काठमाडौं, १२ असार २०८३ – प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाल (NRCTC-N) ले त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभाग (CPDS) सँगको समन्वयमा शिक्षाविद्, नीतिनिर्माता, सरकारी निकाय, विकास साझेदार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपालमा दिगो शान्ति निर्माणका लागि बहुपक्षीय सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले बहु–सरोकारवाला द्वन्द्व रूपान्तरण अभियान सम्बन्धी NRCTC-N को नवीन अभ्यासबारे जानकारी आदानप्रदान गर्नुका साथै नेपालको बदलिँदो परिवेश, उदीयमान चुनौतीहरू तथा शान्ति निर्माणको भावी रणनीतिक प्राथमिकतामाथि सार्थक छलफल गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सभा, नेपाल गाउँपालिका राष्ट्रिय महासंघ (NARMIN), युरोपेली संघ (European Union), संयुक्त राष्ट्रसंघ (United Nations), द एशिया फाउन्डेसन (The Asia Foundation), एसोसिएसन अफ इन्टरनेशनल एनजीओज (AIN) लगायत सुशासन, द्वन्द्व रूपान्तरण तथा शान्ति निर्माणका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसहित ३४ जना सहभागीको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा NRCTC-N का कार्यक्रम प्रबन्धक अधिवक्ता दिपक राज भट्ट ले संस्थाको दृष्टि, ध्येय, प्रमुख उपलब्धिहरू तथा प्राकृतिक स्रोतसँग सम्बन्धित बहु–सरोकारवाला द्वन्द्वलाई संवाद र सहकार्यमार्फत रूपान्तरण गर्ने ‘माकुरा (Spider-Web) मोडेल’ प्रस्तुत गर्नुभयो। उहाँले समुदायस्तरमा सफलतापूर्वक कार्यान्वयन गरिएका पहलहरूको उदाहरण प्रस्तुत गर्दै विभिन्न सरोकारवालाबीच विश्वास निर्माण, समावेशी निर्णय प्रक्रियाको प्रवर्द्धन तथा दिगो शान्ति स्थापना गर्न यस मोडेलले पुर्याएको योगदानबारे जानकारी गराउनुभयो।
प्रस्तुतीकरणपश्चात् सहभागीहरूबीच सम्भावित साझेदारीका क्षेत्र, नेपालको परिवर्तनशील शान्ति निर्माणको अवस्था तथा उदीयमान द्वन्द्वहरूको समाधानका लागि आवश्यक सहकार्यात्मक रणनीतिहरूमाथि विस्तृत छलफल भयो। सहभागीहरूले NRCTC-N को समुदायमा आधारित शान्ति निर्माण प्रयासहरूको उच्च प्रशंसा गर्दै शिक्षाविद्, नीतिनिर्माता, विकास साझेदार तथा नागरिक समाजलाई एउटै साझा संवाद मञ्चमा ल्याई समसामयिक चुनौतीहरूको व्यावहारिक समाधान खोज्ने संस्थाको पहललाई स्वागत गरे।
छलफलका क्रममा सहभागीहरूले विश्वास निर्माण (Trust-building) नै दिगो शान्तिको आधारशिला भएको उल्लेख गर्दै भावी पुस्तामा संवाद, सहकार्य र शान्तिपूर्ण द्वन्द्व रूपान्तरणको संस्कृतिको विकास गर्न शैक्षिक तहदेखि नै संवादमुखी अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। साथै, पछिल्लो समय देखिएका युवा नेतृत्व (Gen-Z), बढ्दो ध्रुवीकरण, फरक विचारप्रतिको घट्दो सहिष्णुता तथा तत्काल परिणामको अपेक्षाजस्ता प्रवृत्तिहरूले दीर्घकालीन, संवादमा आधारित शान्ति निर्माणको आवश्यकता अझ बढाएको धारणा व्यक्त गरे।
कार्यक्रमले नेपालको शान्ति निर्माणका लागि खाद्य सुरक्षा, स्वास्थ्य, भूमिसम्बन्धी विवाद तथा भूमिहीन समुदायका समस्या, बढ्दो बेरोजगारी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तन अनुकूलन तथा जलवायु वित्तमा समान पहुँच, प्रविधिजन्य हिंसा र भ्रामक सूचना (Misinformation), संघीय प्रणालीसँग सम्बन्धित राजनीतिक विवाद तथा बहु–सरोकारवाला द्वन्द्व रूपान्तरण पद्धतिलाई कानुनी एवं नीतिगत रूपमा संस्थागत मान्यता प्रदान गर्नुपर्ने विषयलाई भावी प्राथमिकताका रूपमा पहिचान गरेको छ।
सहभागीहरूले यस्ता संवाद कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरी संस्थागत बनाइनुपर्नेमा एकमत व्यक्त गरे। शान्ति निर्माण निरन्तर प्रक्रिया भएकाले यसका लागि दीर्घकालीन सहकार्य, संवाद र सहभागिता अपरिहार्य रहेको उनीहरूको निष्कर्ष थियो। साथै, यस्ता कार्यक्रमहरू काठमाडौं उपत्यकामा मात्र सीमित नराखी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गरी स्थानीय सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव सहभागीहरुको थियो।
अन्तरक्रियाका क्रममा पुस्तान्तरणीय (Intergenerational) संवादलाई प्रवर्द्धन गरी पुस्ताबीचको दूरी कम गर्ने, आपसी समझदारी अभिवृद्धि गर्ने तथा बदलिँदो सामाजिक मूल्य–मान्यताबाट उत्पन्न चुनौतीहरूको समाधान खोज्नुपर्ने आवश्यकतामाथि पनि जोड दिइयो। सहभागीहरूले नेपालमा दिगो शान्ति स्थापना गर्न निरन्तर संवादसँगै समावेशी सुशासन र सहकार्यमा आधारित द्वन्द्व रूपान्तरणलाई प्रवर्द्धन गर्ने संस्थागत तथा संरचनात्मक सुधारहरू पनि अपरिहार्य रहेको निष्कर्ष निकाले।
कार्यक्रमको सहजीकरण द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभाग (CPDS), त्रिभुवन विश्वविद्यालय का विभागीय प्रमुख डा. पीताम्बर भण्डारी ले गर्नुभएको थियो। कार्यक्रमको समापनमा NRCTC-N का कार्यकारी निर्देशक चुपबहादुर थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको बहुमूल्य सुझाव र सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नवप्रवर्तन, रणनीतिक साझेदारी तथा बहु–सरोकारवाला संवादमार्फत नेपालको शान्ति निर्माण अभियानलाई अझ सुदृढ बनाउन NRCTC-N निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।