काठमाडौँ, असोज ८, २०८३। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपाल (NRCTC-N) ले हालैको भोटेकोशी बाढी विपद्बाट प्रभावित रसुवा र नुवाकोटका २५० परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।
असोज ६ र ७ गते (२२ र २३ सेप्टेम्बर २०२६) रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित परिवारलाई उक्त राहत सामग्री वितरण गरिएको हो।
प्रत्येक परिवारलाई घरायसी तथा व्यक्तिगत प्रयोजनका विभिन्न अत्यावश्यक सामग्रीसहितको राहत प्याकेज प्रदान गरिएको थियो। राहत प्याकेजमा ५ लिटरको प्रेसर कुकर, १ थान कराही, ५ थान स्टिलका थाल, ५ थान स्टिलका कचौरा, ५ थान स्टिलका गिलास, १ प्लास्टिकको टब, २ प्लास्टिकका मग, १२० लिटर क्षमताको १ पानी भण्डारण ट्याङ्की, १ डबल बेड मच्छरदानी, १ पोलार बेडसिट, १ कम्बल (सिरक), २ थान सिरानी, २ जोर चप्पल र १ थान तौलिया रहेका थिए।
यो राहत सहयोग विदुर नगरपालिकासँगको समन्वयमा प्रदान गरिएको हो। विपद्बाट प्रभावित परिवारलाई यस कठिन परिस्थितिमा तत्काल आवश्यक घरायसी सामग्री तथा आधारभूत जीवनयापनका आवश्यकताहरू पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो।
राहत प्राप्त परिवारहरूले सहयोगप्रति आभार व्यक्त गर्दै खाद्यान्नलगायतका राहत सहयोग प्राप्त भए पनि यस प्रकारका घरायसी तथा व्यक्तिगत प्रयोगका सामग्रीहरू तुलनात्मक रूपमा कम उपलब्ध हुने गरेको बताएका थिए। कठिन परिस्थितिमा NRCTC-N ले आफूहरूलाई साथ दिएकोमा उनीहरूले धन्यवाद व्यक्त गरे।
शान्ति निर्माण, मेलमिलाप तथा द्वन्द्व रूपान्तरणका क्षेत्रमा कार्यरत NRCTC-N को प्रभावित जिल्लाहरूमा समुदायसँग सहकार्य गर्दै आएको लामो अनुभव र उपस्थिति रहेको छ। विपद्को यस कठिन घडीमा NRCTC-N ले आफ्नो नियमित शान्ति निर्माणसम्बन्धी कार्यक्षेत्रभन्दा बाहिर विस्तार गर्दै विपद्बाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि मानवीय सहयोग उपलब्ध गराएको हो।