बहुसरोकारवाला प्राकृतिक श्रोतमा आधारित द्वन्द्व रुपान्तरण प्रक्रिया सम्बन्धीको सातौं चरणको मोड्युलर तालिम यहि २०८० साल जेठ २ देखि ६ गतेसम्म बोडे, भक्तपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा प्रशिक्षार्थी, प्रशिक्षक, केन्द्रीय कार्यक्रम टिम सहित जम्मा ३७ जनाको सहभागीता रहेको थियो । सातौं मोड्युलमा समावेश गरिएका मुख्य विषयहरू अन्र्तगत छैठौं मोड्युल पछि गरिएको फिल्ड अभ्यासको प्रस्तुतिकरण, द्वन्द्व सहजीकरण सम्बन्धी अतिरिक्त सीप र ज्ञान, नेतृत्व विकास सीप, प्रतिवेदन लेखन तथा प्रस्तुतीकरण सीपहरू रहेका थिए।
यसरी शान्ति निर्माणमा योगदान पुर्याउनको लागि सञ्चालन गरिएको सात मोडुलर तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिम समाप्तिसँगै २८ जना दक्ष जनशक्तिको उत्पादन भएको छ जसको सीप र ज्ञान समुदाय स्तरमा रहेका द्वन्द्वहरु रुपान्तरण गर्दै शान्ति स्थापना गर्नको लागि अत्यन्त महत्वपूर्व साबित हुनेछ । सम्पूर्ण सहभागीहरूले संस्थाले प्रदान गरेको यो बहुमूल्य अवसर प्रति कृतज्ञता व्यक्त गर्दै आगामि दिनहरुमा उनीहरूको समुदायमा भएका द्वन्द्व रुपान्तरणमा सहजिकरण गर्दै शान्ति निर्माणको क्षेत्रमा टेवा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
तालिमको समापन समारोहमा प्रमुख अतिथीको रुपमा पाल्नु भएका सर्वोच्च अदालतका न्यायाधीश श्री नहकुल सुवेदी ज्यूले तालिमका सातवटै मोड्युल पूरा गर्नुभएकोमा सहभागीहरु सबैलाई शुभकामना दिनुभयो । समापन समारोह भए पनि वास्तवमा शान्ति निर्माणको क्षेत्रमा सहभागीहरूको संलग्नताको सुरुवात भएको कुरामा उहाँले जोड दिनुभएको थियो। श्री नहकुल सुवेदी ज्यूले सामाजिक रूपान्तरणमा NRCTC-N ले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभएको थियो । साथै उहाँले नेपालको विश्वविद्यालयको पाठ्यक्रममा बहुसरोकारवाला द्वन्द्व रूपान्तरण प्रक्रियालाई मान्यता दिन आवश्यक रहेको कुरालाई प्रकाश पार्नुभएको थियो।