“न बिरामीले औषधी चिनेको हुन्छ, न त औषधीले बिरामी नै।” रोगको वास्तविक अवस्था र उपचारको विधि बुझ्ने व्यक्ति डाक्टर नै हुन्छ। समाजका द्वन्द्वहरू पनि केही यस्तै हुन्छन्। बाहिरबाट हेर्दा सामान्य लाग्ने समस्याले कहिलेकाहीँ सम्बन्धमा गहिरो घाउ बनाइदिन्छ। तर सही उपचारको बाटो भेटियो भने ती घाउहरू पनि निको हुन सक्छन्।
माकुरा पद्धति मलाई त्यही दक्ष डाक्टरजस्तै लाग्छ। यो प्रक्रिया आफैंमा एउटा उपचार पद्धति हो। तर यसको सफलतामा सबैभन्दा ठूलो भूमिका स्थानीय स्तरमा गठन भएका द्वन्द्व रूपान्तरण सहयोगी समूह, अर्थात् 'माकुरा' को नेतृत्वले खेल्छ। केन्द्रका सहजकर्ताहरू भने यो प्रक्रियालाई अदृश्य रूपमा पोषण दिइरहने शक्ति हुन्, जसले समुदायलाई संवादतर्फ अघि बढाइरहन्छन्।
गाउँ–समाजमा सानातिना कुरा कसरी ठूलो विवादमा बदलिन्छन् भन्ने कुरा मैले वर्षौंदेखि सुन्दै र देख्दै आएकी थिएँ। कतै वनको घाँस–दाउरा, कतै पानीको स्रोत, कतै जग्गाको सिमाना। पहुँच र नियन्त्रणको विषयले मानिसबीच मनमुटाव बढाउँथ्यो। कहिलेकाहीँ त झगडा यति चर्किन्थ्यो कि हतियारसमेत चल्थे। मानिसहरू जेल पुग्थे। केही समयपछि बाहिर निस्केर फेरि उही झगडा दोहोरिन्थ्यो।
कहिलेकाहीँ त कुनै ठोस कारणनै नभई मन दुखाएर वर्षौंसम्म एक–अर्कासँग नबोल्ने, दुश्मनी कायम राख्ने र प्रहरी–प्रशासन हुँदै अदालतसम्म पुग्ने घटनाहरू पनि देखिन्थे। यस्तो अवस्थामा गाउँको वातावरण नै अशान्त बन्थ्यो। सम्बन्धहरू टुट्थे, विश्वास हराउँथ्यो।
यस्तै समस्याहरूको उपचारका लागि माकुरा प्रक्रिया अघि बढ्छ। यहाँ न कुनै जादू छ, न कुनै हतारो। बरु पक्षहरूलाई बारम्बार भेटाउने, संवाद गराउने, एकअर्काको कुरा ध्यानपूर्वक सुन्ने र बुझ्ने वातावरण बनाइन्छ।
जब एउटै प्रश्नलाई लिएर पक्षहरूले आफ्ना अनेक दृष्टिकोण राख्छन्, जब उनीहरूलाई मन्थन गर्ने समय दिइन्छ, जब सहजकर्ताहरू थाक्दैनन् र भेटघाटको सिलसिला निरन्तर रहन्छ, त्यसपछि बिस्तारै मनका गाँठाहरू खुल्न थाल्छन्। अन्ततः मिल्ने बाटो त पक्षहरू आफैंले खोजेर ल्याउँछन्। त्यसपछि फाटेको मन सिलाउन सजिलो हुन्छ।
यो प्रक्रिया पहाड उक्लिने यात्राजस्तै छ। उकालो चढ्दा हामी बिस्तारै चढ्छौ। थकाइ लागे चौतारीमा बस्छौँ। एकछिन लामो सास फेर्दै अगाडि बढ्छौ। कहिलेकाहीँ देउरालीमा पुगेर फूलपाती चढाउँछौँ। अनि फेरि बिस्तारै उकालो लाग्छौँ। बहुसरोकारवाला द्वन्द्व रूपान्तरणको यात्रा पनि यस्तै धैर्य, सम्मान र निरन्तरताबाट अघि बढ्छ।
जुन दिनदेखि म प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालसँग जोडिएँ, त्यस दिनदेखि आफ्नो जीवनप्रति एउटा नयाँ गर्वको अनुभूति गर्न थालेकी छु। समाजका लागि केही अर्थपूर्ण काम गरिरहेको अनुभूति हुन थालेको छ।
यस अभियानमार्फत जब–जब विवादका पक्षहरूसँग भेटघाट र छलफल हुन्छ, मलाई लाग्छ, म एउटा नयाँ पुस्तक पढिरहेकी छु। साहित्यकारका किताबमा जति मिठास हुन्छ, त्योभन्दा गहिरो व्यवहारिक ज्ञान यहाँ भेटिन्छ। मानिसका अनुभव, पीडा, आशा र परिवर्तनका कथाहरूले मनलाई समृद्ध बनाउँछन्। यही यात्राले मेरो आत्मविश्वासलाई बलियो बनाएको छ।
यो अभियानले वास्तवमा बिरामी र औषधीलाई एकै ठाउँमा भेट गराउने काम गर्छ। जहाँ असल र इमानदार डाक्टर हुन्छन्, त्यहाँ बिरामी निको भएर स्वस्थ जीवनतर्फ फर्किन सक्छ। त्यस्तै, हाम्रो समाजमा पनि जब संवाद र विश्वासको वातावरण बन्छ, तब सम्बन्धहरू सुधारिन्छन् र विवादहरू दिगो रूपमा रूपान्तरण हुन्छन्।
हामी, यस अभियानमा जोडिएका माकुराहरू, यही विश्वासका साथ काम गरिरहेका छौँ। सम्बन्ध सुधारियो भने विकासका बाटाहरू आफैं खुल्दै जान्छन्। जहाँ विश्वास र सहकार्य हुन्छ, त्यहाँ समाज अघि बढ्न कसैले रोक्न सक्दैन। यही कारणले, मेरो दृष्टिमा बहुसरोकारवाला विवाद रुपान्तरणको यो प्रक्रिया आफैंमा पर्याप्त र अर्थपूर्ण छ।