बर्दिया, बढैयाताल — कुनै बेला पानीका लागि एकअर्कालाई गाली गर्ने, बाटो छेक्ने र खेतबारीमै पाइला टेक्न नदिने चार गाउँका किसान आज एउटै कुलो र बाटोका लागि श्रमदान गर्दैछन्। जसले एकअर्कालाई देख्नै सक्दैनथे, तिनै अहिले "कसले बढी सहयोग गर्ने" भन्ने प्रतिस्पर्धामा छन्। यो चमत्कार संवाद र विश्वासको मजबुत "माकुराको जाल" ले सम्भव बनाएको हो।
गाउँको तलतिरको कुलो
थारु भाषामा "गौं" भनेको गाउँ र "तरिया" भनेको तल वा पछाडि हो। नामले नै बताउँछ, यो कुलो गाउँको तलतिरबाट बग्छ। बबई सिँचाइ कुलो पूर्वी शाखाको प्रशाखा भएको यो कुलो हुलाकी राजमार्गको भोलागौडी बजारबाट करिब ४ किलोमिटर दक्षिणमा छ। नक्सामा लम्बाइ करिब २६०० मिटर र बाटो सहित ५ देखी ८ मिटर चौडा यो कच्ची कुलोले सतपतिया, गोब्रपुर, प्रगतिटोल र शान्तिटोल गरी चार गाउँका १८० घरधुरीको करिब ३०० बिघा जमिनमा सिँचाइ पुर्याउँथ्यो। तर पानी सधैं अपुग हुन्थ्यो। त्यही अभावले विस्तारै झगडाको बीउ रोप्यो।कुलोको अस्तित्व नै संकटमा पर्दै गयो।
जब कुलो नै मासियो
बि.सं. २०६९/७० तिरबाट कुलो राख्ने कि मास्ने भन्ने विवाद सुरु भयो। खेतीपातीको सिजन आउनासाथ पानी पाउने र नपाउनेबीच हरेक वर्ष झगडा हुन थाल्यो। नक्सामा कुलोको क्षेत्र ५ देखी ८ मिटर चौडा देखिए पनि जमिनमा कतै २ मिटर, कतै ३–४ मिटर मात्र बाँकी थियो। कतै त कुलो नामेट नै भइसकेको थियो।
पानीको मुहानतिरका किसानले पानी पाउँथे, पुछारका किसान भने कहिल्यै पाउँदैनथे। प्रगतिटोलका २५ घरधुरी किसान वर्षौंसम्म पानीका लागि तड्पिए। अन्ततः उनीहरूले कुलो र बाटोको क्षेत्र नै खनजोत गरेर खेत बनाइदिए। कुलो मासिएपछि पानीको निकास पनि बन्द भयो र समस्या झन् जटिल बन्यो।
बुद्धिजीवी बसे, तर “दुस्मनी कसले लिने?”
२०७१/७२ मा चारै गाउँका बुद्धिजीवी बसेर विवाद मिलाउने प्रयास गरे। कुलो व्यवस्थित रूपमा निकाल्ने मौखिक सहमति पनि भयो। तर कार्यान्वयनको घडीमा कसैले पनि कुलो मास्नेलाई “तपाईंले छोड्नुपर्छ” भन्न सकेनन्। दुस्मनी कसले लिने भन्ने डरले सहमति कागजमै सीमित रह्यो।
त्यसपछि स्थिति बिग्रँदै गयो। आवतजावतको बाटो नभएकाले किसानले गाईगोरु र ट्र्याक्टर लैजान पाएनन्। एकले अर्कालाई आफ्नो खेतबाट हिँड्न रोक्न थाले। वडा कार्यालय र पूर्वी सिँचाइ समितिको पहलमा भएको छलफल पनि अगुवाइ गर्ने कोही नभएर निष्कर्षविहीन टुंगियो। सिँचाइबाट वञ्चित किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य भए। मुहानतिरका किसानले चाहिएको बेला पानी लिने र नचाहिएको बेला जता मन लाग्यो उतै छाडिदिने गर्दा तल्तिरका बाली नष्ट हुन थाले।
माकुराको प्रवेश
विवाद दिनदिनै गहिरिँदा बढैयाताल गाउँपालिका–३ ले सिफारिस पत्रसहित प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल लाई सहजीकरणका लागि अनुरोध गर्यो। यस क्षेत्रमा संस्थाले यसअघि ३–४ वटा विवाद रुपान्तरण गरि सकेकाले समुदायमा संस्थाप्रति आशा र भरोसा थियो।
२०८२ असार २९ को पूर्वतयारी बैठकसँगै विधिवत रुपमा प्रक्रियाको सुरुवात भयो। द्वन्द्वको नक्साङ्कनसंगै साउन २८ मा स्थानीय द्वन्द्वमा संलग्न पक्षबाटै १२ सदस्यीय "माकुरा समूह" गठन भयो। उनीहरूले भदौ १ देखि ३ सम्म तीन दिने क्षमता तथा नेतृत्व विकास तालिम दिइयो। बाहिरबाट समाधान थोपर्नुको सट्टा गाउँकै मानिसलाई समाधानको नेतृत्व सुम्पिनु यो पद्धतिको मूल मर्म थियो।.jpg)
रिस पोख्ने ठाउँ, अनि नियम
भदौ ८ मा भएको पहिलो संयुक्त बैठकमा पक्षहरूले मनभित्रको रिस खुलेर पोखे। तर त्यहाँ अपशब्द र व्यक्तिगत आक्षेप पनि भए, जसले प्रक्रिया नै भाँडिने जोखिम देखायो। त्यसैले सबैलाई नियममा बाँध्न असोज ११ मा "प्रक्रिया प्रस्ताव" पारित गर्ने बैठक गरियो। सबै पक्षले ११ बुँदाको आचारसंहितामा सहमति जनाए। जसमा मुख्य कुराहरू यी थिए:
- सबै काम पारदर्शी हुने, कसैलाई निर्णय प्रक्रियाबाट बाहिर नराखिने,
- माकुरा सदस्य र सहजकर्ताले कसैको पक्षपोषण नगर्ने,
- एकअर्काको मानसम्मानको ख्याल गर्ने, मन दुख्ने शब्द प्रयोग नगर्ने,
- बैठक कुनै व्यक्तिको घरमा नभई सर्वसुलभ सार्वजनिक स्थानमा गर्ने,
- चित्त नबुझेको कुरा बैठककै बेला स्पष्ट राख्ने, पछाडि गएर अरूको कुरा नकाट्ने,
यही नियमले झगडाको ठाउँमा संवादको जग बसाइदियो।
साझा सवाल: समस्या यकिन हुँदा समाधान सजिलो भयो
यसपछि विवाद 'को सही र को गलत?' भन्ने प्रश्नबाट बाहिर निस्केर 'हाम्रो साझा समस्या के हो?' भन्ने दिशातर्फ अघि बढ्यो। "जयगुरुदेवको मन्दिरदेखि तेजरामको गोठसम्म तथा भागीरामको घर हुँदै ईश्वरीलालको घरसम्म बाटो र गौतरिया कुलो कसरी निकाल्न सकिन्छ?" भन्ने साझा सवाल सर्वसम्मतिले पारित भयो। चारै गाउँका किसानको अनुहारमा वर्षौंपछि आशाको किरण देखियो।
९ बुँदे सहमति: हरेक किसानको प्रतिबद्धता
साझा सवालमा टेकेर सबै पक्षले विकल्प खोजे।सरोकारवाला निकायको भूमिकामा पनि छलफल गरे। अन्ततः २०८२ पौष १३ मा ९ बुँदे साझा विकल्पमा हस्ताक्षर भयो। यसका प्रमुख बुँदा:
- करिब ३ किलोमिटर पक्की कुलो निर्माणका लागि बबई सिँचाई आयोजना, बैदी बर्दियासँग नियमित समन्वय गर्ने।
- कुलो र बाटो १० मिटर चौडा बनाउने र जग्गा नपुगे किसानले दुवैतर्फबाट आफ्नो नम्बरी जग्गा बिनाशर्त उपलब्ध गराउने।
- बाटो पटान र ग्राभेलका लागि गाउँपालिका र वडा कार्यालयसँग समन्वय गर्ने।
- जसले घर, टहरा बनाएका वा खनजोत गरेका छन्, उनीहरूले स्वेच्छाले जग्गा खाली गर्ने।
- जग्गा नापीका लागि गाउँपालिकाबाट प्राविधिक अमिन बोलाउने।
- कार्यान्वयनमा समस्या आए माकुरा समूह, सरोकारवाला र कार्यान्वयन समितिले संवादबाटै समाधान खोज्ने।
सहमति कागजमा मात्र सीमित रहेन
सहमति भएपछि यसको कार्यान्वयनमा चुनौती आउनसक्ने आशंका सबैमा थियो। तर समुदायको व्यवहारले नयाँ उदाहरण प्रस्तुत गर्यो।सहमति कागजमा मात्र रहेन। बढैयाताल गाउँपालिकाले जेसीबी तथा प्राविधिक सहयोग उपलब्ध गरायो। नापजाँचका लागि अमिन पठायो। स्थानीय किसानहरूले पनि आर्थिक तथा श्रम योगदान गरे। सतपतिया गाउँका किसान शिवनाथ थारु सम्झन्छन्, "विवाद मिल्यो, कच्ची कुलो तत्काल बन्यो।रकम अपुग हुँदा सतपतियाका हरेक घरधुरीले ५०० रुपैयाँका दरले जम्मा १ लाख १५ हजार उठाए। बडघर सञ्जाल, सुमेरी महिला सामुदायिक वन र गाउँ एकाइ समितिले १५–१५ हजार थपे। सबै रकम गाउँपालिकाको डोजरमा डिजल हाल्न प्रयोग भयो। हाल २६०० मिटर कच्ची कुलो र बाटो खनिइसकेको छ।"
बाटोमा परेका रुख काट्दा पनि गाउँलेहरू मिलेरै लागे। "अहिले कसैको खेत कुल्चेर हिँड्न पर्दैन, समयमा पानी पाइन्छ, पानीको विषयमा कसैसँग विवाद छैन, कसैप्रति रिसराग छैन," राम खेलावन थारु खुसी साट्छन्।
माकुरा समूहका सदस्य रामशरण थारुको अनुभव भावुक छ: "एकअर्कालाई देख्नै नसक्ने मानिस अहिले कसरी सहयोग गर्न सकिन्छ भनेर प्रतिस्पर्धा गरिरहेका छन्, यो देख्दा साह्रै आनन्द आउँछ।" उनका अनुसार यो सबै अपनत्वको महसुसले सम्भव भएको हो।
सात करोडको पक्की कुलो
समुदायको एकताले सरकारी निकायको ध्यान पनि तानेको छ। बबई सिँचाई आयोजनाका जिल्ला अध्यक्षका अनुसार द्वन्द्व रूपान्तरण भएको यो कुलोलाई पहिलो प्राथमिकतामा राखिएको छ। ७ करोड रुपैयाँ बजेटमा टेन्डर सम्पन्न भइसकेको छ र २०८३ कात्तिक वा मंसिरदेखि १ मिटर चौडा पक्की कुलो निर्माण सुरु हुनेछ। यसले करिब १५० बिघा जमिनमा भरपर्दो सिँचाइ पुर्याउनेछ। यो संगै स्थानीय सरकारसंगको समन्यवमा नालीसहित ९ मिटर बाटोको स्तरोउन्नतिको काम पनि अगाडी बढाइनेछ।
विश्वासको नयाँ पहिचान
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी भन्छन्, "पालिकाभित्र संस्थाले सहजीकरण गरेका सबै विवाद रूपान्तरण भएका छन् र कार्यान्वयन पनि भएका छन्। विवादबारे थाहा पाउनेबित्तिकै हामी यही संस्थालाई सम्झन्छौँ।" संस्थाप्रतिको यही विश्वासले उनले गाउँपालिका कार्यालयभित्रै संस्थाको लागी एउटा कोठा उपलब्ध गराएका छन्।
सतपतिया गाउँका बिरबहादुर थारुका अनुसार अहिले गाउँमा सानो विवाद उठ्यो कि पहिलो प्रतिक्रिया नै हुन्छ, "माकुरा लगाऊ!" यो वाक्यले नै द्वन्द्व रूपान्तरण पद्धति समुदायको जीवनशैलीमा अङ्गिकार भइसकेको देखाउँछ।
निष्कर्ष
गौतरिया कुलोको कथाले एउटा सन्देश दिन्छ: विवाद जतिसुकै पुरानो र जटिल भए पनि, जब संलग्न पक्षहरूलाई नै समाधानको नेतृत्व दिइन्छ, सुन्ने वातावरण बनाइन्छ र सबैको सहभागितामा निर्णय गरिन्छ, तब समाधान सम्भव हुन्छ। एक दशकअघि पानीका लागि लड्ने गाउँले आज सँगै कुलो र बाटो खनिरहेका छन् । आज गौतरीयामा माकुराको जालोले बाटो र पानी मात्र होइन, मन पनि जोडेको छ।माकुराले बुनेको यो जाल, अब चार गाउँलाई बाँध्ने बलियो धागो बनेको छ।