प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल र त्रिभुवन विश्वविद्यालय द्वन्द्व शान्ति तथा विकास केन्द्रिय विभागको संयुक्त आयोजनामा “शान्ति निर्माणमा समसामयिक चुनौती” शिर्षक सेमिनार यहि मिति २०८२ भदौं ८ गते बानेश्वर स्थित अल्फाहाउसमा सम्पन्न भएको छ । गोष्ठिको उद्घाटन नेपाल सरकारका माननीय गृहमन्त्री रमेश लेखक ज्यूले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा.डा दुविनन्द ढकाल ज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक श्री चुप बहादुर थापा ज्यूले संस्थाको शान्ति निर्माण अभियानको बारेमा प्रकाश पार्नुहुदै मानिसको फाटेका शरिरका अंगहरु सिलाउने थुप्रै अस्पतालहरु छन् तर मानिसको फाटेको मन सिलाउने अस्पताल कहि भेटिदैन, त्यसैले संस्थाले थालनी गरेको शान्ति निर्माण अभियान अन्तर्गत मेलमिलाप केन्द्र भनेको मानिसको फाटेको मन सिलाउने अस्पताल हो भने मेलमिलापकर्ता भनेका फाटेका मन सिलाउने डाक्टरहरु हुन् भन्ने अभिव्यक्तिका साथ सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । यसका साथै कार्यक्रमको सहजिकरण द्वन्द्व शान्ति तथा विकास केन्द्रिय विभागका विभागिय प्रमुख डा. पिताम्बर भण्डारीले गर्नुभएको थियो ।

माननीय गृहमन्त्री रमेश लेखक ज्यूले शसस्त्र द्वन्द्वको कुरालाई जोड्दै द्वन्द्वका प्रकृति, कारक र अवस्था समयानुसार फरक फरक हुने र जहाँ द्वन्द्व हुन्छ त्यहाँ द्वन्द्वको उपाय पनि हुने कुरा बताउनुभएको थियो । द्वन्द्वमा समयको अत्यन्तै महत्वपूर्ण स्थान हुने र द्वन्द्व रुपान्तरण प्रक्रियामा सम्झौता तथा द्वन्द्वको सहि पहिचान गर्नुपर्ने कुरा पनि जोड दिनु भएको थियो । यसका साथै दिनानुदिन घटिरहेका सडक दुर्घटना, साइबर क्राइम, आत्महत्या र लागुपदार्थ दुव्र्यसनिको तथ्याङ्क सहित आगामि दिनहरुमा यस्ता विषयहरुमा अनुसन्धानको गृहमन्त्रालयको सहकार्य रहने कुरा व्यक्त गर्नुभएको थियो । त्यसैगरी द्वन्द्वसँग सम्बन्धित विभिन्न विषयहरुहरुमा अध्ययन तथा अनुसन्धान गर्नको लागि छात्रवृद्धिको आवश्यक्ता रहेको र सोको व्यवस्थाको लागि गृहमन्त्रालय सहयोग गर्न तयार रहेको कुरा समेत व्यक्त गर्नुभएको थियो ।
गोष्ठिको पहिलो सत्रमा पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व सहसचिव जनकराज जोशी, प्रा.डा. कुशुम शाक्य तथा दोस्रोसत्रमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवाली, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा माननिय रेखा शर्मा र नेपाल समाजवादी पार्टिका नेता मनिष सुमनले शान्ति स्थिरिकरण, संक्रमणकालीन न्याय तथा शान्नि निर्माण विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।