काठमाडौँ, ६ अगस्ट २०२६। “विश्व शान्ति, शिक्षा र विकास: दिगो भविष्यका मार्गहरू” भन्ने मूल नाराका साथ ८१औँ हिरोशिमा स्मृति दिवस काठमाडौँमा विविध कार्यक्रमसहित मनाइएको छ। हिरोशिमा युनिभर्सिटी स्कलर्स’ अल्मुनाइ नेपाल (HiUSAN) र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपाल (NRCTC-N) को संयुक्त आयोजनामा ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा सम्पन्न कार्यक्रममा विश्व शान्ति, शिक्षा, सहकार्य, मानव विकास तथा विज्ञान र प्रविधिको जिम्मेवार प्रयोगका विषयमा गहन छलफल गरिएको थियो।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरसँग समेत जोडिएको कार्यक्रममा शिक्षाविद्, सरकारी अधिकारी, कूटनीतिज्ञ, शान्ति तथा द्वन्द्व रूपान्तरण विज्ञ, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा HiUSAN र NRCTC-N का सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले हिरोशिमाको ऐतिहासिक विरासतलाई स्मरण गर्दै विगतका अनुभवबाट सिकेर शान्तिपूर्ण, समावेशी र दिगो भविष्य निर्माणका सम्भावित मार्गबारे विचार आदानप्रदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता HiUSAN का अध्यक्ष डा. रञ्जन प्रकाश श्रेष्ठले गर्नुभएको थियो भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) का उपकुलपति प्रा. डा. विवेक आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकार, काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेल, नेपालस्थित JICA Alumni Association का अध्यक्ष डा. रामचन्द्र भुसाल तथा नेपालस्थित जापानी दूतावासकी प्रथम सचिव Takeda Takako लगायतको उपस्थिति थियो।
यस अवसरमा जापानको हिरोशिमा विश्वविद्यालयका कार्यकारी उपकुलपति प्रा. डा. Shinji Kaneko तथा Hiroshima Peace Culture Foundation का अध्यक्ष एवं Mayors for Peace का महासचिव Takehiro Kagawa का भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो।
शान्ति र दिगो विकासका लागि जिम्मेवार विज्ञान तथा प्रविधि
कार्यक्रममा “विश्व शान्ति, शिक्षा र विकासका लागि आणविक ऊर्जा” विषयमा मुख्य मन्तव्य राख्दै काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेलले वैज्ञानिक तथा प्राविधिक प्रगतिलाई मानव कल्याण, शान्ति र दिगो विकाससँग जोड्न शिक्षा, ज्ञान, सुरक्षा तथा जिम्मेवार प्रयोगको महत्त्वमा जोड दिनुभयो।
कार्यक्रमको प्रमुख सत्रका रूपमा “विश्व शान्ति, शिक्षा र विकास: दिगो भविष्यका मार्गहरू” विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। डा. रञ्जन प्रकाश श्रेष्ठले सहजीकरण गर्नुभएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त तथा राष्ट्रिय महिला आयोगकी पूर्व आयुक्त एवं प्रवक्ता मोहना अन्सारी, त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभागका प्रमुख डा. पीताम्बर भण्डारी, काठमाडौँ विश्वविद्यालयका Adjunct Faculty तथा ISET-Nepal का Senior Fellow डा. नरेश एन. रिमाल, मेलमिलाप विज्ञ तथा NRCTC-N का कार्यकारी निर्देशक चुप बहादुर थापा र New Spotlight Magazine का प्रधान सम्पादक केशव पौडेल सहभागी हुनुहुन्थ्यो।
प्यानल छलफलमा शान्ति, द्वन्द्व रूपान्तरण, मानव अधिकार, शिक्षा, विकास, वातावरणीय दिगोपन तथा शान्तिपूर्ण र उत्थानशील समाज निर्माणमा सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा विचारविमर्श गरिएको थियो। वक्ताहरूले शान्ति र विकासलाई एकअर्काका परिपूरकका रूपमा हेर्दै शिक्षा, संवाद, सहकार्य, समावेशी शासन तथा विज्ञान र प्रविधिको जिम्मेवार प्रयोगलाई दिगो भविष्य निर्माणका महत्त्वपूर्ण आधारका रूपमा औँल्याउनुभयो।
हिरोशिमाबाट शान्ति र पुनःउत्थानको सन्देश
कार्यक्रममा हिरोशिमाको ऐतिहासिक महत्त्वमाथि चर्चा गर्दै वक्ताहरूले हिरोशिमा युद्धको विनाशकारी परिणामको स्मृति मात्र नभई पुनःउत्थान, दृढता र आशाको प्रतीकसमेत भएको धारणा व्यक्त गर्नुभयो। युद्धका मानवीय तथा सामाजिक परिणामलाई स्मरण गर्दै इतिहासबाट प्राप्त शिक्षालाई शान्ति, मानव सुरक्षा र मानव विकासप्रतिको प्रतिबद्धतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिइयो।
छलफलका क्रममा उपयुक्त शिक्षा, वैज्ञानिक ज्ञान, सुरक्षा मापदण्ड र जिम्मेवार शासन व्यवस्था सुनिश्चित गर्न सके आणविक ऊर्जालगायत विज्ञान तथा प्रविधिले मानव कल्याण र विकासमा योगदान पुर्याउन सक्ने विषयमा समेत विचार प्रस्तुत गरिएको थियो। विकासका प्रयासमा शान्ति, मानव सुरक्षा, वातावरणीय दिगोपन र मानव मर्यादालाई केन्द्रमा राख्नुपर्नेमा वक्ताहरूले जोड दिनुभयो।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले शान्ति कायम राख्न सहकार्य, संवाद र पारस्परिक समझदारीको महत्त्वमा जोड दिनुभयो। उहाँले दिगो शान्ति बल प्रयोगबाट मात्र सम्भव नहुने र सहकार्य तथा संवादमार्फत आपसी समझदारी र विश्वास निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
शैक्षिक उपलब्धिको सम्मान
कार्यक्रममा Peking University बाट हालै विद्यावारिधि उपाधि हासिल गर्नुभएका तथा HiUSAN का आजीवन सदस्य डा. राजन घिमिरेलाई उहाँको शैक्षिक उपलब्धिको सम्मानस्वरूप अभिनन्दन गरिएको थियो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, मुख्य वक्ता तथा प्यानल सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। NRCTC-N की कोषाध्यक्ष कमला पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएसँगै कार्यक्रम समापन भएको थियो।
८१औँ हिरोशिमा स्मृति दिवसले हिरोशिमा परमाणु बम विस्फोटका पीडितहरूको स्मरण गर्दै शान्ति, शिक्षा, सहकार्य, मानव मर्यादा र दिगो विकासप्रति सामूहिक प्रतिबद्धता पुनःस्मरण गराएको छ। साथै, नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा समेत कार्यक्रमले महत्त्वपूर्ण सन्देश दिएको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षको सन्दर्भमा आयोजित यस कार्यक्रमले “आज शान्ति, भोलि प्रगति” भन्ने सन्देशलाई केन्द्रमा राख्दै शान्ति, शिक्षा, सहकार्य र मानव मर्यादाको सम्मानमा आधारित समाजबाट मात्र दिगो विकासको मार्ग प्रशस्त हुने प्रतिबद्धता अभिव्यक्त गरेको छ।