अँध्यारोबाट सुरु भएको जीवनयात्रा
सर्लाही जिल्लाको साविक कर्मैया गाविस वडा नं. ९ को दलित र गरिब विपन्न परिवारमा जन्मिएकी म, पार्वती विश्वकर्मा। बुवा नथु कामी र आमा अन्नकुमारीको पहिलो सन्तान। बुवाले साहुको घरमा ज्याला मजदुरी गरेर परिवार पाल्नुहुन्थ्यो भने आमा घर सम्हाल्नुहुन्थ्यो। एक कठ्ठा घरेडीमा उभिएको खरको छानो भएको झुप्रो घर नै हाम्रो संसार थियो। बर्खा लाग्दा छानोबाट पानी चुहिन्थ्यो, हिउँदमा चिसो हावा भित्र पस्थ्यो। तर त्यही घरभित्र हाम्रो सानो संसार बसिरहेको थियो।
म कक्षा तीनमा पढ्दै गर्दा आमाको स्वास्थ्य अचानक बिग्रियो। त्यसपछि घरको जिम्मेवारी मेरो काँधमा आयो। सानै उमेरमा मैले पढाइ छोड्नुपर्यो। घर चलाउन १२ वर्ष नपुग्दै ज्यालामजदुरी सुरु गरें।चौध वर्षको कलिलो उमेरमै विवाह पनि भयो।
विवाहको दुई वर्षपछि छोरी जन्मिइन्। तर त्यो खुसी धेरै दिन टिकेन। छोरी जन्मेको सत्र दिनमै मोटरसाइकल दुर्घटनामा परी श्रीमानको निधन भयो।
मेरो संसार एकाएक भत्कियो। सेतो पहिरनमा, काखमा नवजात छोरी बोकेर म माइतीघर फर्किएँ। त्यो पीडा अझै ताजा नै थियो, त्यसमाथि एक वर्ष नबित्दै बुवाको पनि हृदयघातबाट निधन भयो। त्यो दिनको दृश्य म आज पनि भुल्न सक्दिनँ। बुवाको शव ढाक्न कफन किन्ने पैसा समेत हामीसँग भएन। छरछिमेकीसँग सापटी माग्दा 'तिर्न सक्दैनन्' भनेर कसैले दिएन। अन्ततः गाउँबाट चन्दा र अन्न संकलन गरेर मात्र दाहसंस्कार सम्पन्न गर्न सकियो।
त्यसपछि मेरो काँधमा एकाएक ठूलो जिम्मेवारी आयो। बुढी आमा, दश वर्षकी बहिनी र एक वर्षकी छोरी- यी तीन जीवनको सहारा म मात्रै थिएँ। ज्यालामजदुरी गर्दै कहिले खाएर त कहिले भोकै बस्दै जीवन गुजार्नुपर्यो।
अँध्यारोको गहिराइ: मृत्युको दैलोसम्म पुगेको निराशा
मेरी आमालाई मुखबाट रगत आउने गम्भीर रोग लागेको थियो। एक दिन अचानक आमाले धेरै रगत बान्ता गर्न थाल्नुभयो। त्यो दृश्य देख्दा मेरो मुटु चिरिएर आयो। उहाँलाई उपचार गराउन अस्पताल लैजानुपर्छ भन्ने थाहा थियो। तर उपचार गराउन पैसा थिएन। ऋण दिने कोही भएन। आमा मर्नुहुन्छ भन्ने डरले म भित्रैबाट टुटेँ। एकान्तमा रोएँ, चिच्याएँ।तर मेरो पीडा सुन्ने कोही भएन।
निराशाको चरम अवस्थासम्म पुग्दा मैले परिवारसहित मर्ने निर्णय गरें। खानामा विष हालेर सबैको जीवन अन्त्य गर्ने सोच आयो। तर विडम्बना, विष किन्ने पैसा समेत भएन।
पछि फेरि सोचेँ, 'यी सानाबालबालिकाको के दोष छ र?' अन्तत: मैले एक्लै मर्ने निधो गरेँ। त्यो क्षण मेरो जीवनको सबैभन्दा अध्यारो पल थियो। तर बुढी आमा, बहिनी र छोरीका ती कलिला आँखाहरूले मलाई रोके। "म नभए यिनीहरूको के हालत होला?" यही एउटा प्रश्नले मलाई बचायो। मर्दा पनि स्वर्ग जाने बाटो पाउँदिनँ जस्तो लाग्यो।
जिउँदो रहनुको एकमात्र कारण थिए "मेरी आमा र ती कलिला नानीहरू।"
नयाँ बिहानी: एउटा अवसरले खोलेको जीवनको ढोका
एक दिन श्री बरमबाबा सामुदायिक वनका तत्कालीन सचिव तथा हाल बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाले भन्नुभयो, "पार्वती, जिल्ला वनमा एउटा तालिम छ, पेटभरी मासुभात खाएर पाँच सय रुपियाँ भत्ता पाइन्छ, जान्छेउ?" मलाई नयाँ कुरा सिक्ने चाहना भन्दा पनि पाँच सय रुपैयाँको खाँचो ठूलो थियो।त्यसैले म तयार भएँ।
त्यो दुई दिनको तालिम मेरो जीवनको मोड बन्नेछ भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ। तालिममा मैले निकै सक्रिय भएर भाग लिएँ। प्रशिक्षकहरूले मेरो उत्साह देख्नुभयो। त्यसपछि मलाई सामुदायिक मध्यस्थता सम्बन्धी थप तालिममा सहभागी हुने अवसर मिल्यो।
केही समयपछि मेलमिलाप केन्द्रको गाविस संयोजकको रूपमा काम गर्ने जिम्मेवारी पनि आयो। त्यसपछि दलित सशक्तिकरण तालिम, सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला सदस्य लगायतका अवसरहरू एकपछि अर्को खुल्दै गए।
म पहिलो पटक जीवनमा आफूलाई उपयोगी महसुस गर्न थालेकी थिएँ।
रूपान्तरणको बीउ: द्वन्द्व रूपान्तरण तालिमबाट सुरु भएको परिवर्तन
सामुदायिक वन उपभोक्ता महासंघमा हुँदा २०६५ सालमा सर्लाही जिल्लावाट नारायण खपाङ्गी र कृष्ण गौतमसँगै मलाई पनि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण प्रक्रियाको चरणबद्ध तालिममा सहभागी हुने मौका मिल्यो। एसएलसीको प्रमाणपत्र नभएकै कारण म अयोग्य मानिन सक्थेँ। तर चुप बहादुर थापा सरले मेरो सम्भावनामा विश्वास गरेर मलाई तालिममा सहभागी गराउनुभयो।
गरिबी, अभाव, शोक र सामाजिक विभेदले थिचिएको आत्मविश्वासहीन मन लिएर म तालिम कक्षामा पुगेकी पुगेँ। आफ्नो परिचयसमेत स्पष्ट रूपमा दिन सकिनँ।
तालिमको सुरुवातमा गुरु जोनपल लेडेराकलाई देखेर मनमा शंका आयो: अमेरिकी नागरिकले अङ्ग्रेजी भाषामा दिने तालिम मैले कसरी बुझ्ने? म त कक्षा ३ मात्र पढेकी थिए। तालिमपछि फिल्डमा काम पनि गर्नुपर्छ भनियो- त्यो कसरी गर्ने? नेपालको पहिलो ब्याचका रूपमा हामीले नै अरूलाई तालिम दिनुपर्छ रे भनेर सुन्दा म झन् डराएँ।म गर्न सक्छु भन्ने विश्वास नै भएन।
तर गुरु जोनपलले मसिनो ढङ्गले प्रस्तुत गरेको विषयलाई गुरु अमित ढकालले सरल नेपालीमा स्थानीय उदाहरणसहित स्पष्ट पार्नुहुन्थ्यो। त्यसपछि गुरु चुप बहादुर थापाले लघुकथा, अभ्यास र अभिनय भूमिकासहित सिकेका कुराहरूलाइ प्रस्ट पार्नुहुन्थ्यो। मलाई विशेष प्राथमिकता दिएर अगाडि बोल्ने मौका दिनुहुन्थ्यो। "नबुझेको कुरा कक्षाबाहिर पनि सोध्नुस् है" भनेर हौसला दिनुहुन्थ्यो।
तालिमको अन्त्यमा मेरो सुन्ने र सिक्ने क्षमताको प्रशंसा गर्दै गुरु जोनपलले दिनुभएको चकलेट पुरस्कारले म भित्र एउटा नयाँ विश्वास जगाइदियो। म यो काम गर्न योग्य रहेछु भन्ने आत्मविश्वास पलायो। मेरो जीवनको अन्धकारमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण अभियान एउटा उज्यालो किरण बनेर आयो।
गुरुको मार्गदर्शन: जीवन बदल्ने शिक्षा
तालिममा गुरुहरुले द्वन्द समाधान गर्नु भनेको मुद्दा टुंग्याउनु मात्र होइन, सम्बन्ध रूपान्तरण गर्नु हो भनेर सिकाउनुभयो। पक्षहरूको मन भित्र रहेको घाउ निको नभएसम्म बाहिर देखिएको समाधान टिक्दैन भनेर बताउनुभयो।
यो दर्शनले मलाई झस्कायो। किनभने यो कुरा मैले आफ्नै जीवनमा भोगेकी थिएँ। मन भित्रको घाउलेनै मलाई तोड्न खोजेको थियो। अब म त्यही फाटेका मन सिउँने सहजकर्ता बन्दै थिएँ।
आदरणीय गुरु चुप बहादुर थापाले सधैँ भन्नुहुन्थ्यो:
"तपाईंहरू समाजमा टिक्ने कि बिक्ने? टिक्ने भए जस्तो हुनुहुन्छ, टिकिरहनुभएको छ। बिक्ने भए तीनवटा कुरामा आफ्नो क्षमता विकास गर्नुस् —औपचारिक शिक्षा, अनौपचारिक शिक्षा र प्रविधि।"
यसले मलाई भित्रैबाट झकझकायो। ती शब्दहरू मेरो जीवनको दिशानिर्देश बने। पढाइलाई निरन्तरता दिन्छु भन्ने अठोट गरे। आफ्नै गाउँको जिरायत प्राथमिक विद्यालयमा कक्षा ५ मा भर्ना भएर औपचारिक शिक्षाको यात्रालाई पुन: सुरु गरें।
रूपान्तरण: झुप्रो घरदेखि स्नातकोत्तरसम्मको यात्रा
आज २०८२ साल सम्ममा मैले समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छु। कम्प्युटरसम्बन्धी आधारभूत कोर्स पूरा गरी आफ्नो दैनिक कार्य आफै गर्ने भएकी छु। बहिनीलाई स्टाफ नर्स उत्तीर्ण गराई विवाह गरिदिएँ। छोरीलाई ल्याब असिस्टेन्ट पढाएर विवाहयोग्य बनाएँ। बुढी आमाको नियमित हेरचाह र सन्तुलित भोजन उपलब्ध गराएपछि उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ।
खरको छानो भएको झुप्रो घरलाई चार कोठाको पक्की घरमा रूपान्तरण गरे। बुवाको मृत्युमा कात्रो किन्न सय रुपैयाँ समेत सापटी नदिने गाउँलेहरूलाई आज सहयोग गर्ने भएकी छु। घरदेखि ५ किलोमिटर टाढा बजार सम्म एक्लै जान नसक्ने म आज सर्लाहीसहित देशका विभिन्न जिल्लामा गई तालिमहरूको सफलतापूर्वक सहजीकरण गर्दैछु। कुनैबेला एस.एल.सी. नभएकाले तालिम पाउन अयोग्य म आज मेलमिलापको प्रशिक्षक भएकी छु। सर्लाही लगायत मधेश प्रदेशभरि द्वन्द्व रूपान्तरण अभियानकर्मीको रूपमा पहिचान बनाएकी छु।सामाजिक पहिचान बढाएकी छु। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सचिवालय सदस्य समेत भएकी छु।
योगदान: द्वन्द्वबाट शान्तितर्फको पहल
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालमा सर्लाही जिल्लाको राष्ट्रिय स्रोत व्यक्तिको जिम्मेवारीमा रहँदा प्राकृतिक स्रोतमा आधारित ३७ वटा बहुसरोकारवाला द्वन्द्वहरूलाई सम्बन्ध सुधारसहित रूपान्तरण गर्न सहजीकरण गरेकी छु। द्वन्द्व रुपान्तरणबाट वर्षौंदेखि रोकिएका विकास निर्माणका कामहरू सुचारु भएका छन्। प्राकृतिक स्रोतको ब्यवस्थापनमा सहयोग पुगेको छ। द्वन्द्वका कारण बन्द रहेका बाटाघाटाहरू खुलेर गाडी गुड्न थालेका छन्। वर्षौंदेखि बन्द बोलचाल र लेनदेन पुनः सुचारु भएका छन्।स्थानीय सरकारसंगको समन्वय प्रभावकारी भएको छ।
कृतज्ञता: परिवर्तनका सहयात्रीहरूप्रति आभार
यो सबै परिवर्तन मेरो एकलौटी परिश्रमको मात्र फल होइन। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले मलाई कहिल्यै कर्मचारी भनेर महसुस गराउनुभएन। सदैव एक असल अभिभावकको भूमिका निभाउनुभयो। वरिष्ठ कार्यक्रम अधिकृत दिपकराज भट्टज्यूको असाधारण धैर्यता र बौद्धिक मार्गदर्शनले हाम्रा कमजोरीहरू बुद्धिमत्तापूर्वक सच्याउने वातावरण बनाइदिनुभयो। यस संस्थाभित्रको पारिवारिक वातावरण, आपसी विश्वास र सहकार्यले नै मलाई आजको स्थानसम्म पुर्याएको हो। संस्थाको सिङ्गो परिवारप्रति म हार्दिक आभार व्यक्त गर्छु। साथै, मेरो जीवनको कठिन घडीमा साथ दिनुहुने आदरणीय सिताराम पोखरेल, नारायण खपाङ्गी, उत्तर कुमार मैनाली, कृष्ण गौतम, कृष्ण कृमार लामा, रिपुमर्दन आले, चित्र बहादुर विश्वकर्मा, भिम बहादुर विश्वकर्मा लगायतका ब्यक्तीहरुलाई समेत नमन गर्दछु।
अन्तिम सन्देश: अँध्यारोबाट उज्यालोतर्फको प्रेरणा
गरिबी, अशिक्षा, बेरोजगारी र जातीय विभेदले थिचिएको एक साधारण गाउँकी महिला पनि अवसर पाउँदा र त्यसलाई सही रूपमा उपयोग गर्दा समाजमा सम्मानित स्थान बनाउन सक्छ भन्ने कुरा मेरो जीवनले देखाएको छ। प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र, नेपालले केवल समाजको द्वन्द मात्र रूपान्तरण गरेन यसले मेरो जीवनलाई अँध्यारोबाट उज्यालोमा रूपान्तरण गरेको छ। कुवाको भ्यागुताझैं समाजको एक कुनामा खुम्चिएर बसेकी मलाई यस संस्थाले मानव बनाइदिएको छ। यो अभियानले मेरो जीवनमा यस्तो सकारात्मक परिवर्तन ल्याउँला भनेर मैले कल्पनै गरेको थिएन।
आज गाउँका मानिसहरू भन्छन्, “पार्वती जस्तो छोरी सबैको होस्।” यी शब्दहरू मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हुन्। यो सबै प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको देन हो।