भक्तपुर, जेठ ३० – प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (NRCTC-Nepal) द्वारा आयोजित आठदिने मेलमिलापसम्बन्धी आधारभूत तालिम शनिबार भक्तपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
केन्द्रका कार्यकारी निर्देशक चुप बहादुर थापा को अध्यक्षतामा सम्पन्न समापन समारोहमा सर्वोच्च अदालतका रजिस्ट्रार तथा मेलमिलाप परिषद्का सदस्य–सचिव भद्रकाली पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले शान्तिपूर्ण, सद्भावपूर्ण र समुन्नत समाज निर्माणमा मेलमिलापकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मेलमिलापले विवाद समाधानका साथै सामाजिक सम्बन्धलाई सुदृढ बनाउने, आपसी विश्वास अभिवृद्धि गर्ने तथा सहअस्तित्वको संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
समापन समारोहका अध्यक्ष तथा केन्द्रका कार्यकारी निर्देशक श्री चुप बहादुर थापाले वर्तमान समाजमा मेलमिलापकर्ताहरू समुदायका "टुटेका मन र सम्बन्धहरू जोड्ने चिकित्सक" का रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनीहरूको योगदान सामाजिक सद्भाव, मेलमिलाप र दिगो शान्ति स्थापना गर्न महत्वपूर्ण रहेको बताउनुभयो। मेलमिलापकर्ताहरुले फाटेका मनलाइ आपसी सम्बादको सियोले सिलाइ बिश्वासकाे धागाेले टाँका लगाउने र मायाप्रेमको औषधी गर्नेबारे बताउनुभयो।
कार्यक्रममा केन्द्रका कार्यक्रम प्रबन्धक तथा अधिवक्ता दिपक राज भट्टले तालिमबाट सहभागीहरूले प्राप्त गरेका ज्ञान, सीप र व्यवहारिक अनुभवलाई आफ्ना समुदायमा प्रभावकारी रूपमा प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलमिलापको अवधारणालाई स्थानीय तहसम्म विस्तार गर्दै संवाद, आपसी समझदारी तथा सहकार्यका माध्यमबाट द्वन्द्व रुपान्तरणको प्रक्रियालाई थप सशक्त बनाउन सहभागीहरूलाई प्रेरित गर्नुभयो।
गत जेठ २३ गतेदेखि सञ्चालन भएको उक्त तालिममा अनुभवी प्रशिक्षकहरूको सहजीकरण रहेको थियो। तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सर्लाही र महोत्तरी जिल्लाका गरी २७ जना सहभागीहरूको सहभागिता रहेको थियो।
आठदिने तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरू आफ्ना-आफ्ना स्थानीय समुदायमा मेलमिलापकर्ताका रूपमा सक्रिय भई स्थानीय स्तरमा उत्पन्न हुने विवादहरूको शान्तिपूर्ण समाधान तथा बहुसरोकारवाला द्वन्द्व रुपान्तरण प्रक्रियालाई प्रवर्द्धन गर्न सक्षम हुने विश्वास केन्द्रले व्यक्त गरेको छ।