संसारमा मानिसको शरीरका टुटेका अङ्गहरु सिलाएर जीवन बचाउने अस्पताल थुप्रै बनेका छन्। फाटेको मन सिलाएर जीवन बचाउने अस्पतालमा भने कसैको ध्यान पुग्न सकेको छैन। स्रोत साधन माथिको पहुँच र नियन्त्रण तथा आपसी चाहनाहरु फरक हुँदा मन फाटेकै कारण घरपरिवार देखि सिङ्गो समाज विभाजित छ। फाटेका मनको दरार बढ्दै जादा धेरैको जीवन समेत समाप्त भईरहेका घटनाहरु प्रशस्त छन्। एउटा विषयलाई लिएर हुने सानो विवाद भागिदै गई अन्ततः हिंसात्मक रुप लिनुको साथै ठूलो धनजनको क्षति भएको छ । गाउँ घरमा हुने यस्ता विवादहरु समाधान गर्नको लागि परम्परादेखि नै विभिन्न तरिकाहरु प्रयोगमा आएका छन्। विवाद समाधानका लागि गरिएका ती प्रयासहरूबाट बाहिर देखिएको विषमा समाधान खोजिएतापनि भित्री रुपमा टुटेको मन र सम्बन्ध जोडिन नसक्दा पुनः झगडा हुने र मनको घाउहरु झन गहिरिदै जाने गरेको पाइन्छ। जब मन फाट्ने क्रम बढ्दै जान्छ अनि मानिसहरु मर्ने र मार्ने तहसम्म पुग्दछन्। यस्ता विवादहरु व्यक्तिगत तहमा मात्र नभएर समुदाय स्तरमा पनि हुने गरेका छन्। अधिकांश बहुसरोकारवाला विवादहरु त प्राकृतिक स्रोत जल, जमिन र जङ्गल माथिको पहुँच र नियन्त्रणको विषयलाई लिएर हुने गरेको पाइन्छ। यस्ता विवादहरूले समुदाय स्तरमा आपसी ध्रुवीकरणको साथै विकास निर्माणका कामहरु समेत ठप्प भएका अवस्थाहरु छन्।
यस्ता सबै खाले विवादहरु जसलाई कानुनले मेलमिलाप गराउन मिल्ने भनी उल्लेख गरेको छ, ती सबैलाई निश्चित प्रक्रियाको अवलम्बन गरी मेलमिलाप गराउनको लागि यो संस्थाको स्थापना भएको हो। यसले वि.सं. २०७० असार १३ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई (दर्ता नं. १२२१) औपचारिक कानुनी मान्यता प्राप्त गरेको छ । यो संस्था समाज कल्याण परिषद्मा वि.सं. २०७० असार १६ मा (आबद्धता नं ३७४३०) आबद्ध भएको हो । दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ शान्तिपूर्ण र सुसंस्कृत समाज निर्माणमा संस्था क्रियाशील रहेको छ । शान्ति निर्माणको क्षेत्रमा कार्यरत यस संस्थालाई मेलमिलाप परिषद्बाट मेलमिलापसम्बन्धी ऐन, २०६८ को दफा २७ (ग) बमोजिम मेलमिलापसम्बन्धी तालिम सञ्चालन गर्न र र सोही ऐनको दफा २३ बमोजिम मेलमिलापसम्बन्धी कार्य गर्नको लागी स्वीकृति प्राप्त भएको छ । मानिसहरु बिचको फाटेका मनहरुलाई आपसी संवादको सियोले सिई विश्वासको धागोले टाँका लगाउनु पर्ने मान्यता संस्थाको रहेको छ। शन्ति निर्माणको यस अभियानमा तालिमप्राप्त दक्ष जनशक्ति (माकुरा र मेलमिलापकर्ता) फाटेका मन सिलाउने डाक्टर हुन भने गाउँघरमा खुलेका मेलमिलाप केन्द्र फाटेका मन सिउने अस्पताल हुन्।
"फाटेका मनहरुलाई आपसी संवादको सियोले सिलाई विश्वासको धागोले टाँका लगाऔँ"
दिगो विकासका १७ वटा लक्ष्य मध्ये मुख्य गरी लक्ष्य नं १६ र १५ प्राप्तीका लागी संस्थाका अभियानहरू केन्द्रित छन्। संस्थाको परिकल्पना, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि स्थापनाकालदेखिनै दि मेकाल फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण अभियान सञ्चालन हुँदै आएको छ। यसैगरी समुदायमा देखिएका अन्तरब्यक्तिगत विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गरि शान्ति निर्माण अभियानमा टेवा पुर्याउन संस्थाले मेलमिलाप अभियानको सुरुवात देशका सातवटै प्रदेशमा गरेको छ। यी अभियानमा दातृ निकायहरू, दि एसिया फाउन्डेसन, दि मेकानल फाउन्डेसन, र ह्युमेनिटी युनाईटेडको अलावा स्थानीय सरकारको सहयोग प्राप्त भएको छ। सुमदायमा देखा परेका विवादहरुमा सहजीकरणका साथै दक्ष जनशक्ति उत्पादन तथा न्याय सम्पादन सम्बन्धी क्षमता विकासका कार्यक्रमहरू संस्थाले सञ्चालन गर्दै आएको छ।