि भरोसा गर्थेनन् । त्यसैले छलफलको वातावरण भएन । के कसो गर्न सकिन्छ भनेर कुराकानी गर्ने अवस्थै बनेन । एकअर्काप्रति आरोप र प्रत्यारोपको शृंखला मात्र बढिरह्यो ।
‘सम्बन्धित पक्षहरूबीच छलफल हुन नसक्दा विवादले ठूलो रूप लिँदै गयो,’ संसारीमाई माविका प्रधानाध्यापक तेजबहादुर भण्डारीले भने ।
गाउँको संवेदनासँग जोडिएको विवादलाई लिएर काटमारकै अवस्था बनिसक्दा पनि समाधानको बाटो पहिल्याउन कोही कस्सिएनन् । कोही कोही त उल्टो दन्किरहेको झगडाको आगोमा घिउ थप्दै थिए । कोही भने केही भन्न र गर्न नसकेर आफ्नै मन जलाइरहे ।
पाखर गाउँले आफ्नो मान्छे आफ्नो नहुँदाको पीडा झेलिरहेको थियो । गाउँले सुल्झाउन नसकेको विवादमा उनीहरूको एउटै आश थियो– अब अदालतका न्यायाधीशले नै यसको छिनोफानो गर्नेछन्!
तत्कालीन वडाध्यक्ष बयानबहादुर तमाङलाई पनि यही लागेको थियो ।
‘विद्यालय र सामुदायिक वन तथा स्थानीयको विवाद सार्वजनिक सरोकारको विषय थियो । चिहानसँग जोडिएकाले मान्छेहरूको भावनाको कुरा पनि भयो । कुनै पक्ष पछि हट्नेवाला थिएन । कुरा गर्नै नमान्ने, भेट हुँदा पनि कुस्ती खेलेपछि मात्र कुरा सुरू हुन्थ्यो । त्यसैले वार्ताबाट यो समाधान हुनु अकल्पनीय थियो,’ वडाध्यक्ष बयानबहादुरले भने ।
केही समयपछि यो विवाद लिसंखुपाखर गाउँपालिकाको न्यायिक समितिमा पुग्यो ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा न्यायिक समिति संयोजक हेमगंगा मोक्तानलाई कठिन प्रकृतिको यस्तो विवादमा कसरी काम गर्ने भन्ने अन्यौल भयो ।
‘वनको सिमाना र चिहानसम्बन्धी विवादबारे न्यायिक समितिमा उजुरी परेपछि मैले के रहेछ भनेर त्यहाँको अवस्था अध्ययन गरेँ,’ उनले भनिन्, ‘द्वन्द्व एकदमै गम्भीर रहेछ । दिनकै झन् भन्दा झन् द्वन्द्व बल्झिँदै गएको थियो ।’
तैपनि उनी आफ्नो ठाउँको विवाद आफ्नै क्षेत्रमा मिलाउने भनेर अघि सरिन् । गाउँपालिकाले निकै पहल र प्रयास ग¥यो । गाउँलेहरूबीच छलफल गराएर कुरा मिलाउन खोज्यो । तर कसैले अडान नछाडेपछि उनको के लाग्थ्यो!
न्यायिक समितिले विवाद समाधान गर्नै नसक्ने देखेर सहजीकरण निम्ति प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाललाई अनुरोध ग¥यो ।
यो संस्थाको काम नै प्राकृतिक स्रोतका कारण गाउँ–समाजमा भएका विवाद समाधान गर्नु हो । यो काम गर्न संस्थाको आफ्नै चरण, विधि र प्रक्रिया हुन्छ । प्रत्यक्ष रूपमा आफू गाउँलेहरूबीच उभिएरभन्दा पनि जसको समस्या हो उसैका माध्यमबाट समाधान गरिन्छ ।
विवादमा सम्मिलित सबै पक्ष समेटेर २०७६ वैशाख ८ देखि संस्थाले द्वन्द्व रूपान्तरणको काम सुरू गर्यो । यस क्रममा समुदायका सदस्यहरू छानेर ‘माकुरा’ समूह बनाइयो । यो समूहमा द्वन्द्वमा संलग्न पक्ष तथा सरोकारवालाको आ–आफ्नो समूहले पत्याएका, अर्काको कुरा सुन्न र आफ्नो कुरा भन्न सक्ने, निष्पक्ष सहजीकरण गर्न सक्ने प्रतिनिधिहरू हुन्छन् ।
जसरी माकुराले आफ्ना रेसाहरू एकएक विन्दुमा जोडेर जालो समेट्न सक्छ, यो समूहका सदस्यले पनि त्यसरी नै समाजलाई समेट्छन् । यही अवधारणाअनुसार समूहको नामकरण गरिएको हो ।
सुरूमा माकुरा सदस्यहरूलाई संस्थाले तालिम दिएर विवादमा कसरी काम गर्ने भनेर सीप सिकाउँछ । यति गर्दा पनि उनीहरूलाई समुदायमा काम गर्न सहज हुँदैन । अनेक आरोप आउँछन्, गाली खेप्नुपर्छ । फाटेका मन समेटेर सिलाउने काम हिमाल चढ्नुभन्दा कष्टकर हुन्छ ।
माकुरा सदस्यहरू आयुषी तामाङ र रञ्जिता नेपालका अनुसार त्यहाँ स्कुलले चिहान क्षेत्रको जम्मा २५–३० मिटर जमिन मिचेको भन्ने थियो । तर चिहान पक्षका समुदाय परापूर्वकालदेखि आफ्ना मान्छेलाई अन्तिम बासका लागि दिएको ठाउँ नै सकियो भन्दै विद्यालयको विरोधमा लागेका थिए ।
‘हामीलाई माकुरा सदस्य छान्दा सुरूमा त डर लाग्यो । अदालतमा मिलाउनुपर्ने विवाद हामीले कसरी मिलाउन सकौंला भन्ने थियो,’ आयुषी र रञ्जिताले भने, ‘विवाद यति ठूलो र गम्भीर थियो, हामीले समुदायमै कुराकानीबाट मिलाउन सकौंला भनेर कल्पनै गरेनौं । कामको बीचमा पनि कतिको कुरा सन्दा बीचमै सबै छाडेर हिँडू जस्तो हुन्थ्यो ।’
यसरी संस्थाले निरन्तर सबै पक्षको सहभागितामा छलफल र बैठकहरू राख्यो । द्वन्द्वमा संलग्न सबै पक्षका सदस्यले आ–आफ्ना कुरा राखे । कहिलेकाहीँ नोकझोँक र विवाद भयो । आक्रोश र झडपकै स्थिति पनि आएको सहजकर्ता टिका सुवेदी बताउँछन् ।
टिका र उनका सहकर्मीहरू विवाद समाधानका निम्ति जाँदा सरोकारवाला केही स्थानीयले यस्तो पनि भनेका थिए, ‘यो विवादमा हात हाल्नु भनेको अरिँगालको गोलामा हात हाल्नु हो । तपाईंहरू फर्केर जानुस् । यहाँ रगतको खोला बग्न सक्छ । संस्थाले केही गर्न सक्दैन!’
धम्कीपूर्ण कुरा सुने पनि सहजकर्ताहरू हाँसेरै अगाडि बढे । केही मान्छेले त माकुरा समूह तहसनहस बनाइदिने भन्दै योजना पनि बुने । तर माकुरा सदस्यले एकजुट भएर त्यसको सामना गरे ।
उनीहरूको निरन्तर प्रयासले बैठकहरू अलि शान्त हुँदै गए । एकअर्काका अगाडि बसेर कुरा राख्दै जाँदा सबैको मनका कुरा खुल्दै गए । आ–आफ्ना माग र विचार प्रस्टिए ।
विवादको चुरो यही हो भन्ने भएपछि सहमतिका विकल्प पनि निक्लिँदै गए । कसरी सबैको चित्त बुझ्ने गरी अगाडि बढ्ने भनेर छलफल भयो । चार–पाँच महिनापछि झन्डै डेढ सय जना भेला भएर गाउँलेहरूले सहमति गरे ।
‘त्यो बैठक सम्झिँदा पनि रमाइलो लागेर आउँछ,’ विवाद सल्टाउन कस्सिएका सहजकर्ता टिकाले भने, ‘विभिन्न झाँकीसहितको सांस्कृतिक कार्यक्रम भएको थियो । मान्छेको बाक्लो उपस्थिति थियो । सबैको मुहारमा सन्तोक देखिन्थ्यो । पाखरको शान्ति अभियान वास्तवमै उचाइमा पुगेको महशुस भएको थियो ।’
उनका अनुसार त्यो दिनको भेला भव्य, सभ्य र उत्सवजस्तो रमाइलो थियो । सहमतिका बुँदाहरू सबैका अगाडि वाचन गर्दै जाँदा हरेकका आँखामा खुसी छचल्किएको उनले बताए ।
आखिरमा दुवै पक्षले सहमतिमा हस्ताक्षर गरे । एकअर्कालाई अँगालो हाले र त्यो दृश्यका साक्षीहरूले पररर ताली पिटे ।
‘भत्किएका विश्वासहरूको मिलन भएको थियो त्यो दिन,’ टिकाले भने, ‘सिंगो पाखर बस्तीले चिहानको निहुँमा सल्किएको झगडाको आगो निभाएर शान्तिको दियो सल्काएको थियो ।’
खासमा विवाद कसको सीमा कहाँसम्म भन्ने यकिन नहुनु मात्र थियो । नापी कार्यालयबाट अमिन आएर सीमा यकिन गरेपछि कुरै टुंगियो । स्थानीय समुदायले पाँच रोपनी जग्गा चिहानका रूपमा प्रयोग गर्न पाए । वन र विद्यालय पक्षको आ–आफ्नै सीमा तय भएपछि उनीहरू पनि शान्त भए ।
‘कहिल्यै नमिल्ने जस्तो देखिएको यो विवाद हामीले कुराकानीबाटै मिलाउन सफल भयौं । निरन्तर संवादले नै फाटेको मन सिलाउन सकिने रहेछ । विचलित नभई निरन्तर लागेपछि आखिरमा त्यो खुसीको दिन आयो । बिग्रिएका सम्बन्ध सुधारेर समुदायमा शान्ति फर्काउन पाउँदा हाम्रै मनमा ठूलो आनन्द अनुभव भएको छ,’ माकुरा सदस्य आयुषी तामाङ र रञ्जिता नेपाल भन्छन् ।
विवादको एक पक्ष संसारीमाई माविका प्रधानाध्यापक तेजबहादुर भण्डारी पनि केन्द्रले द्वन्द्व समाधान गरिदिएकोमा खुसी लागेको बताउँछन् ।
उनलाई अहिले छलफल र संवादबाटै यस्तो गम्भीर समस्या पनि हल हुन सक्छ भन्ने विश्वास भएको छ । छलफलमा सबैले आफ्ना कुरा राख्न पाएको र सबैले त्यसलाई बुझ्दै जाँदा रिसभन्दा मिलापतिर मन फिरेको उनले बताए ।
अहिले यहाँको सामाजिक दृश्य फेरिएको छ । दुई पक्षका मान्छेबीच राम्रो बोलचाल छ । घरमा आउजाउ छ । कर्म–पर्म चल्न थालेको छ । सामाजिक एकताको भाव देखिएको छ ।
वडाध्यक्ष बयानबहादुर तामाङका अनुसार यहाँ विवादका कारण रोकिएका कामहरू सुरू भएका छन् । विद्यालय भवन, चिहान, घर लगायत थुप्रै भौतिक संरचनाहरू बनिसके । समुदायमा कुनै पनि गतिविधि र निर्माण हुनुअघि छलफल हुन्छ । यस्ता छलफलमा समावेशी प्रतिनिधित्व हुन थालेको छ । सकेसम्म बढीभन्दा बढी व्यक्तिको सहभागिता र सहमतिमा काम हुन्छ ।
‘म त दंगै खाएको छु । अरू एनजिओहरू यहाँ कसरी आए र कसरी काम गरे मलाई थाहा छैन । तर यो प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले कसैलाई नछुटाई सबैसँग छलफल ग¥यो । आफ्ना योजना र बजेटबारे सबैलाई जानकारी दियो,’ वडाध्यक्ष बयानबहादुर भन्छन्, ‘यसको काम गर्ने तरिकाको सिकाइले मैले वडामा आउने सबै एनजिओलाई अचेल तपाईंहरूका योजना, बजेट के हुन् भनेर सोध्न थालेको छु ।’
उनका अनुसार समुदायले पनि केन्द्रको विवाद समाधान विधिमा विश्वास गर्न थालेको छ । नमिलेको ठूलो झगडा पनि छलफल र संवादबाटै समाधान गर्न सकिने रहेछ भनेर उनीहरूले बुझ्न थालेका छन् ।
लिसंखुपाखर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक हेमगंगा मोक्तानलाई पनि विवाद समाधानका लागि केन्द्रलाई सिफारिस गर्नु सही निर्णय रहेछ भन्ने लागेकोे छ । उनी आफैंले पनि केन्द्रको रूपान्तरण प्रक्रिया राम्रोसँग बुझ्न पाइन् ।
यो प्रक्रियाको सबभन्दा राम्रो पक्ष नै संवाद हो भन्ने उपाध्यक्ष हेमगंगालाई लागेको छ । त्यस्तै, सहजकर्ताहरू र माकुरा सदस्यहरूको लगन र धैर्यको पनि उनी प्रशंसा गर्छिन् ।
‘सहजकर्ता र माकुरा समूहका साथीहरूले भोकभोकै समय निकालेर यो द्वन्द्वमा सहजीकरण गर्नुभयो । धम्की र गालीमा कत्ति हच्किनुभएन । यो सबैका लागि हामी उहाँहरूप्रति एकदमै आभारी छौं,’ उनले भनिन्, ‘हाम्रो पालिकाभित्रको एकदमै ठूलो द्वन्द्व संवादका माध्यमबाट, सबैको चित्त बुझाएर समाधान भएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो ।’