प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा २०८१ साल पुष १५ गते सामाजिक लेखाजोखा कार्यक्रमको आयोजना गरिएको छ । जसको उद्देश्य संस्थाको शान्ति निर्माण अभियानको प्रभावकारिता मूल्याङ्कन गर्नु, संस्था मार्फत संचालिन अभियानमा उपस्थित महानुभावहरुको प्रतिक्रिया संकलन गर्नु, र आगामि दिनको मार्गदर्शनको लागि सुधारका क्षेत्रहरू पहिचान गर्नु थियो। यस कार्यक्रममा प्रादेश सभाका सदस्यहरू, स्थानीय सरकारका प्रतिनिधिहरू, नागरिक समाजका संगठनहरू र मेलमिलापको क्षेत्रमा कार्य गर्दै आएका विभिन्न संघसंस्थाका सदस्यहरू सहितका मुख्य सरोकारवालाहरू सहभागी थिए।
कार्यक्रम प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका अध्यक्ष श्री रामेश्वर बोहराको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा अधिवक्ता श्री सुसिला सिम्खडाले सञ्चालकको भूमिका निर्वाह गर्नभएको थियो भने बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री श्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिहरूमा प्रादेशिक सभाका सदस्य श्रीमती भारती पाठक, भक्तपुर जिल्ला समन्वय समिति प्रमुख श्री ईश्वर बहादुर थापा, डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक श्रीमती निर्मला कुमारी बोगटी, फेकोफनकी महासचिव श्रीमती पर्वता गौतम, एफफनका अध्यक्ष श्री जोगराज गिरी, र मेलमिलाप विशेषज्ञ डा मुक्ती रिजाल रहेका थिए। साथै, शान्ति निर्माण क्षेत्रमा कार्यरत अन्य विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक श्री चुप बहादुर थापाले प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको यात्रा र कार्यक्रमका उद्देश्यहरूबारे प्रकाश पार्नुभयो थियो। साथै डा संजीव हुमागाईंले संस्थाको शान्ति निर्माण अभियानले समुदायमा पारेको प्रभावको समीक्षात्मक प्रस्तुतिकरण गर्नुभयो भने चार्टर्ड एकाउन्टेन्ट श्री रामशरण गिरीले संस्थाको वित्तीय विवरणको विस्तृत प्रस्तुति गर्नुभयो। कार्यक्रमले सहभागीहरूलाई आफ्नो प्रतिक्रिया, पृष्ठपोषण, र जिज्ञासाहरू साझा गर्न प्रोत्साहित गर्दै पारदर्शिता, उत्तरदायित्व, र सामुदायिक सहभागितालाई सुदृढ बनाउन खुला संवादको लागि महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्यो। प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सबै सहभागीहरूलाई उपस्थितिका लागि आभार प्रकट गर्दछ र प्राप्त पृष्ठपोषणलाई आफ्नो कार्यक्रमलाई परिष्कृत गर्न र समुदायको आवश्यकतालाई अझ राम्रोसँग सम्बोधन गर्न प्रतिबद्ध रहनेछ।